काठमाडौं। आरएसडिसी लघुवित्त वित्तीय संस्थाले नविकेको एक लाख ९५ हजार कित्ता शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ।
संस्थाले गत असोज २ गतेदेखि कात्तिक २० गतेसम्म चुक्ता पूँजीको दुर्इ सय प्रतिशत हकप्रद निष्काशन गरेको थियो। संस्थाले २३ लाख कित्ता हकप्रद निष्कासन गर्दा संस्थापकतर्फ एक लाख २ हजार र सर्वसाधारणतर्फ ९३ हजार २७ कित्ता नविकेको हो।बोलकबोलको लागि न्यूनतम १०० रुपैयाँ देखि र न्यूनतम एक हजार कित्ता आवेदन दिन पाइने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआर्इबिएल क्यापिटलले जनाएको छ।
संस्थाले हकप्रद लिलामको लागि पुस ११ गतेदेखि १८ गतेसम्म एनआर्इबिएल क्यापिटल मार्केट्स लाजिम्पाट, आरएसडिसी लघुवित्तको केन्द्रीय कार्यालय, नेपाल इन्भेष्टमेन्टका शाखा कार्यालयहरु विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढीबाट आवेदन दिन पाइने एनआर्इबिएल क्यापिटलले जनाएको छ।
कति सम्म आवेदन दिन उपयुक्त?
विहिबारको शेयर कारोबार हेर्दा कम्पनीको बजार भाउ १ हजार ३ सय रुपैयाँ छ। एक वर्षको अवधीलार्इ हेर्ने हो भने संस्थाको कारोबार अधिकतम ३ हजार ४ सय ५५ रुपैयाँ तथा न्यूनतम ३ सय ३४ रुपैयाँमा कारोबार भएको देखिन्छ।
संस्थाको बजार भाउ ३४ सय भन्दा माथि पुग्नुको कारण दुर्इ सय प्रतिशत हकप्रद हो। हकप्रद निष्कासनपछि संस्थाको बजार भाउ ३ सय ३४ रुपैयाँमा झरेको थियो। संस्थाको गत आर्थिक वर्षको वित्तीय विवरण हेर्दा ११ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी छ भने जगेडा कोषमा दुर्इ करोड ७८ लाख रुपैयाँ जम्मा भएको छ। नाफा एक करोड ९६ लाख रुपैयाँ छ। संस्थाको प्रतिशेयर आम्दानी १७ रुपैयाँ छ।
हाल निष्कासन गरेको ५० प्रतिशत हकप्रद बिक्रीपछि चुक्ता पूँजी ३४ करोड ५० लाख रुपैयाँ पुग्ने छ। पूँजी बढाएसँगै कम्पनीले यस भन्दा अगाडी दुर्इ वर्षमा दिदै आएको १३.६८ र १५.७९ प्रतिशत लाभांशलार्इ निरन्तरता दिन थप नाफा आर्जन गर्नु पर्ने हुन्छ। दशै पछिको बजार लगातार ओरालो लाग्दा पनि कम्पनीको शेयर कारोबार १२ देखि १३ सय रुपैयाँ बीचमा टिकेको छ। एक वर्षको अवधीमा दुर्इ लाख २० हजार कित्ताको कारोबार हुँदा ५४ करोड २२ लाख रुपैयाँको करोबार भएको छ भने एभरेज प्राइस १ हजार ८ सय ५५ रुपैयाँ छ।
संस्थाले गत ८ गतेको साधारणसभाबाट १३ प्रतिशत बोनस शेयर तथा बोनस शेयरपछि कायम हुने शेयर पूँजीमा पुनः ६० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ। यसैको आधारमा अहिले लिलामबाट प्राप्त गर्ने शेयरधनीले थप प्रतिफल पाउन सक्ने हुँदा हाल रहेकै बजार भाउ भन्दा तल शेयर पाउन सक्ने देखिदैन। संस्थाको कारोबार बुलिष्ट ट्रेन्डमा रहेको हुँदा आवेदन दिने दिन सम्ममा संस्थाको बजार भाउ अझ धेरै उकालो लाग्न सक्छ। हालको बजार भाउ १ हजार ३ सय भन्दा माथि आवेदन हाल्ने शेयरधनीले मात्र बोलकबोल सकार्न सक्छन्।