अमेरिकामा २२ जना क्यान्सरग्रस्त महिलाले दायर गरेको मुद्दामा फर्मास्युटिकल जायन्ट जोन्सन एण्ड जोन्सन कम्पनीले ४७ अर्ब डलर तिर्नुपर्ने अदालतले निर्णय गरेको छ।
अमेरिकास्थित मिसौरी राज्यको अदालतले कम्पनीलाई क्षतिपूर्ति दिन आदेश दिएको हो। कम्पनीमाथि टालकम पाउडरकै बिषयमा ९ हजार वटा केसमाथि छानबिन भैरहेकै अवस्थामा अदालतले यो आदेश दिएको हो।
ती महिलाहरुले लामो समयदेखि जोन्सन एण्ड जोन्सनको बेबी पाउडर प्रयोग गरेकै कारण आपूहरुलाई ओभेरियन क्यान्सर भएको दावी गर्दै अदालतमा मुद्दा दायर गरेका थिए।
जोन्सन एण्ड जोन्सनले भने आफू अदातलको आदेशबाट ‘धेरै नै निराश’ भएको र अपिल गर्ने योजनामा रहेको बताएको छ। अदालतले गरेको आदेशलाई कम्पनीले ‘अनफेयर प्रोसेस’ पनि भनेको छ। कम्पनीले तिर्नुपर्ने निर्णय भएको यो हालसम्मकै ठूलो क्षतिपूर्ति रकम हो।
६ हप्ता लामो सुनुवाइका क्रममा ओभेरियन क्यान्सर भएका महिला र उनीहरुका परिवारले लामो समयदेखि उनीहरुले जोन्सनको बेबी पाउडर प्रयोग गरेकै कारण अभेरियन क्यान्सर भएको बताएका थिए।
सन् १९७० कै दशकदेखि कम्पनीको टालकम पाउडरमा ‘कन्टामिनेसन’ भएको तर यसको जोखिमबारे कम्पनीले ग्राहकलाई चेतावनी नदिएको वकिलको दावी छ।
तर कम्पनीले भने आफ्नो उत्पादनमा कुनै पनि रसायनिक मिश्रण नभएको र त्यसबाट क्यान्सर हुने संभावना नरहेको दावी गर्दै आएको छ।
यसघि सन् २०१७ मा क्यालिफोर्निया राज्यका जुरीले ओभेरियन क्यान्सर भएकी महिलाले दायर गरेको मुद्दामा कम्पनीमाथि ४१ करोड ७० लाख डलर तिर्न आदेश दिएपनि पछि त्यो निर्णय उल्ट्याएको थियो। कम्पनीले त्यस बिरुद्ध दायर गरेको मुद्दामा अझै निर्णय हुन बाँकी नै छ।