वीरगंज भन्सारबाट अत्यधिक राजस्व संकलन, लक्ष्यभन्दा ३७% ले बढ्यो, त्रैमासिक लक्ष्य असोजमै असुली

बिजमाण्डू
२०७५ कात्तिक ९ गते १२:१३ | Oct 26, 2018


वीरगंज। वीरगंज र आइसिपि भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा धेरै बढी राजस्व संकलन गरेको छ ।

Tata
GBIME
Nepal Life

दशैँ, तिहारजस्ता चाडपर्वका कारण आयात बढेपछि यो भन्सारले चालु आर्थिक बर्षमा असोज महिनामा सर्वाधिक बढी राजस्व संकलन गरेको हो ।

कार्यालयका सूचना अधिकारी सन्तोष यादवका अनुसार, असोज महिनामा मात्र यो भन्सारले १६ अर्ब ५४ करोड १७ लाख ८४ हजार ८ सय रुपैयाँ राजस्व संकलन गरेको छ । जुन असोजको राजस्व असूली लक्ष्य भन्दा ३७ प्रतिशतले बढी हो ।

असोजमा १२ अर्ब १ करोड २४ लाख ९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य यो भन्सार कार्यालयले पाएको थियो ।

राजस्व संकलनमा वृद्धि हुनुमा चाडपर्वका कारण बढेको आयातनै मुख्य कारण रहेको महतो बताउँछन् । ‘यो महिनामा नयाँ सवारी साधन, लत्ताकपडा, सजावटका बत्ती आदिको आयात अन्य महिनाभन्दा बढी भएको हो,’उनले भने, ‘बर्षेनी चाडपर्वको मौसममा यसरी आयात बढेर राजश्व बढी असुली हुने गर्छ ।’

असोज महिनामा राजस्व उत्साहजनक रुपमा संकलन भएकाले कार्यालयले चालु आर्थिक बर्षकालागि पाएको राजस्व असूली लक्ष्य भेट्टाउन पनि सहज हुँदै गएको महतोले बताए ।

चालु आवमा असोजसम्ममा ३७ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकोमा ४३ अर्ब १९ करोड ८२ लाख २२ हजार ४ सय ४२ रुपैयाँ राजस्व संकलन भैसकेको छ ।

यसरी त्रैमासिक लक्ष्यभन्दा १२ प्रतिशत बढी राजस्व यो भन्सारले संकलन गरिसकेको छ । यो असोज महिनाकै असूलीले संभव भएको हो ।

यसअघिका साउन र भदौ महिनामा पनि कार्यालयले मासिक राजस्व असूली लक्ष्य भेट्टाएपनि त्यो असोज महिना जत्तिको बढी थिएन ।

भदौ महिनामा १३ अर्ब ७२ करोड ८४ लाख ६८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको यो भन्सारले १४ अर्ब २ करोड ३९ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो जुन लक्ष्यभन्दा २ दशमलव १५ प्रतिशतले बढी थियो ।

अब कात्तिक महिनादेखि राजस्व संकलनको चुनौती बढ्ने उनले बताए । चाडपर्वका कारण कात्तिक महिनामा ४ दिन सार्वजनिक बिदा परेको छ । त्यसले दैनिक राजस्व असूलीमा प्रत्यक्ष प्रभाव पार्छ ।

एक दिन पनि कार्यालय बन्द हुँदा त्यसले मासिक राजस्व असूली लक्ष्यमा नकारात्मक असर पार्छ । यो भन्सार दशैँ, तिहार बाहेकका अन्य सार्वजनिक विदाको दिन पनि आधा समय खुला रहने गर्छ ।

राजस्व बढ्नुका फ्याक्टर

सवारी साधन तथा इन्धन यो भन्सारमा राजस्वमा योगदान गर्ने प्रमुख बस्तु हुन् । यस बाहेक औद्योगिक कच्चा पदार्थ तथा खाद्यान्न आदि बस्तुले पनि यो भन्सारको राजस्व संकलनमा बढी भूमिका खेल्छन् ।

यो भन्सार मुलुककै सर्वाधिक राजस्व संकलन गर्ने भन्सार हो । चालु आवमा नयाँ सवारी साधनको अन्तःशुल्कमा वृद्धी भएपछि त्यसको प्रभावले अन्तःशुल्क असूली बृद्धिसंगै राजस्व पनि बढी असूली हुन लागेको हो ।

राजस्व बढ्नुको अर्को कारण वीरगंज भन्सार दुई नाका भएर संचालनमा आएको छ । पहिलो वीरगंज–रक्सौल र अर्को वीरगंज–रक्सौल आईसिपी साइड ।

दुई नाका भएपछि सवारी साधनको जाम कम भएर बढी सामान आयात भएको हो भने आइसिपीमा अनलाईन प्रणालीबाट जाँचपास तथा डाटा इन्ट्री भइरहेकोले नेपालका आयातकर्तादेखि विदेशी सप्लायर्सपनि आईसिपीको नाका रुचाइरहेका छन् ।

भारतीय सप्लार्यसहरुलाई जिएसटी रिफन्डको ५ देखि २८ प्रतिशतको रकम अनलाईनबाट कारोबार गर्दा सहज र छिटो हुने भएकोले पनि आईसिपी विदेशी सप्लार्यसहरुकालगि रुचीको नाका बनेको  वीरगंज भन्सारका सूचना अधिकारी सन्तोष यादवले बताए।