आर्थिक सुस्तताले लग्जरी ब्राण्ड गुचीको बिक्री उल्लेख्य घट्यो, कसरी जोगिँदैछन् एलभिएमएच र हर्मिज

बिजमाण्डू
२०८० चैत्र ७ गते १२:३० | Mar 20, 2024
आर्थिक सुस्तताले लग्जरी ब्राण्ड गुचीको बिक्री उल्लेख्य घट्यो, कसरी जोगिँदैछन् एलभिएमएच र हर्मिज

एसियामा देखिएको आर्थिक सुस्तताका कारण विश्वप्रसिद्ध फ्रेन्च ब्राण्ड गुचीको बिक्री उल्लेख्य घटेको छ। गुची ब्राण्ड उत्पादक कम्पनी केरिङले सन् २०२४ को पहिलो त्रैमासमा यसका उत्पादनहरुको बिक्री २० प्रतिशतले घट्ने अनुमान सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

गुचीको ब्यापार घटेपनि यसका प्रतिस्पर्धी ब्राण्डहरु एलभिएमएच र हर्मीजको बिक्री घटेको छैन। विगत एक दशकयता लग्जरी ब्राण्डहरुको ब्यापार घटेपनि केही वर्षयता बिक्रीमा राम्रो सुधार देखिएको थियो।

आफ्नो उत्पादनको एक तिहाईभन्दा बढी बिक्री चिनियाँ बजारमा हुने गरेको गुची चीनको अर्थतन्त्रमा देखिएको शिथिलता सँगै ब्यापार प्रभावित बनेको छ। उत्पादक कम्पनी केरिङले बिज्ञप्ती जारी गर्दै मुख्यगरी एसिया प्रशान्त क्षेत्रमा बिक्री उल्लेख्य घट्दा नाफा पनि प्रभावित बन्न सक्ने बताएको छ।

कम्पनीले अप्रिल २३ मा आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दैछ।

कम्पनीको दुई तिहाइभन्दा बढी आम्दानी गुचीका उत्पादनहरुमा निर्भर छ। केरिङका अन्य ब्राण्डहरुमा इभ साँ लोह, ब्यालेन्सियागा र बोगेटा भेनेटा रहेका छन्।

गत महिनामात्रै केरिङले आफ्नो गत वर्षको खुद नाफामा पनि १७ प्रतिशत गिरावट भएको बताएको थियो। कम्पनीको सेयर पनि २३ प्रतिशतभन्दा बढीले घटेको देखिन्छ।

यसको तुलनामा कम्पनीको सबैभन्दा ठूलो प्रतिस्पर्धी मानिएको एलभिएमएच जसले लुई भितो, मो एण्ड सान्दोन र हेनेसे ब्राण्ड उत्पादन गर्छ उसले सन् २०२३ मा अपेक्षाभन्दा बढी बिक्री गरेको बताएको छ।

 हर्मिजले पनि गत वर्ष आफ्नो वार्षिक बिक्रीमा रेकर्ड राखेको तथ्यांक सार्वजनिक गरेको थियो।

लग्जरी बजारमा ती ब्राण्डहरुको बिक्री लयमै देखिँदा गुचीको बिक्री किन प्रभावित भयो त?

खासमा गुचीका उत्पादनहरु मुख्यगरी युवा वर्गमा लक्षित छ जुन वर्ग हाल विश्व आर्थिक संकटका कारण सबैभन्दा बढी दबाबमा परेको बर्ग हो। यसैकारण गुचीको बिक्रीमा असर परेको विश्लेषण गरिएको छ।

बिक्रीमा सुधार तथा थप सिर्जनशील बनाउने योजनाका साथ गत वर्ष केरिङले आफ्नो क्रियटिभ हेड लगायत उच्च ब्यवस्थापन टिमलाई नै परिवर्तन गरेको थियो। (बीबीसीबाट साभार)