काठमाडौं। बुक बिल्डिङमा सेयर निष्कासन अनुमति दिनु पूर्व आफ्नी छोरीका नाममा ‘गोल्डेन सेयर’ लिएको खुलेपछि २०७८ असोज तेस्रो साता नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गर्ने निर्णय गर्यो।
चरम बेथितिको चाङ लागेको संस्थामा निजी क्षेत्रमा लामो समय काम गरेको तथा देश/विदेशमा अध्ययन गरेको ‘प्रोफेसनल’ मान्छेलाई नियुक्त गर्नुपर्ने आवाज उठेको थियो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा अध्यक्ष छान्ने समिति बन्यो। समितिले लामो छलफल, अन्तर्क्रिया, व्यवसायिक योजनाका आधारमा तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।
तीन जनामध्येबाट सरकारले रमेशकुमार हमाललाई बाँकी कार्यकाल अर्थात २ वर्षका लागि बोर्डको नेतृत्व जिम्मा दियो। सिफारिसको सूचीमा हमाल तीन नम्बरमा थिए।
हमाल आएपछि बोर्डका बेथिति-बिसंगति हट्छ भन्ने अनुमान थियो। उनले सुरुवातमा कर्मचारीको तलब वृद्धि गरेर मनोबल बलियो बनाउने प्रयास पनि गरे। केही नयाँ काम थाल्ने योजना सुनाए भने केही पुरानो कामको निरन्तरता दिने छनक देखाए।
सी आश्वा शुल्क घटाए भने, सेयर कारोबार रोक्का हुने समय पनि कम गरे।
हमालले जसरी बोर्डमा नियुक्ति लिएर सुधारको काम थाल्छन् भन्ने थियो, त्यो लामो समय भने टिकाउन सकेनन्। एउटा व्यवसायिक घरानाको आशिर्वादमा नियुक्ति पाएको आरोप लागिरहेका बेला उनले बोर्डमा आइपीओ, बुक बिल्डिङ, ऋणपत्र निष्काशनको अनुमति माग्दा करोडौं माग्ने गरेको खुलेको छ।
मंसिर ४ को चुनावअघि एउटा कम्पनीको बुक बिल्डिङमार्फत सेयर निष्काशन अनुमतिको फाइल बोर्डमा पुगेको थियो। बोर्डमा पुग्नेबित्तिकै अध्यक्ष हमालको टीम सक्रिय भयो।
सुरुवातमा सेयर निष्कासन अनुमतिका लागि डेढ करोड रुपैयाँ दिनुपर्ने सर्त अगाडि सारियो। यो सर्तपछि कम्पनीका संचालकहरुले आपसी छलफल गरे।
र, आइपीओ माग गर्दै गएका अरु कम्पनीसँग पनि परामर्श गर्दा निश्चित रकम नबुझाइ अनुमति नपाएको जानकारी पाए। त्यसपछि आफ्नै कम्पनीमार्फत रकम दिँदा विवादमा परिने भएकाले संचालकको नजिकको व्यक्तिमार्फत पहिलो किस्ता रकम दिए। त्यो किस्ता दिँदा ‘निश्चित सम्झौतापत्र’ नै भएको थियो।
सम्झौता अनुसार पहिलो किस्ता हमाल नजिकका व्यक्तिको खातामा रकम हस्तान्तरण पनि भयो। दोस्रो किस्ता बापतको रकम पनि हालेपछि भने अचानक त्यो कम्पनीसँग १५ करोड रुपैयाँ मागियो।
१५ करोड माग्दा भने नेपालका चर्चित व्यापारीको प्रवेश भएको थियो। जब ती व्यापारीले कम्पनीसँग १५ करोड रुपैयाँ मागियो, त्यसपछि दोस्रो किस्ता बापतको चेक रद्द गर्न खाता जिरो बनाएर कम्पनीले आइपीओ ननिकाल्ने निर्णय गर्यो। कम्पनीले नयाँ सरकार आएपछि ‘डिल’ गर्ने भनेर आफूले दिएको पैसा फिर्ता माग्यो।
यसरी मागिएको पैसा अर्थमन्त्रीलाई पनि पुर्याउनु पर्ने तर्क अगाडि सारिएको थियो। जबकि बुक बिल्डिङको प्रक्रिया बोर्डबाटै टुंगिन्छ।
त्यो कम्पनीमात्रै होइन एउटा बैंकको ऋणपत्र निष्काशनको बिक्री प्रबन्धकले अनुमति माग्दै बोर्डमा आवेदन दियो।
आवेदन दिनेबित्तिकै हमालकै बिचौलियाले अनुमतिका लागि एक करोड रुपैयाँ मागे। ती बिचौलियाले मर्चेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतलाई मोबाइलमा टेक्स्ट गरेर पैसा मागेका थिए। मर्चेन्ट बैंकले त्यति ठूलो रकम दिन नसक्ने बताएपछि एकाएक बिचौलियाले ४० लाख रुपैयाँ भएपनि हुने भन्दै अर्को म्यासेज पठाएका थिए।
स्रोतका अनुसार अहिले बोर्डमा अनुमति माग्दै पुगेका अधिकांशसँग पैसाको मोलमोलाइ हुन्छ। केही इन्स्योरेन्स कम्पनीले प्रिमियममा सेयर जारी गर्न प्रस्ताव गरेका छन्। ती कम्पनीसँग पनि करोडौं रुपैयाँ रकम मागिएको छ।
‘आवेदन मागिएको प्रत्येकसँग रकम मागिएको छ। कुनै फाइल पुग्ने बित्तिकै बिचौलियाले पैसाको लागि फोन र टेक्स्ट पठाउन थालिहाल्छन्,’ बोर्डमा आइपीओ निष्काशनका लागि अनुमति मागेका एक कम्पनीका संचालकले भने, ‘ढुंगानाका पालामा एक/डेढ लाखबाट सुरु भएको थियो। अहिले करोडौंमा बार्गेनिङ हुन थालेको छ।’
यसबीचमा हमालले बजारको सुदृढीकरणका लागि भन्दै कमोडिटी एक्सचेञ्ज, अर्को स्टक एक्सचेञ्ज र ब्रोकरको लाइसेन्स खुलाएका छन्। यी सबै सुधारका काम अन्तर्गतका हुन्। सर्वसाधारणमा सेयर बजारमा सीमित ब्रोकर र एक्सचेञ्ज हुँदा सिन्डिकेटजस्तो भएको भन्दै ‘फ्री इन्ट्री र फ्री एक्जिट’ दिने भनेर स्थापित गर्न खोजियो, जसलाई बजारले सकारात्मक रुपमा लियो पनि।
तर, खेल यसमै सुरु भयो। स्टक एक्सचेञ्जको लाइसेन्सका लागि एउटा व्यवसायी घरानाले लगानीकर्ता खोज्ने जिम्मा लियो। प्रति सेयर १०० रुपैयाँको सेयरलाई ३०० रुपैयाँ पर्ने भनेर पैसा उठाउने प्रयास गर्यो। यहीबीचमा अदालतमा मुद्दा पर्यो।
हमालले खटाएका बिचौलियाले केही व्यवसायीहरुसँग ३०० रुपैयाँको सेयरलाई विस्तारै घटाएर १५० सम्म पुर्यायो। ब्रोकर कम्पनीका लागि पनि १५० रुपैयाँका दरले मोलमोलाइ सुरु गरियो। १०० रुपैयाँको सेयरलाई किन बढी हाल्ने भनेर प्रश्न गर्दा हमालका बिचौलियाले- अर्थमन्त्री र राजनीतिक दललाई पनि त भाग चाहियो नि भनेर उत्तर दिने गरेका थिए।
अहिले पनि हमालका बिचौलिया ‘काम चाहियो’ भन्दै व्यवसायीहरुलाई भेटिरहेका छन्।
‘अदालतमा मुद्दा टुंगिन्छ त्यही भएर सबै कम्पनी आउँछन् भन्दै इच्छुकहरुसँग पैसाको मोलमोलाइ गरिन थालेको छ,’ स्रोतले बिजमाण्डूसँग भन्यो, ‘ती बिचौलियाहरु अहिले खुलमखुला रुपमा हिँडिरहेका छन्। तपाईहरु पनि लगानी गर्न चाहनु हुन्छ भने भेटाउन सकिन्छ।’
हमालका बिचौलिया
हमालले पैसा उठाउन दुई जना बिचौलिया प्रयोग गरेका छन्। रजत अग्रवाल र नवीन थामीले आवेदन दिने कम्पनीसँग बिचौलियाको काम गर्दै पैसा उठाइरहेका छन्। थामी हमालकै कम्पनीको एकाउन्टेन्ट हुन्। अग्रवाल भने पर्दा व्यापारी हुन्।
‘पछिल्ला दिनका अधिकांश साधारण सेयर निष्कासनमा पनि आर्थिक लाभ उठाउन यी दुई व्यक्ति नै सक्रिय छ,’ स्रोतको दाबी छ, ‘भेन्चर क्यापिटलको लाइसेन्समा समेत आर्थिक लाभ गरेको प्रमाण पुगेको छ।’ ब्रोकर लाइसेन्सका लागि पनि ती व्यक्ति नै परिचालन भएका छन्।
पैसा बुझाएर मात्र बोर्डबाट काम हुने अवस्था आएपछि पीडितहरु नै अर्थमन्त्री विष्णु पौडेलसम्म गुनासो गर्न पुगेका छन्। यही उजुरीको चाङका कारण अर्थमन्त्री पौडेलले हमाललाई औपचारिक भेट दिएका छैनन्।