मेनपावरको स्तर निर्धारण गर्ने वेबसाइट सञ्चालनमा, नेपालका ७५३ कम्पनी सूचीकृत, कुन कम्पनी कस्ता

रासस
२०७४ चैत्र २९ गते १९:३२ | Apr 12, 2018
मेनपावरको स्तर निर्धारण गर्ने वेबसाइट सञ्चालनमा, नेपालका ७५३ कम्पनी सूचीकृत, कुन कम्पनी कस्ता
काठमाडौं। वैदेशिक रोजगारीमा कामदार पठाउने मेनपावर कम्पनीको स्तर निर्धारण गर्ने वेबसाइट सुरु गरिएको छ।  वेबसाइटले वैदेशिक रोजगारको सेवा लिएका व्यक्तिले दिएको जानकारीका आधारमा सम्बन्धित मेनपावर कम्पनीको स्तर निर्धाण गर्ने छ। 
 
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले सुरु गरेको वेबसाइट डब्लुडब्लुडब्लु डट रिक्रुटमेन्ट एड्भाइजर डट ओआरजीले मेनपावर कम्पनीको सेवाको स्तरका बारेमा जानकारी दिने छ। यो वेबसाइट नेपालसँगै इन्डोनेसिया, फिलिपिन्स तथा मलेसियामा एकसाथ सुरु भएको छ। 
 
यस वेबसाइटमा हरेक मुलुकका लागि अलग्गै भाषामा रहेका छन्। वेबसाइट निर्माणमा नेपालबाट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आइटियुसीसँग सहकार्य गरेको छ। 
 
आइटियुसीको माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर (एमआरए) परियोजनाकी व्यवस्थापक इरा रच्मावतीका अनुसार यस वेबसाइटले वैदेशिक रोजगारमा जान चाहनेलाई सही मेनपावर कम्पनीको छनोट गर्न मद्धत गर्नेछ। 
 
उनले वैदेशिक रोजगारका क्रममा रहेका वा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको मूल्याङ्कनका आधारमा सम्बन्धित मेनपावर कम्पनीको स्तर निर्धारण हुने भएको र सो जानकारीले वैदेशिक रोजगारमा जान चाहनेलाई सही मेनपावर कम्पनी छनोट गर्न सहयोग गर्ने बताइन्। 
 
नेपालमा हाल एक हजार भन्दा धेरै मेनपावर कम्पनी छन्। तीमध्ये ७५३ मेनपावर कम्पनीको नामसहितको सूची वेबसाइटमा राखिएको छ।

Tata
GBIME
Nepal Life