अडानी ग्रुपले विमानस्थलको पूर्वाधार विकासमा ७८ हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने

बिजमाण्डू
२०८० फागुन ३० गते १२:०३ | Mar 13, 2024
अडानी ग्रुपले विमानस्थलको पूर्वाधार विकासमा ७८ हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने
Photo : TFI Post

भारतको अडानी ग्रुपले भारतीय विमानस्थलको संचालन र व्यापस्थापन हेर्दै आइरहेको छ। विभिन्न विमानस्थलको जिम्मेवारी पाएको सो समूहले विमानस्थलको पूर्वाधार विकासमा ७८ हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

भारतीय संचारमाध्यमका अनुसार अडानी समूहले आउने १० वर्षमा यो रकम खर्च गर्ने गरि योजना बनाएको छ। विमानस्थलको रनवे, ट्याक्सीवे, एयरक्राफ्ट पार्किङ स्ट्याण्ड र टर्मिनल निर्माण गर्ने योजना छ। यससँगै ‘सिटी साइड’ पूर्वाधार निर्माणमा पनि करोडौं रुपैयाँ लगानी गरिनेछ।

अडानी पोर्ट्स एन्ड सेजका प्रमुख कार्यकारी अधिकृत करण अडानीका अनुसार विमानस्थलको टर्मिनल र रनवेको क्षमता वृद्धि गर्न ५ वर्षमा ३० हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने तयारी छ। यस्तै, सिटी साइड पूर्वाधार विकासका लागि १० वर्षमा ३० करोड रुपैयाँ लगानी गरिनेछ।

यस्तै, नवी मुम्बई विमानस्थलको पहिलो चरणको विकासका लागि अलग्गै १८ हजार करोड भारतीय रुपैयाँ लगानी गरिनेछ। यो रकमलाई समेतलाई जोड्दा अडानी समूहले विमानस्थल विकासमा ७८ हजार करोड भारतीय रुपैयाँ लगानी गर्नेछ।

भारतीय विमानस्थलहरुको संचालन र व्यवस्थापनको निजी क्षेत्रलाई समेत दिइँदै आइरहेको छ। जसमा अडानी सबैभन्दा ठूलो एयरपोर्ट अपरेटर हो। मुम्बईसमेत गरेर ७ वटा विमानस्थलको अपरेटसन, म्यानेजमेन्ट र डेभलप्मेन्टको जिम्मेवारी अडानी समूहसँग छ। जयपुर, लखनउ, गुवाहाटी, अहमदावाद, मुम्बई, मंगलुरु र तिरुवनंतपुरम विमानस्थलको संचालन अडानीले गर्दै आएको छ।

आन्तरिक स्रोतबाट रकम जम्मा गरेर अडानीले विमानस्थलको पूर्वाधार विकासमा लगानी गर्न लागेको हो। गुवाहाटी र अहमदावादमा नयाँ टर्मिनल बनाउने कम्पनीको तयारी छ। यस्तै, नवी मुम्बई विमानस्थल अर्को वर्षसम्ममा एक वर्षमा दुई करोड यात्रुको व्यवस्थापन गर्न सक्ने गरि संचालन हुनेछ। सन् २०२१ देखि अडानी समूहले मुम्बई विमानस्थलको ‘अपरेसन’ हेर्दै आइरहेको छ। हाल यहाँ पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

भारतको कूल प्यासेन्जर मुभमेन्टको २५ प्रतिशत र कार्गो ट्राफिकको ३३ प्रतिशतमा अडानी समूहको योगदान छ। पछिल्लो समय नरेन्द्र मोदीको विश्वासपात्रका रुपमा अडानी समूहका मालिक गौतम अडानीलाई लिइन्छ। अडानीकै आडमा मोदीले ‘ग्रिन सुपरपावर’ बन्ने लक्ष्यका साथ नवीकरणीय ऊर्जाको विकासमा पनि विभिन्न कार्यक्रम ल्याइरहेका छन्।

भारत विश्वकै धेरै जनसंख्या भएको देश हो। चीनलाई उछिन्दै धेरै जनसंख्या भएको देशमा उक्लिएको भारतमा आउने दशकमा विमानबाट यात्रा गर्नेको संख्या ह्वात्तै बढ्ने विभिन्न रिपोर्टहरुमा देखिएको छ। जसकारण भारत सरकारले विमानस्थल विकासमा लगानी गरिरहेको छ।

भारत सरकारले सन् २०३० सम्म आन्तरिक एयर प्यासेन्जरको संख्या ३०० मिलियन पुग्ने प्रक्षेपण गरेको छ। सन् २०२३ मा आन्तरिक यात्रुको संख्या १५३ मिलियन थियो। त्यस्तै विदेशी पर्यटकको संख्या पनि वृद्धि हुने अनुमान छ। यसैलाई लक्षित गरेर भारत सरकारले आउने समयमा विमानस्थलको संख्या २०० पुर्‍याउने लक्ष्यको साथ काम गरिरहेको छ।