अग्रिम बुकिङका लागि छैन भीडभाड, बस टिकट अब लाइनमा होइन अनलाइनमा लिने

बिजमाण्डू
२०७८ असोज १२ गते १८:०१ | Sep 28, 2021
अग्रिम बुकिङका लागि छैन भीडभाड, बस टिकट अब लाइनमा होइन अनलाइनमा लिने

काठमाडौं। अघिल्ला वर्षहरु दसैंका लागि बा टिकटको अग्रिम बुकिङ खुल्दा राति जागेर पालो कुर्ने, लाइन बस्नेहरु धेरै हुन्थे। राती १२ बजेदेखि नै मानिसहरु टिकट काट्न बसपार्क पुग्थे।

Tata
GBIME
Nepal Life

न भनेका दिनको टिकट पाइने टुंगो हुन्थ्यो, न त चाहेजस्तो सीट पाइन्थ्यो। टिकट काट्न नसक्नेलाई दलालले पैसा खाइदिने समस्या पनि उतिकै। नयाँ बसपार्कमा टिकट काट्न तँछाड मछाड हुन्थ्यो। ५।६ घण्टा लाइन बसेपछि मुस्किलैले टिकट पाइथ्यो। टिकट पाउनेहरु युद्ध जितेको जस्तो अनुभव गर्थे। तर यो पटक बसपार्कमा भीड छैन।

बसको टिकट बुकिङ प्रक्रिया अब हवाई जहाजको टिकट लिनेभन्दा फरक छैन। कम्पनीका साइटमा जाने, आफूले जाने-पुग्ने ठाउँ र मिति छनोट गर्ने, अनि जुन सिट ठीक लाग्छ बुकिङ गर्ने। पैसा मोबाइल वालेट वा बैंकका एप्सबाट तिरे हुन्छ। बुकिङ यस्तो सजिलो भएपछि बसपार्क पुगेर भीडमा घम्साघम्सी गर्नेहरु यसपटक देख्न पाइँदैन। अनलाइन प्रक्रिया नजानेर बसपार्क नै पुग्नेका लागि पनि टिकट काट्न सजिलै छ।

सोमबार सरकार, व्यवसायी र सरोकारवाला निकायको समन्वयमा लामो दुरीको बसका लागि टिकटको अग्रिम बुकिङ खोले। बसपार्कको काउन्टरमा चाप छैन। सहजै टिकट वितरण भइरहेको छ। प्रविधिको विकासका कारण अनलाइनबाटै टिकट काट्न सकिने भएपछि बसपार्कमा भीडभाड कम भएको हो। मोबाइलबाटै टिकट काट्न र पैसा तिर्न मिल्ने सुविधा आएपछि यसपटक सहज भएको हो।

टिकट काट्नकै लागि भीड हुने बिगतको जस्तो अवस्था आउन नदिन यातायात व्यवसायी नै सतर्क छ्न्। अनलाइनबाट टिकट काटने यात्रुहरुलाई व्यवसायीले एक बोतल पानी निःशुल्क उपलब्ध गराउने यातयात व्यवस्था विभागसँग प्रतिबद्धता नै जनाएका छन्। यात्रुलाई पनि मोबाइल र वेबसाइटबाट टिकट बुकिङ गर्न पाउँदा बसपार्क आएर लाइन बस्ने चासो कम देखिएको छ। 

प्रविधि र नयाँ सेवाबारे जानकारी कम भएका, नपत्याएका र पहुँच कम भएकाहरु बसपार्क पुगेर टिकटको अग्रिम बुकिङ गराइरहेका छन्। यसरी बुकिङ गराउनेको संख्या पनि निकै कम छ। 

बससेवा डटकम, वेष्ट नेपाल बस, बस नेपाल लगायतका प्लेटफममार्फत बसको अनलाइन टिकट बुकिङ गर्न सकिन्छ। बस सेवा डटकममा अहिले दैनिक रुपमा ५ हजार टिकट बस सेवाले उपलब्ध गराइरहेको छ। लामो दुरीको मात्रै टिकट खोलिएकाले ५ हजार सिट उपलब्ध भएको हो। विस्तारै मध्यम दुरीको समेत खुल्ने र व्यवसायीहरुले उपलब्ध गराउने सिट समेत बढ्दै जाने  बस सेवाका संस्थापक पर्शुराम खनालले बताए। 

बस सेवाले १०६ बस कम्पनीसँग सहकार्य गरेको छ। कम्पनीले पश्चिम नेपाल बस व्यवसायी संघ, देव दर्शन बस सेवा, पूर्वमा मकालु, मेट्रो, पोखराका लागि जगदम्बा, साझा यातायात लगायतसँग सहकार्य गरेको छ। देशभरि नै संचालन भएका बस कम्पनीसँग सहकार्य गरिएको खनालले बताए।

'अहिले प्रविधिको विकास र चेतनाले अनलाइनमा टिकट काट्नेहरु बढेका छन्। सामान्य अवस्थामा पनि १४/१५ सय टिकट बिक्ने गरेको छ,' उनले भने। बससेवा डटकममार्फत् अनलाइन बुकिङ गर्दा इसेवा, आईएमई, प्रभु, लगायतका पेमेन्ट गेटवे वा कुनै पनि बैंकको मोबाइल वा इन्टरनेट बैंकिङ पेमेन्ट सिस्टम प्रयोग गर्न सकिन्छ।

अग्रिम बुकिङको यो प्रणालीले बस व्यवसायीलाई पनि धेरै सजिलो भएको छ। कति सिटको माग छ भन्ने छिटो थाहा हुने गरेको छ। कोरोना संक्रमण रोकथामका लागि लकडाउन र निषेधाज्ञा झेलेका बस व्यवसायीले यतिबेला बसहरुमा राम्रो सरसफाइ गरेका छन्। नयाँ बस थपिएका छन्, केही पुरानै बस पनि मर्मत र रिकन्डिसनपछि दसैंका यात्रु बोक्न तयार पारिएका छन्।   

नयाँ बसपार्कसमेत सफा र व्यवस्थित बनाइएको छ। टिकट काउन्टर अघि राखिएको डिस्प्लेमा बसको सिट देखिन्छ। अनलाइन बुकिङ गर्दिन काउन्टरबाटै काट्छु भनेर पुगेकाहरु त्यही डिस्प्ले हेर्छन् र टिकट काट्दै छन्। खाली सिट कुन कुन छन् भन्ने हेर्न सकिन्छ, दलालसँग टिकटको दरभाउमा बार्गेनिङ गर्नु पर्दैन।  

बसको टिकट अनलाइनबाट बुकिङ गर्न सकिने यी हुन् साइट 

बस सेवा

बस सेवा नेपाल

पश्चिम नेपाल बस

स्मार्ट यात्रु 

बस नेपाल