बजेट भाषणपछि शेयर बजार निरन्तर ओरालो लाग्यो, घटाएर बजार छिर्ने दाउमा ठूला लगानीकर्ता

बिजमाण्डू
२०७६ जेठ २७ गते १५:३२ | Jun 10, 2019


काठमाडौं। अर्थमन्त्री शेयर बजारप्रति सकारात्मक हुँदा पनि शेयर बजार सोमबार थप ८.७८ अंकले घट्यो। बजेट भाषणपछि शेयर बजार घट्ने क्रममा  हालसम्म ४३.६५ अंक तल झरिसकेको छ।

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवको अवसरमा शेयर बजार सुधारका लागि आफु तयार भएको वक्तव्य दिए पनि सोमबार शेयर बजार घट्ने क्रम रोकिएन।

सरकार बजारप्रति सकारात्मक देखिएसँगै बजारका खेलाडीहरुले बजार तल झारेर खरिद गर्ने रणनीति लिदा बजार ओरालो लागेको विश्लेषण गरिएको छ।

शेयर मूल्य घटाएर ठूला लगानीकर्ताले बजार प्रवेश गर्ने रणनीति बनाएको चर्चा चलेको छ।

बिगतमा ब्रोकरको हातमा मात्रै रहेको शेयर बजार अनलाइन कारोबार सुरु भएसँगै साना तथा ठूला लगानीकर्ताको हातमा बजार पुगेको छ। अस्थिर रहेको बजारमा केही लगानीकर्ताले चलखेल गर्न खोजेमा पनि बजार मूल्यमा तलमाथि पार्न सक्ने अवस्था छ।  

गत वर्ष अर्थमन्त्री शेयर बजारप्रति नकारात्मक हुँदा बजार घटेको विश्लेषण गरिँदै आएको थियो। तर अर्थमन्त्री बजारप्रति आफु सकारात्मक भएको र बजार सुधारका लागि काम गर्ने बताउँदै आएपनि बजार भने बढ्न सकेको छैन।

बजार घट्दा पनि लगानीकर्ताले आत्तिएर शेयर बिक्री नगरेको एक ब्रोकरले बताए। लगानीकर्ताले घटिरहेको बजारलाई करेक्सनकै रुपमा हेर्दा पेनिक सेल नभएको उनीहरुको विश्लेषण छ।

सोमबार विकास बैंक, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डको सूचकमा सामान्य सुधार आएपनि बाँकी सूचक ओरालो झरेका छन्।

सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनीको सूचक २.२१ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै एनआईसी एशिया बैंकको चार करोड १८ लाख रुपैयाँको कारोबार भएको छ। दोस्रोमा शिवम् सिमेन्टको तीन करोड ९० लाख रुपैयाँको कारोबार भएको छ।

समग्र बजार ओरालो झर्दा थोरै मूल्य भएका कम्पनीहरुको बजार मूल्य भने बढेको छ। बजार घटेको अवसर पारेर थोरै मूल्यको शेयर खरिद गर्ने लगानीकर्ता हावी हुँदा त्यस्ता कम्पनीको मूल्य बढेको हो।

सबैभन्दा धेरै वर्ल्ड मर्चेन्ट बैंकिङको ७.६१ प्रतिशतले बढेको छ। त्यस्तै सबैभन्दा धेरै बढ्नेमा हाइड्रोपावर कम्पनी पनि रहेका छन्।

१ सय ७३ वटा कम्पनीको कारोबार हुँदा ३४ वटाको कम्पनीको मूल्य बढेको छ भने १ सय १९ वटाको घटेको छ। सूचक ०.६८ प्रतिशतले घटेर १२७५.८२ अंकमा रोकिएको छ।