शेयर कारोबार ३२% ले बढ्यो, २२ करोडको कारोबार हुँदा वोमी माइक्रोफाइनान्सलाई अग्रता

बिजमाण्डू
२०७५ जेठ २ गते १५:४८ | May 16, 2018

काठमाण्डौ। जेठ १ गते देखि लगानीकर्ताले शेयर बजारमा कारोवार गर्न व्यतिगत विवरण अद्यावधिक गर्नुपर्ने भएसँगै कारोवारमा देखिएको असर बिस्तारै कम हुँदै गएको छ। बुधवार शेयर बजारमा कारोबार रकम र सूचक दुबैमा थोरै सुधार देखिएको छ।

Tata
GBIME
Nepal Life


बुधबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ४.१६ अंकले बढेर १३३८.०१ अंकमा उक्लिएको छ। क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.०४ अंकले बढेर २८२.०४ अंकमा उक्लिएको छ।

बुधबार कारोवारको सुरुवातमा सामान्य देखिएको बजार त्यसपछि सामान्य बढेको थियो। साढे १२ बजेसम्म पाँच अंक बढेर १३३७ अंक भेट्टाएको सूचकले त्यसपछि भने सामान्य उतार चढावकाबीच बजार बढेर बन्द भएको छ।

बुधबार १५८ कम्पनीका चार लाख २३ हजार कित्ता शेयर २२ करोड २० लाख रुपैयाँमा कारोवार भयो। यो अघिल्लो दिनको कारोवारको तुलनामा ३२ प्रतिशत बढी हो। मंगलबार १४ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। बुधबार सबैभन्दा बढी वोमी माइक्रोफाइनान्सको एक करोड ५६ लाख रूपैयाँ बराबरको शेयर किनबेच भयो।

उपसूचक मिस्रित देखिएका छन्। १० समुहको कारोबारमा दुई समुह घटेका छन् भने आठ समूह बढेका छन्। फाइनान्स २.८४, र उत्पादनमुलक समूह ६.८७, अंकले घटेका छन्। बैंक १.४६, ट्रेडिङ् ५.८३, होटल ४६.१४, विकास बैंक ९.२८, जलबिद्युत १३.१३, बीमा ०.१९, अन्य ४.६२ र लघुवित्त २२.८४ अंकले बढेका छन्।

बुधबार मिर्मिरे माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिव १० प्रतिशत कमाए। वर्ल्ड मर्चेन्ट बैंक एण्ड फाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिव पाँच प्रतिशत गुमाए।