सर्वोच्चको कारवाही छल्न एक महिना विदेश बसेका लोकमानसिंह कार्की फर्किए

बिजमाण्डू
२०७३ कात्तिक ३ गते २०:५७ | Oct 19, 2016
काठमाडौ। सर्वोच्च अदालतले आफ्नो योग्यता सम्बन्धी मुद्दा पुनरावलोकनको लागि निस्सा दिए पछि सम्भावित कारवाही छल्न बिदेश गएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की बुधबार साँझ स्वदेश फर्किएका छन्।
 
भदौ ३१ मा अदालतले पुनरावलोकनको आदेश दिए पछि तामेलीको म्याद जारी गर्न अगावै हतार हतार असोज ३ मा कार्की क्यानडा गएका थिए। अन्तर्राष्ट्रिय सम्मेलनका लागि भन्दै १० दिनको बिदा लिएर गएका कार्की एक महिना पछि फर्केका हुन्।
 
सम्मेलनका लागि क्यानडा गएको भने पनि उनले त्यहाँका दुई जना अधिकारीसँग भेट गरेको विवरण मात्र ट्विटरमा अपडेट गरेका थिए। आफ्ना हरेक गतिविधी सामाजिक सञ्जालमा राख्ने कार्कीले कुनै सम्मेलन वा समारोहमा भाग लिएको जानकारी भने राखेका थिएनन्।

Tata
GBIME
Nepal Life


 

अदालतले उनको घर भएको काठमाडौँ महानगरपालीका वडा नम्बर १० का सचिवको रोहवरमा म्याद तामेली गरेपछि उनी फर्किएका हुन्। क्यानडाबाट केहि समय देखि उनी दुबइ आएर बसेका थिए।
 
बुधबार साँझ आठ बजे इत्तेहाद एयरवेजको उडानमा उनी काठमाडौँ ओर्लिएका हुन्।
 
उनी त्रिभुवन विमानस्थलको विशिष्ठ कक्षबाट वाहिरिएका थिए। कार्की आउने बारे त्रिभुवन विमानस्थल प्रशासनले गोप्य राखेको थियो भने भिआईपी कक्ष समेत बन्द राखेको थियो।
 
इतेहाद एयरवेज अवतरणपछि एकाएक भिआईपी कक्ष खोलिएको थियो। भिआईपी कक्षहुँदै आएका कार्कीको अनुहार मलिन थियो। कार्की श्रीमती सहित फर्केका हुन्।

घ्यु रङ्गको इस्टकोट लगाएर बिना टोपी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआइपी कक्षबाट बाहिरिएका कार्कीलाई बाहिर दर्जनौँ सञ्चारकर्मीहरुले पर्खिरहेका थिए। तर उनले धन्यवाद बाहेक थप केही प्रतिक्रिया दिएनन्, आफ्नो गाडीमा चढी हुँइकिहाले। 
 
उनलाई लिन उनी नियमित चढ्ने अख्तियारको गाडी गएको थियो। उनको पछुवा हिँड्ने नेपाल प्रहरीको गाडी पनि साथै थियो। 

महाभियोग प्रकृया सुरु
अदालतले तीन दिन अघि म्याद तामेल गरेका कार्की बिरुद्ध संसदले आजै महा अभियोग प्रकृया समेत सुरु गरेको छ।
 
संसदको कार्य व्यवस्था समितिको वैठकले आजै महाअभियोग सिफारिस समिति गठन गरेको छ भने संसदका एक चौथाइ सांसदले महा अभियोग समेत दर्ता गराएका छन्।
 
अख्तियारमा नियुक्त भएपछि लगातार विवादित काम गर्दै आएका कार्कीले पछिल्लो समय अदालतलाई गम्भिर उपेक्षा गरेका थिए। अदातलको म्याद छल्न विदे गएका कार्कीले उनको घरमा तामेलीका लागि पुगेको सर्वोच्चको टोलीलाई समेत बाहुवली प्रयोग गरि अवरोध गरेका थिए।
 
भदौ ३१मा सर्वोच्चले लोकमानको मुद्दामा पुनरावलोकनको निस्सा प्रदान गरेको दुई घण्टा पछि माओवादी लडाकुको नाममा जाने भत्तामा भएको अनियमितता छानविन सुरु गर्ने भन्दै पत्रकार सम्मेलन गराएका कार्की त्यसपछि अख्तियारमा उपस्थित भएका छैनन्। छानविन प्रकृया पनि अघि बढेको छैन।
 
उनका यिनै विवादास्पद हर्कत माथि प्रश्न उठाएर १५७ जना सांसदले महाअभियोग दर्ता गराएका हुन्।
 
साँझ पाँच बजे संसद सचिवालयमा दर्ता भएको प्रस्तावमा एमाले र माओवादी केन्द्रका सांसदको हस्ताक्षर छ। एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, माओवादी नेता एवं उर्जामन्त्री जनार्दन शर्मा लगायतले प्रस्तावमा हस्ताक्षर गरेका छन्।
 
सर्वोच्चको पुनरावलोकनको आदेशसँगै कुर्सी हल्लिन थालेका लोकमानलाई संसदमा दर्ता भएको महाभियोग प्रस्तावले अझै अप्ठेरोमा पारिदिएको छ।