लण्डनका लागि उडेको २४२ यात्रु सवार एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

बिजमाण्डू
२०८२ जेठ २९ गते १४:५९ | Jun 12, 2025
लण्डनका लागि उडेको २४२ यात्रु सवार एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

काठमाडौं। अहमदाबादबाट लण्डन उडान गरेको भारतीय ध्वजावाहक वायुसेवा एयर इण्डियाको जहाज  दुर्घटनामा परेको छ।बिहीबार सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गरेको केही क्षणमै कम्पनीको जहाज मेघानी क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

Tata
GBIME

कम्पनीको बोइङ ७८७ (ड्रिमलाइनर)ले उडान गरेको जहाजमा सवार यात्रुको तत्कालिन अवस्थाबारे विवरण भने आउन बाँकी नै छ। भारतीय सञ्चार माध्यम द टाइम्स अफ इण्डियाले तयार पारेको विवरण अनुसार ३०० सिट क्षमताको जहाजमा कुल २४२ जना सवार छन्।

यतिखेर दुर्घटनास्थलमा फायर इन्जिन र एम्बुलेन्स परिचालन भइसकेको छ। दुर्घटनाको आधिकारिक विवरण भने आउन बाँकी नै छ।

भारतका नागरिक उड्डयनमन्त्री राममोहन नायडुले सामाजिक सञ्जाल ‘एक्स’ मा यतिखेर भारत सरकार हाइअलर्ट अवस्थामा रहेको बताएका छन्। ‘मैले यो दुर्घटनालाई व्यक्तिगत रुपमा अनुगमन गरिरहेको छु। अहिले दुर्घटनास्थलमा आकस्मिक उद्धार सेवा संयन्त्र परिचालन भइसकेको छ,’ उनले भनेका छन्।

अपडेट :

एयर इण्डियाले आफ्नो आधिकारिक विज्ञप्तिमा जनाए अनुसार उक्त जहाज लण्डनको गेटविकतर्फ जाने तालिका थियो।
नेपालबाट पनि एयर इण्डियाले लण्डनतर्फ कनेक्टिङ फ्लाइट गर्दै आएको छ। नेपालस्थित एयर इण्डियाको कार्यालका एक कर्मचारी अनुसार नेपाल-अहमदाबाद-लण्डनतर्फ कनेक्टिङ फ्लाइट मार्फत उडान गर्ने नेपालीको संख्या कम छ। उनका अनुसार अधिकांश नेपालीले काठमाडौं-दिल्ली हुँदै लण्डन तर्फको हवाई सेवा लिँदै आएका छन्।

नेपालमा एयर इण्डियाले दैनिक ५ वटा नियमित व्यावसायिक उडान गर्दै आएको छ। कम्पनीले नेपालतर्फको उडानमा एयरबस कम्पनीको ए-३२० (न्यारोबडी) जहाजमार्फत नियमित उडान गर्दै आएको छ। बोइङको ड्रिमलाइनरले भने नेपालतर्फ उडान गर्ने गरेको छैन।

जहाज टेक अफ लगत्तै पाइलटले गरेका थिए ‘मे डे’ कल
एयर इन्डियाको उक्त जहाजले विमानस्थलबाट टेकअफ गरेलगत्तै पाइलटले एयर ट्राफिक कन्ट्रोलर अफिसलाई ‘मे डे’ कल गरेको जनाइएको छ। यसपछि पाइलटबाट कुनै सञ्चार नभएको जनाइएको छ। एजेन्सीले तयार पारेको विवरण अनुसार जहाज टेकअफ भएको ५ मिनेटमै पाइलटले ‘मे डे’ कल गरेका थिए।

‘मे डे’ अर्थात आपतकालीन सहयोग माग। यस प्रकारको सहयोग जहाजमा कुनै समस्या आए अन्तिम चरणमा माग्ने गरिन्छ। जहाजमा २३० यात्रु, २ पाइलट र १० क्याबिन क्युको टोली सवार थियो।