९ वर्षमा पनि नगरकोटको सडक नबनेपछि वडा अध्यक्षले सडकमै कुर्सी राखेर अफिस चलाउँदै

शुक्र गिरी/बिजमाण्डू
२०७९ असार २७ गते १६:०४ | Jul 11, 2022

काठमाडौं। भक्तपुर-नगरकोट सडक ९ वर्षमा पनि नबनेपछि वडा अध्यक्ष सडकमै कुर्सी राखेर कार्यालय चलाउन थालेका छन्। सो सडक विस्तारको काम सुरु गरेको ९ वर्ष भइसकेको छ। तर सडक भने बन्न सकेको छैन।

Tata
GBIME
Nepal Life

त्यसैले भक्तपुरको चाँगुनारायण नगरपालिका-६ का वडाध्यक्ष धनबहादुर लामाले ठेकेदार कम्पनी र सरकारलाई चुनौती दिन सोमबारबाट सडकमै कार्यालय चलाउन थालेका हुन्।

वर्षौंदेखि निर्माणकार्य अलपत्र हुँदा भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्म जाने सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको लामा बताउँछन्। 'यो सडक नबनाउने ठेकेदार कम्पनीलाई ध्यानाकर्षण गराउन मात्र हो। अरु कार्यक्रमहरु पनि रहेका छन्,' उनले भने, 'यति गर्दा पनि वास्ता नगरे नगरपालिका सबै सडकमा आएर काम गर्नेछ।'

केही समय अगाडि पनि स्थानीय नेता सहितको टोली बाटोकै विषयलाई लिएर प्रधानमन्त्री कार्यालयसम्म डेलिगेसन पुगेका थिए। केही काम नभएपछि ठेकेदार शारदाप्रसाद अधिकारीको तस्बिर पोलपोलमा झुन्ड्याएर विरोध पनि गरेका थिए।

उक्त सडक योजनाको ठेक्का पाउने शैलुङ्ग कन्स्ट्रक्सन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट निर्माण ब्यवसायी अधिकारीको कम्पनी हो। अधिकारीले कमलविनायक-नगरकोट सडक निर्माणअन्तर्गत शैलुङ्ग कन्स्ट्रक्सनबाट निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने व्यवसायीको सूचीमा राखेर गृह मन्त्रालयमा समेत नाम पठाएको थियो। तर पहुँचका कारण अधिकारी यस्ता कुराबाट उम्किने गरेका छन्।

लामाका अनुसार निर्माण कम्पनीले काम नगरे ठेक्का तोडेर काम अगाडि बढाउनुपर्छ। हालसम्म १५.६ किलोमिटर सडक निर्माणको ७० प्रतिशत काम सकिएको निर्माण पक्षले जनाएको छ। 'तर पछिल्लो समय कालोपत्रे गर्न भनेर बिटुमिन हालेर राखिएको सडक खण्ड पनि सबै बिग्रिएको छ,' लामाले भने, ' ६ किलोमिटर जति सडक त बनाउन सुरु समेत गरेको छैन।'

यो सडक २ वर्षमा सम्पन्न गर्ने गरी २०७१ असार २ मा शैलुङसँग सम्झौता भएको थियो। २०७३ साउनमा नै पूरा गर्नुपर्ने आयोजनामा लामो समय कामै भएन।