पूर्व सभामुख कृष्णबहादुर महराको बयान सकियो, हाजिरी जमानीमा छोड्ने तयारी

बिजमाण्डू
२०८० चैत्र ८ गते १६:५६ | Mar 21, 2024
पूर्व सभामुख कृष्णबहादुर महराको बयान सकियो, हाजिरी जमानीमा छोड्ने तयारी

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ। जिल्ला सरकारी वकिल कार्यालयमा ४ बजेसम्म महराको बयान भएको थियो।

Tata
GBIME
Nepal Life

बयान सकिएपछि उनलाई पुनः नर्भिक अस्पताल लगिएको छ। प्रहरीले उनलाई सोमबार रुपन्देहीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो।

सोमबार जिल्ला अदालत काठमाडौंले महरालाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। प्रहरीले महरालाई हिरासतमा राख्न थप म्याद नथप्ने देखिएको छ। उनलाई हाजिरी जमानीमा छोड्ने तयारी भइरहेको छ।

‘स्वास्थ्यलाई समेत ख्याल गरेर भोलि हाजिरी जमानीमा छोड्ने हाम्रो तयारी रहेको छ,’ प्रहरी स्रोतले भन्यो।

६१ किलो सुन र भेपभित्रको ९ किलो सुन तस्करी छानबिनका लागि गठित जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरालाई मुद्दा चलाउन सिफारिस सहित चैत १ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘ग्रिन सिग्नल’पछि गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएका थिए। त्यसैका आधारमा प्रहरीले पूर्वसभामुख महरालाई पक्राउ गरेको थियो।

२०७९ साल पुस १० गते फ्लाइ दुबईबाट चिनियाँ नागरिकले दुईवटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप ल्याएका थिए। धेरै संख्यामा भेप ल्याएको देखिएपछि विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो। जफत गरिएको भेपबारे बुझ्न महराका छोरा राहुलले भन्सारका अधिकृतलाई फोन समेत गरेका थिए।

अनुसन्धानका क्रममा सुन ल्याउने चिनियाँ नागरिकसँग बाबुछोराको नै सम्पर्क देखिएको थियो। दुई सयभन्दा बढी फोन सम्पर्क भएको खुले पनि प्रहरीले त्यतिखेर अनुसन्धानका क्रममा महरा बाबुछोरासँग सोधपुछ समेत गरेको थिएन।

पछि चौतर्फी दबाबपछि राहुल समातिएका थिए। राहुल हाल अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन्।