
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्ड (सेबोन)का तत्कालीन अध्यक्ष रमेशकुमार हमालले आइपीओ अनुमति दिंदा अनियमितता गरेको निष्कर्षसहित मुद्दा चलाउने अन्तिम तयारी गरेको छ।
अख्तियार उच्च स्रोतका अनुसार आइपीओ अनुमति दिंदा लेनदेन भएको निष्कर्षसहित मुद्दा दायर गर्ने प्रक्रिया अगाडि बढाइएको छ। खासगरी बुक बिल्डिङ र प्रिमियम मूल्यमा आइपीओ अनुमति दिंदा ठूलो लेनदेन भएको देखिएकाले मुद्दा दायर गर्न लागिएको हो।
स्रोतका अनुसार, अख्तियारका एकजना आयुक्तका कारण मुद्दा दायर गर्ने प्रक्रियामा ढिलाई भएको छ। ‘मुद्दा केही दिनअघि नै दर्ता हुनुपर्ने थियो। तर, एकजना आयुक्तले हमाललाई जोगाउनका लागि प्रक्रियागत ढिलासुस्ती गर्न लगाएका छन्,’ अख्तियारका एक कर्मचारीले बिजमाण्डूसँग भने।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली र निर्देशिका संशोधन गरेर जथाभावीरुपमा प्रिमियममा सेयर जारी गर्न दिएको विषयमा अनुसन्धान केन्द्रित गरिएको थियो।
‘हामीले तत्कालीन अध्यक्ष हमालको समयमा विभिन्न कम्पनीको आइपीओ र प्रिमियममा सेयर जारी गर्न दिएका बारेमा अनुसन्धान गर्दा पैसाको ठूलै चलखेल भएको देखियो,’ स्रोतले भन्यो, ‘नेगेटिभ नेटवर्थ भएका कम्पनीलाई सेयर जारी गर्न दिएर सर्वसाधारणलाई हानी नोक्सानी पुर्याउने काम भएको छ।’
स्रोतका अनुसार हमालविरुद्ध आइपीओ अनुमतिमा अनियमितता र अकुत सम्पत्ति आर्जनका दुईवटा मुद्दा दायर गर्न लागिएको छ।
सार्वजनिक लेखा समितिले २०८० पुस १२ गते घाटामा रहेको कम्पनीलाई प्रिमियममा सेयर जारी गर्न दिएकोबारे आवश्यक छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो।
समितिले कमजोर कम्पनीलाई सेयर जारी गर्न अनुमति दिएर अकुत सम्पत्ति आर्जन गरेकोबारे छानबिनका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई समेत निर्देशन दिएको थियो।
स्रोतका अनुसार आइपीओ जारी गरेका कम्पनी र हमालको निजी कम्पनीबीच भएको कारोबारको समेत नजिकबाट अनुसन्धान गरिएको छ।
‘आइपीओको अनुमति लिन पुगेका कम्पनीसँग करोडौं मागेको उजुरी आएका थिए। फाइल पुगेपछि हमालले बिचौलियामार्फत पैसा मागेको समेत जानकारी आएका थिए,’ स्रोतले भन्यो, ‘त्यो बेलाको उजुरी लगायत सबै पक्षलाई हेरेर हामीले अनुसन्धान अगाडि बढाएका थियौं। त्यसमा कनेक्सनहरु देखिएका छन्।’
स्रोतका अनुसार निजी क्षेत्रसँग भएको पैसाको कारोबार भएकाले केही कठिनाई भएको थियो। ‘हमाल बोर्डमा आएपछि उनीसँग जोडिएका व्यक्ति र कम्पनीको कारोबार अनुसन्धानका क्रममा हेरेका थियौं,’ स्रोतले भन्यो।
हमालको कार्यकाल २०८० पुस तेस्रो साता सकिएको थियो।
हमालकोजस्तै ‘केस’ सन्तोषनारायणको
आइपीओ अनुमतिका लागि सेबोनमा पुगेका विभिन्न कम्पनीका प्रतिनिधिसँग हमालका पालामा बिचौलिया खटाएर कमिसन मागिएको थियो।
बिचौलियाहरुले आइपीओ र ऋणपत्र निष्कासनको अनुमतिका लागि करोडौं रुपैयाँ मागेका थिए। चर्चित उद्यमीहरुले नै आइपीओका लागि पैसाको बार्गेनिङ गरेका थिए।
ऊर्जा उद्यमीहरुका अनुसार हमालको पालामा कमिसन माग्ने समूहले नै अहिले आइपीओ अनुमतिमा बिचौलियाका रुपमा पैसाको बार्गेनिङ गरेका हुन्।
‘हमालको ठाउँमा सन्तोषनाराण आए। आइपीओका लागि कमिसन माग्ने व्यक्ति फेरिएनन्,’ ती उद्यमीले भने, ‘अख्तियारमा समेत योबारेमा जानकारी भइसकेको छ।’
स्रोतका अनुसार अख्तियारमा पुगेको अडियोबाट समेत पुरानै समूह सक्रिय रहेको पुष्टि भइसकेको छ।
‘हमालको पालामा र सन्तोषनारायणको पालामा एउटै समूहका व्यक्तिले बार्गेनिङ गरेको देखिएको छ। पैसा पनि पहिलाकोजस्तै प्रतिशतकै आधारमा माग्ने गरिएको छ,’ स्रोतले भन्यो।
हमाल र सन्तोषनारायणलाई सेबोनको नेतृत्वमा ल्याउन सबै बन्दोबस्त मिलाउने इन्फिनिटी होल्डिङ र शंकर समूह हुन्।
हमालको पालामा आइपीओ अनुमतिका लागि व्यवसायीबाहेक एकाउन्टेन्ट नवीन थामीले समेत बार्गेनिङ गरेका थिए। बार्गेनिङको समाचार एक्सपोज भएपछि थामीलाई मात्र ‘भिक्टिमाइज’ गर्ने नीति लिएर यो विषय ओझेलमा पार्न खोजिएको थियो।
स्रोतका अनुसार समाचार आएको केही महिनापछि हमाल र उनलाई अध्यक्षमा ल्याउने समूहबीच विवाद भयो। विवादको चुरो नै आइपीओमा कमिसनको लेनदेन थियो। ‘पैसाको लेनदेनकै कारण हमाल र त्यो समूहबीच चर्को विवाद भएको हो,’ स्रोतले भन्यो, ‘हमालले आफूलाई ल्याउने समूहमाथि पैसा उठाएर बदनाम गरेको आरोप लगाए।’
त्यो समूहले भने आफूलाई हमालले पैसा उठाएर बदनाम गरेको बताउने गरेको थियो।
विवादकै बीच हमालले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग निकट सम्बन्ध बनाउँदै केही कम्पनीको आइपीओ स्वीकृत गरेका थिए।