बैंकहरुको लाभांश क्षमता घटेको घट्यै, १० वटाले बाँड्नै नपाउने, कुनको अवस्था कस्तो?

सुनिल कुँवर
२०८१ बैशाख ७ गते १३:१६ | Apr 19, 2024
बैंकहरुको लाभांश क्षमता घटेको घट्यै, १० वटाले बाँड्नै नपाउने, कुनको अवस्था कस्तो?

काठमाडौं। अर्थतन्त्रमा शिथिलताले व्यवसाय खुम्चिंदा बैंकहरुको वासलात झनै बिग्रिन पुगेको छ। जसका कारण बैंकहरुको वितरणयोग्य मुनाफा थप घटेको छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्ष तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार अधिकांश बैंकको वितरणयोग्य नाफामा उच्च गिरावट आएको छ। प्रोभिजन बढ्दा बैंकको नाफा खुम्चिन पुगेको हो।

चैतसम्म वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यो रकम पोहोर ९ महिनाको तुलनामा १३.४७ प्रतिशत कम हो। बैंकहरुले पोहोर चैतसम्म ४७ अर्ब १ करोड रुपैयाँ नाफा कमाएका थिए।

खराब कर्जा वृद्धिले नोक्सानी व्यवस्थापन खर्च(प्रोभिजनिङ) बढ्दा बैंकको मुनाफा संकुचन भएको हो।

बैंकहरुको खराब कर्जा बढेर ३.४५ प्रतिशत पुगेको छ। पोहोरको तुलनामा खराब कर्जा ०.५९ प्रतिशतले वृद्धि भएको छ। बैंकले ऋण लगानी गरेको रकम असुली गर्न नसक्दा प्रोभिजनिङ रकम बढेको छ।

बैंकहरुले चैतसम्म ३९ अर्ब ८७ करोड रुपैयाँ प्रोभिजनिङ गरेका छन्। यो रकम पोहोर चैतको तुलनामा ३२.७९ प्रतिशत बढी हो।

१० वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको छ। हिमालयन, नेपाल इन्भेष्टमेन्ट, कुमारी, एनआईसी एसिया, लक्ष्मी सनराइज, नेपाल, एनएमबि, ग्लोबल आइएमई र माछापुच्छ्रे बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको हो।

यसबाहेक थप ५ बैंकको वितरणयोग्य नाफा घटेको छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै २ अर्ब ७५ करोड रुपैयाँ छ। उसको वितरणयोग्य नाफा पोहोर ९ महिनाको तुलनामा ६१ करोड रुपैयाँ कम हो। उसले गत आर्थिक वर्षको मुनाफाबाट २०.५३ प्रतिशत लाभांश दिएको थियो।

नबिल बैंकले सबैभन्दा धेरै ४ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएपनि उसले १ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी सेयरधनीलाई बाँड्न सक्दैन। नबिलले पोहोरको नाफाबाट ११ प्रतिशत लाभांश बाँडेकामा उसको वितरणयोग्य नाफा यसपालि २२ करोड ५० लाख रुपैयाँ घटेको छ।

१ अर्ब रुपैयाँभन्दा धेरै वितरणयोग्य नाफा भएका बैंकमा एभरेष्ट र नबिलका अलावा स्टान्डर्ड चार्टर्ड र कृषि विकास बैंक मात्र छन्।

यो वित्तीय विवरणले बैंकका लगानीकर्ता निराश भएका छन्। बैंकहरुले पोहोरको मुनाफाबाट दिएको प्रतिफल नै निराशजनक रहेको अवस्थामा यो पालिको वित्तीय विवरण झनै खराब आएकाले लगानीकर्ता निराश हुन पुगेका हुन्।

बैंकहरुले आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा लाभांश घटाएका थिए। गत आर्थिक वर्षका लागि ९ वटा बैंकले लाभांश दिनै सकेका थिएनन् भने ४ वटाको लाभांश १० प्रतिशत मुनि थियो। ७ वटाले मात्र दोहोरो अंकमा लाभांश दिन सकेका थिए। जबकि २०७८/७९ का लागि १२ बैंकले दोहोरो अंकमा लाभांश दिएको तथ्यांक छ।

परारको तुलनामा पोहोर लाभांश घटाएका बैंकहरुले चालु वर्षको नाफाबाट लगानीकर्तालाई झनै निराश बनाउने खालको वित्तीय विवरण आएको छ।

बैंकहरुले यसपालि एकातिर कर्जा विस्तार गर्न सकेका छैनन् भने अर्कातिर लगानी गरेको रकम असुली गर्न झनै समस्या भएको छ। बजारमा वस्तु तथा सेवाको माग घटेको अवसर बैंकको व्यवसायमा परेको हो। प्रतिफलयोग्य नाफा रकममा संकुचनको असर बैंकको सेयर मूल्य अझै घट्ने विश्लेषण गरिएको छ।