‘पक्राउ गरे पनि, थुने पनि, सरकारले जति सुकै ह्यारेस गरे पनि मैले यही माटोको लागि काम गर्ने हो,’ भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले भने, ‘हामीले जे कमाएका हौं, यही देशमा कमाएका हौं, जे काम गर्ने हो यही माटोमा गर्ने हो।’
+++
काठमाडौं । नौ अर्ब रुपैयाँको भ्यालुएसनमा होटल डेला अन्नपूर्णको ३० प्रतिशत सेयर भाटभटेनी समूहले खरिद गर्ने भएको छ। मूल कम्पनीको ३० प्रतिशत सेयर लिनका लागि भाटभटेनीले कूल दुई अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने गरि तयारी अन्तिम चरणमा पुगेको पुष्टी भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले गरे।
सेयर खरिदपछि मूल कम्पनी होटल डेला अन्नपूर्णसँग भाटभटेनीसहितको समूहले ४२ रोपनी जग्गा लिजमा लिएर त्यहाँ मल, होटल र पार्किङसहितको संचरना विकास योजना बनाएको हो। होटल डेला अन्नपूर्णसँग ३५ वर्षका लागि अन्नपूर्ण स्क्वायरले जग्गा लिजमा लिने सम्झौता गरेको हो।
कम्पनीका सबैभन्दा ठूला सेयरधनी कपिल शम्सेर राणाले कम्पनीको ३० प्रतिशत सेयर भाटभटेनी समूहले स्थापना गरेको भाटभटेनी इन्भेष्टमेन्ट कम्पनीलाई बिक्री गर्नेछन्। सेयर बिक्रीपछि पनि राणासँग ५५ प्रतिशतको हाराहारीमा सेयर स्वामित्व रहनेछ।
अन्नपूर्ण होटलको स्वामित्वमा रहेको ४२ रोपनी जग्गा लिजमा लिएर त्यसलाई विकास गर्न अर्को थप आठ अर्ब रुपैयाँ लगानी गरिनेछ। त्यसका लागि कम्पनीका लगानीकर्ताहरुबीच ‘अन्नपूर्ण स्क्वायर’ नाम गरेको स्पेशल पर्पोज भेहिकल कम्पनी बनाउने सम्झौता भइसकेको छ।
अन्नपूर्ण स्क्वायरमा मूल कम्पनी होटल डेला अन्नपूर्णको १५ प्रतिशत सेयर रहनेछ। भाटभटेनी इन्भेष्टमेन्ट कम्पनीको ६० प्रतिशत र नेपाली कांग्रेसका नेता समेत रहेका उद्यमी उमेश श्रेष्ठ समूहको २५ प्रतिशत सेयर हुनेछ।
अन्नपूर्ण स्क्वायरले दुई तला अण्डरग्राउण्डमा चार लाख स्क्वायर फिटको पार्किङ र सतह माथि थप सात लाख ६० हजार स्क्वायर फिटको मलसहित होटल बनाएर सञ्चालन गर्नेछ।
‘हामीले त्यहाँ एक लाख स्क्वायर फिटको भाटभटेनीको फ्ल्यागसिप सुपरस्टोर खोल्ने योजना बनाएका छौं,’ गुरुङले भने।
त्यसबाहेक ब्राण्डेड सामानको शोरुमसहित मल र मलभन्दा माथि २६ तलासम्म जाने गरि ४०० बेडको होटल खोल्ने योजना रहेको गुरुङले जानकारी दिए।
अन्नपूर्ण स्क्वायरमा स्वपुँजी र ऋण गरेर आठ अर्ब रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ।
होटल डेला अन्नपूर्णमा कपिल शम्सेर राणाको बहुमत सेयर छ। त्यसैगरी होटलमा राणाकी श्रीमती सिर्जना राणाको नाममा साढे तीन प्रतिशत, राजेन्द्र खेतानको लक्ष्मी कर्पसँग एक प्रतिशत, नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल ट्रष्टसँग साढे दुई प्रतिशत र पूर्व राजकुमारी स्वर्गीय श्रुती राणाका छोरीहरुको नाममा पाँच प्रतिशत माथि सेयर छ।
अन्नपूर्णमा अहिले ११ जना सेयरधनी छन्। भाटभटेनी इन्भेष्टमेन्ट कम्पनी सेयरधनीको रुपमा प्रवेश गरेपछि १२ जना सेयरधनी कायम हुनेछ।
कोभिड-१९ को समयमा कर्मचारी खर्च कटौतीका लागि होटल बन्द गरेपछि अन्नपूर्ण वित्तीय संकटमा जान थालेको थियो। होटलमा अहिले पनि हिमालयन बैंकको डेढ अर्ब रुपैयाँभन्दा माथि ऋण छ।
होटल बन्द भएपछि अन्नपूर्णलाई क्यास फ्लोको दबाब परेको थियो। क्यास फ्लो नभएपछि बैंकको ऋण भुक्तानीमा पनि समस्या भएको थियो। समस्या भएपछि कम्पनीले एक वर्षअघि ६ रोपनी जग्गा हिमालय रि-इन्स्योरेन्सलाई बिक्री गर्ने सम्झौता गरेको थियो।
तर, होटलसँग हदबन्दीभन्दा बढी जग्गा भएको र त्यो हदबन्दी फुकाउन मन्त्रिपरिषदबाट निर्णय गराउन नसकेपछि जग्गा बिक्रीको योजना अलपत्र परेको थियो। हिमालय रिइन्स्योरेन्सले प्रतिआना दुई करोड रुपैयाँका दरले ६ रोपनी (९६ आना) जग्गा एक अर्ब ९२ करोड रुपैयाँमा खरिद गर्न खोजेको थियो।
एकातर्फ होटलको क्यास फ्लो नहुनु अर्कोतर्फ जग्गा बिक्रीको योजना पनि सफल नभएपछि कम्पनीको ऋण बढ्दै गएको थियो। गत वर्ष चैतमा करिब एक अर्ब ३० करोड रुपैयाँ रहेको ऋण अहिले बढेर डेढ अर्ब रुपैयाँ माथि पुगेको बैंक स्रोतले जानकारी दिएको छ।
जग्गा बिक्रीको योजना सफल नभएपछि कम्पनीले आंशिक स्वामित्व बिक्री गर्ने वा पूरै ४२ रोपनी जग्गा लिजमा दिने विकल्प अघि सारेको थियो।
जग्गा लिजको प्रस्ताव आएपछि भाटभटेनीका सञ्चालक गुरुङले होटल डेला अन्नपूर्णको स्वामित्व पनि खरिद गर्ने चाहना राखेका थिए।
सुरुमा कम्पनीको नौ अर्ब रुपैयाँ हाराहारीमा मूल्यांकन गरेर कपिल शम्सेर राणासँग भाटभटेनीले ३० प्रतिशत सेयर खरिद गर्नेछ। त्यो कारोबार भएपछि सबैजना सेयरधनीका लागि हकप्रद सेयर जारी गर्ने योजना कम्पनीको छ। यसरी हकप्रदबाट जुटाएको पैसा कम्पनीको बैंक ऋण चुक्ताका लागि प्रयोग गर्ने योजना छ।
कम्पनीमा नेपाल ट्रष्टको समेत २.६२ प्रतिशत सेयर रहेको कारण ट्रष्टको सेयर ‘डाइल्युट’ नहुने गरि कारोबार ‘स्ट्रक्चर’ गर्न खोजिएको स्रोतले बतायो।
‘सरकारको सेयर डाइल्युट हुँदा हायातको जस्तो पछि विवाद आउन सक्छ। त्यसैले अहिले डाइल्युट नहुने गरि कामको स्ट्रक्चरिङ अघि बढाइएको हो,’ सो कारोबारमा सघाइरहेका एक बैंकरले जानकारी दिए।
सेयरधनीको नाम | सेयर कित्ता | सेयर प्रतिशत |
कपिल शम्सेर राणा | ५०४०२५ | ८६.१३ |
गिर्वाणी र सारंगना | ३०७२० | ५.२५ |
सिर्जना राणा | २०६२७ | ३.५२ |
ज्योत्स्ना बस्नेत | १२४० | ०.२१ |
केशिया राणा | ३७०९ | ०.६३ |
जितेन्द्र बहादुर राजभण्डारी | २४६९ | ०.४२ |
मदन पि प्रधान | २०० | ०.०० |
सुएशा राणा | ९८० | ०.१६ |
नरेन्द्र एल प्रधान | २०० | ०.०० |
नेपाल ट्रष्ट | १५३६० | २.६३ |
लक्ष्मी कर्प | ६०१० | १.०२ |
ललिता निवास जग्गा प्रकरणमा सरकारले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेर छुटे पछि उनी व्यापार क्षेत्रमा थप आक्रमक बनेका हुन्। सरकारले आफूलाई ‘ह्युमिलिट’ गर्न पक्राउ गरेको र त्यसको जवाफ सरकारलाई व्यापार र उद्योगको विस्तारसँगै रोजगारी सिर्जना गरेर दिनुपर्छ भन्ने गुरुङको बुझाइ छ।
‘पक्राउ गरे पनि, थुने पनि, सरकारले जति सुकै ह्यारेस गरे पनि मैले यही माटोलाई काम गर्ने हो,’ गुरुङले भने, ‘हामीले जे कमाएका हौं, यही देशमा कमाएका हौं, जे काम गर्ने हो यही माटोमा गर्ने हो।’
गुरुङले योजना बारे थप भने, ‘हामीले सात/आठ अर्ब रुपैयाँ लगानी गरेर दुई हजार पच्चिस सय जनालाई रोजगारी दिन खोजेका छौं। यो देशका लागि मेरो धर्म हो।’
उनले अब केही समयका लागि भाटभटेनी स्टोर्सको विस्तार रोकिने समेत जानकारी दिए।
‘अब हामी केही समय स्टोर्सको विस्तारलाई रोक्छौं। त्यो रोकिंदा हामीसँग इन्जिनियरदेखि निर्माण कामदारसम्म गरि दुई हजार जना जतिको वर्क फोर्स आइडियल बस्छ। अब हामी त्यो टोली अन्नपूर्ण स्क्वायर बनाउनका लागि लगाउँछौं,’ उनले भने।
उनले हाल टंगालको भाटभटेनीमा कर्पोरेट अफिस र अण्डर ग्राउण्ड पार्किङको निर्माण गरिरहेका जानकारी दिए।
‘त्यो काम सक्न हामीलाई एक वर्ष हाराहारी समय लाग्छ। त्यतिबेलासम्म हामीले अन्नपूर्ण स्क्वायरको आईई, इआईए र डिजाइनिङको काम सक्छौं। त्यसपछि हामी त्यसको निर्माण सुरु गर्छौं,’ उनले भने।
अन्नपूर्णमा लगानीका लागि भाटभटेनी समूहले भाटभटेनी इन्भेष्टमेन्ट कम्पनी स्थापना गरेको छ। यो इन्भेष्टमेन्ट कम्पनीमा भाटभटेनी सुपरस्टोर्स, गुरुङ परिवारका सदस्यहरुको लगानी छ।
अन्नपूर्ण स्क्वायरले पाँच वर्षका लागि निर्माणाधिन समय र ३० वर्षका लागि जग्गा लिजमा लिएको हो। निर्माण अवधिका लागि अन्नपूर्ण स्क्वायरले हरेक वर्ष पाँच करोड रुपैयाँ लिज रकम मूल कम्पनीलाई दिनेछ।
निर्माण अवधिको पाँच वर्षपछि कम्पनीले वार्षिक १७ करोड रुपैयाँ लिज रकम तिर्ने सहमति भएको छ। लिज रकम हरेक दुई-दुई वर्षमा पाँच प्रतिशतका दरले बढ्नेछ।