राष्ट्र बैंकको अप्रत्यक्ष दबाबले मर्जरमा तात्न थाले बैंक, सीइओ खाली भएका बैंक मर्जरमा जुट्दै

सुदर्शन सापकोटा/बिजमाण्डू
२०७८ भदौ १६ गते ०९:११ | Sep 1, 2021
राष्ट्र बैंकको अप्रत्यक्ष दबाबले मर्जरमा तात्न थाले बैंक, सीइओ खाली भएका बैंक मर्जरमा जुट्दै

काठमाडौं। एकको राजीनामा र तीनको कार्यकाल पुरा भएर अवकाश भएपछि अहिले चार वाणिज्य बैंकहरु प्रमुख कार्यकारी अधिकृतविहीन छन्। चार वटै बैंकले अहिले डेपुटी प्रमुख कार्यकारीलाई काम प्रमुख कार्यकारी बनाएर काम चलाइरहेका छन्।

Tata
GBIME
Nepal Life

सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट तुलसी गौतम राजीनामा गरेर बाहिरिएका छन्। कुमारी बैंकबाट सुरेन्द्र भण्डारी, सिद्धार्थ बैंकबाट शम्भुनाथ गौतम र बैंक अफ काठमाण्डू (बिओके) बाट शोभनदेव गौतम चार वर्षे कार्यकाल पुरा गरेर बाहिरिएका हुन्।

एभरेष्ट बैंक पनि अहिले प्रमुख कार्यकारीको प्रत्यक्ष नेतृत्वमा छैन। बैंकले सुदेश खालिङलाई प्रमुख कार्यकारी अधिकृत बनाए पनि कुलिङ पिरीयडका कारण उनले असोज ८ गतेबाट मात्र बैंकको व्यवस्थापकीय नेतृत्व लिने छन्। 

सेञ्चुरीमा मनोज न्यौपाने, कुमारीमा अनुजमणि तिमिल्सिना, सिद्धार्थमा सुन्दरप्रसाद कँडेल र बिओकेमा श्रवणलाल मास्केले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन्। 

बैंक सञ्चालक समितिले रिक्द पदमा तीन महिनाभित्र नियुक्त गरिसक्नु पर्ने नियामकीय प्रावधान छ। तर, अहिले यी बैंक प्रमुख कार्यकारी नियुक्त गरिहाल्ने पक्षमा छैनन्। एक त समय बाँकी छ, अर्को राष्ट्र बैंकको चाहना अनुसार मर्जरका लागि अगाडि बढ्नु पर्ने अवस्था छ।

त्यसैले तत्काल कामु प्रमुख कार्यकारीबाटै बैंक चलाउने पक्षमा चार वटै बैंक सञ्चालक समिति देखिन्छन्। मौद्रिक नीतिले दिएको छुटबाट आकर्षित भएर भन्दा पनि नेपाल राष्ट्र बैंकको अप्रत्यक्ष करकापले अहिले बैंकहरु मर्जरमा जानु पर्ने बाध्यतामा छन्।

गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र र नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले सञ्चालक समितिका सदस्य र प्रमुख कार्यकारीहरुलाई भेटेपिच्छे मर्जरका बारेमा चासो राख्ने गरेका छन्। यद्यपि फलानो संस्थासँग गाभिनुस् भनेर राष्ट्र बैंकका अधिकारीहरुले भनेका छैनन्।

'उहाँहरुको चासो हुने गरेको छ। अप्रत्यक्ष दबाबजस्तो पनि देखिन्छ,' सीइओ खाली भएका एक बैंकका सञ्चालकले बिजमाण्डूसँग भने, 'दिँदै आएको छुट बढाएर ८/१० वटा पुर्‍याएको पनि छ। त्यसैले उहाँहरुले मर्जरमा अलिक बढी नै गम्भीरजस्तो देखिन्छ।'

मर्जरमा जानै पर्छ भने अहिले नै किन प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने भनेर बैंक सञ्चालकहरु छलफलमा जुटेका छन्। राष्ट्र बैंककै अधिकारीहरुसँग पनि उनीहरुले 'पार्टनर' खोजिदिन आग्रह गरिरहेका छन्। राष्ट्र बैंकका अधिकारीहरुले भने 'तपाइँहरु हेर्नुस् न कुन ठिक हुन्छ' भनेर सञ्चालक र सीइओहरुकै जिम्मामा छाडिदिइरहेका छन्।

मौद्रिक नीतिपछि मर्जरका बारेमा राष्ट्र बैंकले अलिक बढी गफगाफ गर्न थालेको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतहरु बताउँछन्। राष्ट्र बैंकले मर्जरको सन्दर्भमा सर्वेक्षण पनि गरिसकेको छ। त्यहाँ छुट र सुविधा पाए मर्जरमा जान सकिने भनेर अधिकांशले चाहना प्रकट गरेका छन्।

एकातिर राष्ट्र बैंकको चासो अर्कोतिर बढ्दो खर्च र घट्दो प्रतिफलका कारण बैंकरहरु पनि मर्जरमा जान खोजिरहेका छन्। हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरमा जाँदैछन्। उनीहरुले सम्भवतः तिहारअघि एकीकृत कारोबार गर्दैछन्। यसले उनीहरुको वासलात निकै ठूलो बनाउँछ। दौंतरी बैंकहरुलाई पनि माथि उक्लिन दबाब दिइरहेको छ। त्यही भएर अहिले ठूला मानिएका बैंकहरु पनि मर्जरमा जान खोजिरहेका छन्।

प्रमुख कार्यकारी रिक्त रहेको बिओके र ग्लोबल आइएमइ बैंकबीच यतिबेला गम्भीर छलफल चलिरहेको छ। ६ वर्षअघि पुँजी वृद्धिताका लुम्बिनीसँग गाभिएर बिओकेले आफ्नो वासलात ठूलो पारेको थियो।

ग्लोबलले त कमर्ज एण्ड ट्रस्ट, जनता बैंक नेपालजस्ता दुई वाणिज्य बैंकहरु गाभिसकेको छ। त्यसबाहेक पनि विकास बैंक र फाइनान्स कम्पनीहरु गाभेको छ। देशकै ठूलो बैंक (पुँजीमा मात्र होइन, वासलातमा) बन्न ग्लोबल आइएमइ बैंकले बिओकेसँग छलफल गरिरहेको हो।

मर्जरका लागि प्रभु बैंकले पनि दुई वाणिज्य बैंकहरुसँग छलफल गरिरहेको छ। प्रभुले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई 'मर्जरमा जाने हो?' भनेर औपचारिक रुपमा पत्रै लेखेको छ। यसबाहेक सेञ्चुरी कमर्सियल बैंकसँग पनि प्रभुले कुराकानी गरेको छ। प्रभु बैंकसँग पनि किष्ट र ग्राण्ड बैंक नेपाललाई गाभेको अनुभव छ। यसबाहेक विकास बैंक र फाइनान्स कम्पनीलाई पनि गाभेको छ। एनसीसी र सेञ्चुरीसँग पनि मर्जरको अनुभव छ।

जानकारहरुका अनुसार, सिद्धार्थ र कुमारी बैंक दुवैतिर काम गरिसकेका सुरेन्द्र भण्डारीको पहलमा पनि मर्जरको कुराकानी भइरहेको छ। यी दुवै बैंकको प्रमुख कार्यकारी अधिकृत रिक्त छ। 

नबिल बैंक मर्जरका लागि छलफलमै छ। तर संस्थापकहरु (खासगरी चौधरी समूह) बजारबाटै (सेयरको दोस्रो बजार) पैसा उठाएर मर्जर गर्ने पक्षमा छन्। त्यही भएर एकबेला नबिलका संस्थापकले एनसीसी बैंकको सेयर उठाएर उचाइमा पुर्‍याएका थिए। एनसीसी बैंक गाभ्दा त्यहीको कारोबारबाट २० प्रतिशत लाभांश सुनिश्चित भएको हिसाबकिताबसमेत निकालिएको थियो। अहिले नबिल संस्थापकले एनसीसी छाडिसकेका छन्।

यतिबेला नबिल र नेपाल बंगलादेश (एनबी) बैंकको मर्जरको चर्चा छ। दुवै बैंकका संञ्चालक र ब्यवस्थापन मर्जर हुन सक्ने संकेत गर्छन्। एनबी बैंकमा ४० प्रतिशत लगानी भएको बंगलादेशको आएएफआइसी बैंकको सेयर खरिदसँगै मर्जर गर्ने तयारीमा नबिल संस्थापक छन्। यद्यपि त्यो सेयर खरिद गरेर एनबि बैंकलाई गाभ्ने रणनीतिमा सनराइज बैंकका ठूला लगानीकर्ता दुगड समूह पनि छ।

मर्जरमा जाने पक्षमा सिभिल बैंक पनि छ। सिभिलले हिमालयन बैंकलाई मर्जरका लागि पत्रै लेखेको थियो। नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर सकिएपछि सिभिललाई पनि मिसाउने रणनीति अनुसार काम भइरहेको हिमालयन बैंकका सञ्चालकहरु बताउँछन्। यद्यपि सिभिलले अन्य संस्थासँग पनि मर्जरका लागि कुराकानी गरिहरेको बताइन्छ। सानिमा बैंक पनि मर्जरका लागि छलफलमा छ। 

मर्जरका लागि राष्ट्र बैंक स्प्रेडमा एक प्रतिशतको छुटदेखि निर्देशित लगानीमा पनि केही सहुलियतहरु दिएको छ। सरकारले पनि दुई वाणिज्य बैंकबीच मर्जर भए लाभांश र पुँजीगत लाभकरमा छुट दिएको छ। यद्यपि यस्ता सुविधाले मर्जरलाई प्रोत्साहित नगर्ने बैंकरहरु बताउँछन्। 

'राष्ट्र बैंकको दबाबले मर्जर हुने हो, सहुलियतले तान्दैन,' एक बैंकरले भने, 'अर्को भनेको प्रतिस्पर्धा बढेको छ। जेमा पनि राष्ट्र बैंकले अड्को थाप्न थालेको छ। त्यसैले पनि खर्च घटाउन र वासलात ठूलो बनाउन मर्जरमा जानुपर्ने बाध्यताजस्तो बनेको छ।'