
काठमाडौं। चीनमा विद्युतीय गाडी (इभी) बिक्रीका लागि कटथ्रोट प्रतिस्पर्धा झनै तीव्र भएको छ।
बीबीसीका अनुसार पछिल्लो समय ब्याट्री र अन्य कच्चा पदार्थको मूल्य सस्तो हुँदै जाँदा इभी उत्पादनको लागत घट्दै गएका कारण चिनियाँ बजारमा इभीको मूल्य कटौतीमा प्रतिस्पर्धा हुन थालेको हो।
बीवाइडीको डल्फिन सर्फ अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएको छ। यसको मूल्य बेलायतमा १८ हजार पाउन्ड पर्छ। यस्तै बीवाइडीको सिगल गाडीको मूल्य ८ हजार डलर मात्रै छ।
यी गाडीसँग प्रतिस्पर्धा गर्न अन्य ब्रान्डहरुलाई आफ्ना उत्पादनको मूल्य कटौती गर्नैपर्ने बाध्यता बनेको छ। एक्सपेङको मोना गाडीको मूल्य सुरुवाती दिनको तुलनामा १४ प्रतिशत कम भएको छ। नयाँ मोनाको मूल्य १८ हजार डलर छ। यो गाडीको मूल्य सुरुवाती दिनमा २१ हजार डलर तोकिएको थियो।
इभीको बढ्दो बजारमा आफ्नो स्थान बनाउन धेरै ब्रान्डले प्रतिस्पर्धा गरिरहेका छन्। यो प्रतिस्पर्धाले चिनियाँ कम्पनीलाई देश बाहिर बजार खोजी गर्न पनि प्रेरित गरेको छ।
चीन सन् २००१ मा विश्व व्यापार संगठनमा सामेल भएदेखि त्यहाँ कार उद्योगले गति लिएकामा २०१५ पछि अझ फडको मार्यो। कम्युनिस्ट पार्टीले ‘मेड इन चाइना’को नारासहित १० वर्षे योजना अगाडि सारेर इभी लगायत उच्च-प्रविधि उद्योगलाई अग्रणी बनाउने लक्ष्य लिएकामा त्यसको परिणाम अहिले देखिएको हो।

बीवाइडी जस्ता सुरुमा मोबाइल फोनका लागि ब्याट्री बनाउने कम्पनीहरुलाई तीव्र वृद्धिका लागि सरकारी योजनाले जग बसाल्न मद्दत गर्यो। एमजी र भोल्भोका चिनियाँ मूल कम्पनीहरु सायक र जीलीलाई ईभी बजारमा प्रमुख खेलाडी बन्न पनि सहयोग पुर्यायो।
‘चिनियाँ सामान्य कारहरुको स्तर वास्तवमै उच्च छ,’ इलेक्ट्रिक भेहिकल्स यूकेका प्रमुख कार्यकारी ड्यान सिजरले भनेका छन्, ‘चीनले कार उत्पादन गर्ने तरिका धेरै छिटो सिकेको छ।’
पूर्वी एसिया र दक्षिण अमेरिकामा बजार विस्तार गरे पनि चिनियाँ कम्पनीलाई युरोपेली बजारमा प्रवेश सहज भएन। युरोपेली देशले पेट्रोल र डिजेलका नयाँ मोडलका गाडीको बिक्री चरणबद्ध रूपमा बन्द नगर्दासम्म चिनियाँ कम्पनीले आफ्नो उपस्थितिका लागि कुर्नुपर्यो।
इलेक्ट्रिक कारमा ट्रान्जिसनले नयाँ खेलाडीका लागि ढोका खोलिदियो। ‘चिनियाँ ब्रान्डहरुले केही हदसम्म पकड जमाउने अवसर देखेका छन्,’ चिनियाँ कम्पनी चेरीका दुई सब-ब्रान्डहरु ओमोडा र जेकोका यूके उत्पादन प्रबन्धक ओलिभर लो भन्छन्।
चीनमा न्युन श्रम लागत, सरकारी अनुदान र राम्रोसँग स्थापित आपूर्ति श्रृंखलाले कम्पनीहरुलाई फाइदा पुर्याएको प्रतिस्पर्धीहरुको बुझाइ छ।
सन् २०२३ को अन्त्यमा प्रकाशित स्वीस बैंक यूबीएसको एक रिपोर्टमा बीवाइडी पश्चिमी प्रतिस्पर्धीहरुभन्दा २५ प्रतिशत सस्तोमा कार बनाउन सक्षम रहेको उल्लेख छ।
चिनियाँ कम्पनीहरु प्रतिस्पर्धाको मैदान असमान रहेको कुरा अस्वीकार गर्छन्। सन् २०२४ को पेरिस मोटर शोमा एक्सपेङका उपाध्यक्ष ब्रायन गुले बीबीसीलाई आफूहरुले विश्वको सबैभन्दा प्रतिस्पर्धी बजारमा कडा संघर्ष गरिरहेको बताएका थिए।
बीवाइडी अहिले सबैभन्दा ठूलो खेलाडी बनेको छ। यसले सन् २०२४ मा टेस्लालाई पछि पार्दै विश्वमा सबैभन्दा धेरै विद्युतीय गाडी बेच्ने कम्पनी बनेको थियो।
दुई वर्षअघि युरोपेली बजारमा प्रवेश गरेदेखि बीवाइडीले आक्रामक रूपमा बजार विस्तार गरिरहेको छ। ‘हामी १० वर्षभित्र बेलायती बजारमा नम्बर एक बन्न चाहन्छौं,’ बीवाइडी यूकेका बिक्री तथा मार्केटिङ निर्देशक स्टीभ बेट्टीले बीबीसीसँग भनेका छन्।

बीवाइडीले विश्वव्यापी मोटर उद्योगको स्वरूप परिवर्तन गर्न सक्छ भन्ने कतिपयको विश्वास छ। जसले अमेरिकी सरकार र युरोपेली संघबाट करका उच्च दरको सामना गरिरहेको छ।
यसको अर्थ एक समय अज्ञात रहेका निओ, एक्सपेङ, जिकर वा ओमोडा जस्ता ब्रान्डहरु फोर्ड वा फक्सवागन जस्तै होम ग्राउन्डमा परिचित बन्न सक्छन्। उनीहरु एमजी, भोल्भो र लोटस जस्ता क्लासिकल ब्रान्डसँग सामेल हुनेछन्, जुन धेरै वर्षदेखि चिनियाँ स्वामित्वमा छन्।
अहिले बजारमा उपलब्ध उत्पादनहरुमा बीवाइडीको सानो डल्फिन सर्फ जस्ता सिटी कारदेखि हाइ इन्ड याङ्गवाङ्ग जस्ता सुपरकारको विशाल श्रृंखला समावेश छ। ‘चिनियाँ ब्रान्डहरूले युरोपेली बजारमा ठूलो प्रगति गरिरहेका छन्,’ बर्मिङ्घम बिजनेस स्कूलका व्यापार र अर्थशास्त्रका प्रोफेसर डेभिड बेली भन्छन्।
परामर्शदाता रो मोसनका अनुसार सन् २०२४ मा विश्वभर ब्याट्री र प्लग-इन हाइब्रिड कार १७ मिलियन बिक्री भएका थिए जसमध्ये ११ मिलियन चीनमा बिकेका थिए।
सरकारी नीतिको असर
मूल्य घटाउने होडबीच चीनमा सवारीसाधनको बिक्री मे महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। सरकारले नयाँ सवारी किन्नेलाई प्रोत्साहन गर्न ल्याएको योजना प्रभावकारी बनेपछि बिक्रीमा यस्तो सुधार देखिएको हो।
गत मे महिनामा करिब १९ लाख ३० हजारभन्दा बढी सवारी बिक्री भएका छन्। जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १३ प्रतिशतले बढी हो।
चीन सरकारले पुराना सवारी फेरेर नयाँ सवारी खरिद गर्न चाहने व्यक्तिहरूलाई सहयोगस्वरूप विशेष छुट प्रदान गर्दै आएको छ। यो कार्यक्रमलाई यस वर्ष अझ विस्तार गरिएको छ। जसले उपभोक्तालाई थप सहजता प्रदान गरेको छ।
यो योजनामार्फत मात्र यो वर्षको पहिलो पाँच महिनामा ४१ लाखभन्दा बढी नयाँ सवारी बिक्री भइसकेको छ। बिजुलीबाट चल्ने सवारीसाधन (इभी) को उत्पादन र बिक्री दुवैमा पनि उल्लेखनीय वृद्धि देखिएको छ।
मे महिनामा करिब ११ लाख ७० हजार इभी उत्पादन हुँदा १० लाख २० हजारभन्दा बढी बिक्री भएका छन्।
साथै, यो वर्षको पहिलो पाँच महिनामा मात्रै झण्डै ८८ लाख सवारी बिक्री भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब ९ प्रतिशतले बढी हो।