जितको मुखैमा पुगेर नेपाल पराजित, सकियो सुपर-८ को सम्भावना

मुकुन्द घिमिरे
२०८१ असार १ गते ०८:५२ | Jun 15, 2024
जितको मुखैमा पुगेर नेपाल पराजित, सकियो सुपर-८ को सम्भावना
तस्बिर: आईसीसी गिट्टी इमेजेज

काठमाडौं। नेपाली क्रिकेट टोलीले टेस्ट टोली दक्षिण अफ्रिकासँग पराजित भएको छ। आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘डी’ को आज सम्पन्न खेलमा नेपालले दक्षिण अफ्रिकासँग १ रनको हार ब्यहोरेको हो।

Tata
GBIME

सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल ग्राउण्डमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए।

सुरुवाती ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको नेपाल ७ विकेट गुमाएर ११४ रनमा समेटियो। १७.३ ओभरमा ९९-५ को सहज अवस्थामा रहेको नेपाल त्यसपछि २१ रन बनाउन असफल हुँदा जितको मुखैमा पुगेर हार ब्यहोरेको हो।

यो हारसँगै नेपालको सुपर-८ पुग्ने सम्भावना सकिएको छ। अब, समूह ‘डी’ बाट बंगलादेश र नेदरल्याण्ड्स सुपर-८ को होडमा छन्। अपराजित दक्षिण अफ्रिका भने यसअघि नै सुपर-८ पुगिसकेको थियो।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेखले ७.२ ओभरमा पहिलो विकेटका लागि ३५ रनको साझेदारी गर्दै टोलीलाई मोमेन्टम दिलाएका थिए। स्पीनर प्रभावकारी रहेको आजको मैदानमा पहिलो विकेटका रुपमा  भुर्तेल दक्षिण अफ्रिकी टोलीमा स्पीनर तब्राइज शाम्सीको बलमा १३ रन बनाएर बोल्ड आउट भए। उच्च लयमा रहेका नेपाली कप्तान रोहितकुमार पौडेल ठूलो सर्ट खेल्ने सुरमा शाम्सीकै बलमा बोल्डआउट हुन पुगे।

ओपनिङमा कुशल भुर्तेल र आशिफ शेख। तस्बिर: आईसीसी/ गेट्टी इमेजेज

नेपालको स्कोर उकास्न आशिफ शेखलाई फेरि साथ दिए अनिलकुमार साहले। यी दुईले ३६ बलमा ५० रनको साझेदारी गर्दा १३.४ ओभरमा नेपाल ८५-३ को सहज अवस्थामा आइपुगेको थियो। अनिलले २४ बलमा ३ चौका र १ छक्काको सहायतामा २७ रन बनाए। उनी ऐडन मार्क्रमको बलमा मार्को जेनसनबाट क्याचआउट भए।

पाँचौ नम्बरमा आएका दीपेन्द्रसिंह ऐरीले ६ रन बनाउँदा कुशल मल्ल १ रन बनाएर पेभेलियन फर्किए। दवाबमा आएको नेपाललाई लक्ष्यसम्म पुग्नै सकेन। अन्तिम ओभरमा ८ रन चाहिएकोमा बार्टम्यानले कसिलो बलिङ गर्दै ६ रनमात्र दिए।

नेपाललाई लक्ष्यसम्म पुग्न नदिन दक्षिण अफ्रिकाका तबरेज शम्सीले ४ विकेट लिँदा एनरिच नोर्किया र ऐडन मार्क्रमले समान १ विकेट लिए।

ब्याटिङमा अनिलकुमार साह। तस्बिर: आईसीसी/ गेट्टी इमेजेज

दक्षिण अफ्रिकाको इनिङ्स

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले नेपाललाई १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टेस्ट टोली दक्षिण अफ्रिकालाई ठूलो स्कोरसम्म पुग्न नदिन नेपालका कुशल भुर्तेलले सर्वाधिक ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिँदा बाँकी बलरले पनि किफायती बलिङ गरे।

आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘डी’को खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका थिए।

सुरुवाती ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रनमा समेटियो।  

सुपर-८ मा पुग्नका लागि जित्नै पर्ने दवाबमा उत्रिएको नेपाललाई पहिलो सफलता दीपेन्द्रसिंह ऐरीले दिलाए। उनले १० रन बनाएका क्विन्टन डिककलाई आउट गराउँदै पहिलो सफलता हात पारेका थिए। त्यस्तै १५ रन बनाएका ऐडन मार्क्रमलाई कुशल भुर्तेलले बोल्ड आउट गराए। लगत्तै आएका हेनरिच क्लासन पनि भुर्तेलकै बलमा करण केसीले मुस्किलले क्याच गर्दा विकेट गुमाउन पुगे।

नेपालविरुद्ध ब्याटिङमा दक्षिण अफ्रिकाका डेभिड मिलर। तस्बिर: आईसीसी/गेट्टी इमेजेज

दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन बनाउने ब्याटर रहे रीजा हेन्ड्रिक्स। ४३ रन बनाएका उनलाई १५.३ ओभरमा दीपेन्द्र सिंह ऐरीले बल एण्ड क्याच गर्दै पेभेलियन फर्काए। जारी प्रतियोगितामा दक्षिण अफ्रिकाका लागि प्रभावशाली रहेका डेभिड मिलर नेपालविरुद्ध भने चल्न सकेनन्। ७ रन बनाएका उनी दीपेन्द्रसिंह ऐरीकै बलमा सन्दीप लामिछानेबाट क्याचआउट हुन पुगे।

अन्तिम ओभरमा कुशल भुर्तेलले थप दुई विकेट लिए। उनले १ रन बनाएका मार्को जेनसनलाई १९.५ ओभरमा अनिल साहबाट आउट गराउँदै लगत्तै अर्को बलमा कागिसो रबाडालाई डकआउट गराए।