जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा हुने, प्रधानमन्त्री र भूमिसुधारमन्त्रीबीच छलफल

बिजमाण्डू
२०७५ असार ३१ गते १०:१५ | Jul 15, 2018

Tata
GBIME
Nepal Life

रुपन्देही।कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार रहेको वताएका छन ।

प्रतिबन्धका कारण धेरै समस्या र विकृति बढेको बताउँदै उनले आवश्यक नीति निर्माण गरेर कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा मन्त्रालय रहेको वताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ र १७ का एक सय १२ जनाले गाउँब्लक कृषकहरुलाई जग्गाको जग्गाधनी प्रमाण पूर्जा कार्यक्रममा बोल्दै मन्त्री खनालले जग्गा व्यवस्थापन सम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको गाँठो फुकाउँछौं उनले भने  ‘यस सम्बन्धमा मैले प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरेको छु । एक महिनाभित्र यो विषयलाई हामीले टुंग्याउने छौं । ’

कृषि भूमिको संरक्षण हुनेगरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार रहेको जानकारी दिदै मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा नरोकिएको बरु त्यसले अनेक विकृति बढाएकाले सरकारले नयाँ व्यवस्था गर्न थालेको वताए ।

स्थानीय तहले भू–उपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै खनालले रुपन्देहीमा खेतीयोग्य जमिनको संरक्षण गरिनुपर्ने समेत बताए । शनिबार मणिग्राममा आयोजित एक कार्यक्रमका बीच कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल, प्रदेश सांसद दधिराम न्यौपाने, नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जागेश्वरी चौधरीले उनीहरुलाई जग्गाधनी प्रमाण पूर्जा प्रदान गरेका थिए ।
 
नापी कार्यालय रुपन्देहीले साविक मधवलिया १ (क) को किता नं. ८९ र ९८ तथा गंगोलिया ३ (ख) को कित्ता नं. १३२ को गाउँब्लक जग्गाको जग्गाधनीहरुलाई प्रमाण पूर्जा वितरण गरेको हो । यसअघि नापजाँच हुने क्रममा छुटेका स्थानीय बासिन्दाले झण्डै ५० वर्षपछि आफूले प्रयोग गरेको जग्गाको प्रमाण पूर्जा प्राप्त गरेका हुन् ।

कार्यक्रममा प्रदेश सांसद दधिराम न्यौपानेले जग्गाको कित्ताकाट रोकिँदा मालपोत र नापी कार्यालयमा धेरै विकृति देखिएको बताउँदै यो समस्या समाधानमा संघीय सरकार गम्भीर हुनुपर्ने वताए ।

सोही अवसरमा नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले कित्ताकाटमा लगाइएको रोकले ल्याएको समस्याप्रति जानकार रहेको उल्लेख गर्दै आफूहरु नीतिभन्दा बाहिर जान नसक्ने वताए । भूमि व्यवस्थापनका सन्दर्भमा तिलोत्तमा नगरपालिकाको नेतृत्वले देखाएको तत्परता निकै प्रशंसनीय रहेको बताउँदै उनले नेतृत्वको इच्छाशक्तिका कारण आगामी आर्थिक वर्षमा तिलोत्तमामा पुनःनापी हुन थालेको जानकारी दिए ।

तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नगरभित्रको जग्गाको वैज्ञानिक व्यवस्थापनमा नगरपालिका क्रियाशील रहेको वताए । उप–प्रमुख जागेश्वरदेवी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत जनक बहादुर भण्डारीलगायतले वोलेका थिए ।

जग्गाधनी पूर्जा पाएपछि खुशी
 
उपयोग गरेको वर्षौंपछि जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्दा स्थानीय बासिन्दाहरु अत्यन्त खुशी भएका छन् ।

तिलोत्तमा–१७ भरौलियाकी ७० वर्षीय मालतीदेवी थरुनीले जीवनको उत्तराद्र्धमा जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्दा आफू निकै खुशी भएको बताइन् । यस्तै तिलोत्तमा–१५ की ६० वर्षीय कोइली चौधरीले  लामो समयको प्रतीक्षापछि बल्ल प्रमाण पूर्जा पाएको बताउँदै अब बल्ल जग्गाको वास्तविक धनी भएको बताइन् ।

नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले प्रक्रिया पूरा गरेर क्रमशः तिलोत्तमा नगरपालिकामा रहेका अन्य गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा पनि वितरण गरिने जानकारी दिए ।जनप्रतिनिधिहरुको तत्परताका कारण पछिल्लो पटक तिलोत्तमाबाट गाउँब्लकको जग्गाधनी प्रमाण पूर्जा वितरण सुरु गरिएको भन्डारीले बताए ।