असोजमा ऋण तिर्नेभन्दा दोब्बरले लिए नयाँ ऋण, घरजग्गा कारोबारनै धितो रोक्का/फुकुवामा सीमित 

बिजमाण्डू
२०७८ कात्तिक १२ गते ०४:५१ | Oct 29, 2021
असोजमा ऋण तिर्नेभन्दा दोब्बरले लिए नयाँ ऋण, घरजग्गा कारोबारनै धितो रोक्का/फुकुवामा सीमित 

काठमाडौं। असोजको घरजग्गा कारोबारमा ऋण तिर्नेभन्दा नयाँ लिनेको संख्या दोब्बर देखिएको छ। असोजमा २९ हजारले ऋण तिरेर धितो फिर्ता गर्दा ५८ हजारले नयाँ ऋण लिएका छन्।

Tata
GBIME
Nepal Life

गत महिना दसैं बिदाका कारण केही दिन कार्यालय नखुल्दा पनि ५८ हजार घरजग्गा धितो राखेर ऋण लिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क छ। ऋण तिरेर धितो फुकुवा गर्नेको संख्या भने ठीक आधा २९ हजार मात्रै रहेको छ।

सबैभन्दा धेरै ऋण लिनेहरुको संख्या काठमाडौंमा रहेको छ। काठमाडौंमा चार हजार व्यक्तिले ऋण लिदा २५ सय व्यक्तिले ऋण तिरेर धितो फुकुवा गरेका छन्।

काठमाडौंमा सबैभन्दा धेरै कलंकीबाट १२७७ र चाबहिलबाट ९५५ जनाले धितो रोक्का राखेका छन्। डिल्लीबजारबाट ५७३, मनमैजुबाट ५५०, साँखुबाट ४०६ र टोखाबाट २७० जनाले धितो रोक्का राखेका छन्।

ललितपुरमा १३२८ जनाले धितो रोक्का राख्दा ९२८ जनाले धितो फुकुवा गरेका छन्। त्यस्तै भक्तपुरमा १२३२ जनाले धितो रोक्का राख्दा ७५२ जनाले मात्रै धितो फुकवा गरेका छन्।

उपत्यका पछि झापामा सबैभन्दा धेरैले जग्गा रोक्का राखेका छन्। झापाका दुई मालपोत कार्यालयबाट ३४ सय व्यक्ति तथा संस्थाले नयाँ ऋण लिएका छन्। भद्रपुरबाट २२२७ र दमकबाट ११६२ जनाले नयाँ ऋण लिएका हुन्।

झापा पछि मोरङमा पनि सर्वाधिक ३२८१ जनाले नयाँ ऋण लिएका छन्। बेलबारीबाट १७५६, विराटनगरबाट ११५९ र रङ्गेलीबाट ३६६ जनाले नयाँ ऋण लिएका हुन्। 

त्यस्तै चितवनबाट पनि २३६८ जनाले नयाँ ऋण लिएका छन्। चितवन सदरमुकामबाट १३९६ सहित अन्य ३ वटा कार्यालयबाट गरि २३८६ जनाले नयाँ ऋण लिएका हुन्।

सुनसरीमा इटहरी र धरानबाट गरि २२५७ जनाले नयाँ ऋण लिएका छन्। बारामा कलैयाबाट १५८६ र सिमराबाट ५४२ जनाले गरि २१२८ जनाले नयाँ ऋण लिएका छन्।

अन्य धेरै ऋण लिने ठाउँहरुमा कैलालीबाट १९२२, वीरगंजबाट १६९६, जनकपुर १६५६, जलेश्वर १०२९, काभ्रेपलाञ्चोक ११२६, र हेटौडा ११७५ जनाले नयाँ ऋण लिएका छन्।

त्यस्तै पोखराबाट १२४४, नवलपरासी पश्चिमबाट १२८२, नवलपरासी पूर्वबाट १०४५, बुटवलबाट ११३२ र नेपालगंजबाट १२७८ जनाले नयाँ ऋण लिएका छन्।

किनबेच गर्ने भन्दा पनि ऋण लिने बढी
मालपोत कार्यालय धनगढीले असोजमा ९८३ वटा मात्रै घरजग्गा किनबेच गराउँदा धितो रोक्का भने १२५२ जनाको गरेको छ। बुटवल मालपोतबाट पनि १०५५ जनाको लिखत पास गर्दा ११३२ जनाको धितो रोक्का राखिएको छ।

नवलपरासी पूर्व र पश्चिमका दुवै कार्यालयले ८/८ सय लिखत पास गर्दा रोक्का तर्फ भने १२ सय जना भन्दा बढीको फाइल सदर गरेको देखिन्छ। 

मालपोत कार्यालय पोखराले पनि ८८२ जनाले लिखत पारित गर्दा १२४४ जनाको धितो रोक्का गरेको छ। वीरगंजबाट पनि १०३६ जनाको लिखत पास गर्दा १६१२ जनाको धितो रोक्का राखेको छ। बारामा पनि ११६३ लिखत पास हुँदा १५८६ जनाको धितो रोक्का राखिएको छ।

असोजमा अधिकांस कार्यालयले लिखत भन्दा धेरै धितो रोक्का को फाइल सदर गरेपछि राजिनामा पास गर्नेको संख्या र रोक्का राख्नेको संख्या बराबरी देखिएको छ। 

विगतका महिनामा भने कूल कारोबारमा करिब ५० प्रतिशत राजीनामा पास गर्नेको संख्या हुन्थ्यो भने ४० प्रतिशत रोक्का/फुकुवाको संख्या हुन्थ्यो। १० प्रतिशत मात्रै अन्य लिखतहरु पास गरिएको हुन्थ्यो।

असोजमा भने कुल कारोबार संख्याको ३५ प्रतिशत मात्रै राजीनामा पास भएका छन्। रोक्का र फुकुवाको संख्या जोड्दा ५२ प्रतिशत र अन्य लिखत १३ प्रतिशत पास भएका छन्।

धितो फुकुवामा मोरङ अगाडि
सबैभन्दा धेरै धितो फुकुवा गर्नेमा भने मोरङ जिल्ला अघि देखिएको छ। मोरङबाट २२६८ जनाले धितो फुकुवा गरेका छन्। विराटनगरबाट ८०१ जनाले, बेलबारीबाट १२८५ जना र रङ्गेलीबाट १८२ जनाले धितो फुकुवा गरेका छन्।

त्यस्तै झापाबाट २०८२ जनाले धितो फुकुवा गरेका छन्। भद्रपुरबाट १४६९ जना र दमकबाट ६१३ जनाले धितो फुकुवा गरेका हुन्।

सुनसरीबाट १५३३ जनाले, चितवनबाट १७०२ जनाले, कैलालीबाट १२३० जनाले र पोखराबाट ७९० जनाले र धितो फुकुवा गरेका छन्।