नेपालमा कुनैपनि बेला उडान बन्द गर्ने चीनको पत्र, ‘व्यापार र लगानी नै प्रभावित हुनसक्छ’

वसन्तराज उप्रेती
२०८१ असार २ गते १९:०२ | Jun 16, 2024
नेपालमा कुनैपनि बेला उडान बन्द गर्ने चीनको पत्र, ‘व्यापार र लगानी नै प्रभावित हुनसक्छ’

काठमाडौं। उत्तरी छिमेकी चीनले हवाई टिकटमा भ्याटको व्यवस्था नहटाए नेपालमा उडान नै रोक्ने चेतावनी दिएको छ।

Tata
GBIME

हवाई टिकटमा भ्याट लगाइएकामा यसअघि नै असन्तुष्टि जनाइसकेको चीनले उडान नै बन्द गर्ने चेतावनीयुक्त पत्र पठाएको हो।

चीनले वायु सेवा प्रदायक कम्पनीबाट हवाई टिकटमा भ्याट लगाउने निर्णयलाई दोहोरो कर नलाग्ने भनेर यसअघि सरकारले गरेको सम्झौताविपरीत भनेको छ।

‘हामीले यसअघि नै नेपाल सरकारले लागू गरेको भ्याट तिर्न सक्दैनौं भनेका थियौं। भ्याट द्विक्षीय कर सम्झौता, हवाई सम्झौता र विद्यमान कानुनविपरीत छ भन्ने जानकारी गराइएको थियो,’ पत्रमा भनिएको छ, ‘तर, यस विषयमा सरकारले हामीलाई जवाफ नै दिएन। जसले गर्दा अब नेपालतर्फका उडान जतिखेर पनि बन्द हुने अवस्था सिर्जना भएको छ।’

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत हवाई टिकटमा भ्याट लगाएको हो। हवाई टिकटमा भ्याट कार्यान्वयन भने प्राविधिक विषय मिलाउन समय लागेकाले असोज १० देखि मात्र भएको थियो। त्यसयता सरकारले हवाई टिकटमा भ्याटबापत ७ अर्ब रुपैयाँभन्दा बढी उठाएको छ।

तर, चिनियाँ वायु सेवा प्रदायक कम्पनीले भने तिर्न मानेका छैनन्। चीनले हवाई टिकटमा भ्याट खारेज नगरे यसले दुई देशको व्यापार र लगानी नै प्रभावित हुने बताएको छ।

‘यसले दुवै मुलुकको अर्थतन्त्र व्यापार र लगानी प्रभावित हुने देखिएको छ। नेपालले हालै मात्र लगानी सम्मेलन गरेकामा भ्याटलाई निरन्तरता दिनु दु:खदायी छ। भ्याट कायम राखेर लगानी बढ्न सक्दैन,’ पत्रमा भनिएको छ।

चीनसँग नेपालले डबल ट्याक्सेसन अभोडेन्स एग्रिमेन्ट गरेको छ। जसमा चिनियाँ कम्पनीले नेपालमा भ्याट तिर्नु नपर्ने उल्लेख छ। चिनियाँ वायुसेवा कम्पनीले नेपालमा आयकर पनि तिर्ने गरेका छैनन्।

भ्याटका कारण आफ्ना कम्पनीको बैंक खाता नै फ्रिज हुने र कर्मचारीको भिसा नवीकरण नहुने कारण देखाउँदै चीनले उडान बन्द गर्ने चेतावनी दिएको हो।

‘हाम्रा वायु सेवा प्रदायक कम्पनीले राष्ट्र बैंकसँग विदेशी मुद्रा सटहीको सुविधा माग्दा भ्याटमा दर्ता भएको प्रमाणपत्र मागियो। भ्याटका कारण बैंक खाता नै फ्रिज हुने, व्यावसायिक कार्यालय बन्द हुने र कर्मचारीको भिसा नवीकरण नहुने जोखिम छ,’ दूतावासले पत्रमा भनेको छ, ‘यस्तो जोखिमको अवस्थामा उडान कुनैपनि बेला बन्द गर्नुपर्ने हुन्छ।’

चिनियाँ दूतावासले लगानी सम्मेलन भएको केही दिनमा गत वैशाख २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालय, गृह मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बोधार्थ दिइ परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो।

त्यो पत्रको जवाफ दिनुको साटो सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हवाई टिकटमा भ्याटलाई निरन्तरता दिएपछि चीन थप चिढिन पुगेको छ। नेपालमा उडान गर्दै आएका चिनियाँ वायु सेवा प्रदायक कम्पनीले गत शुक्रबार परराष्ट्र मन्त्रालय पुगेर दूतावासले लेखेकै पत्रको शैलीमा कुनै पनि बेला उडान बन्द गर्ने चेतावनी दिएका थिए।

त्यही कारण यस विषयमा परराष्ट्र मन्त्रालयले आइतबार छलफल गरेको छ। परराष्ट्रले अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिलाई बोलाएर छलफल गरेको हो। छलफलमा यो समस्या हल गर्नका लागि अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागलाई अध्ययन गर्न भनिएको छ।

चीनका विभिन्न ४ वटा वायु सेवा प्रदायक कम्पनीले विभिन्न गन्तव्यबाट काठमाडौंमा सातामा आधा दर्जनभन्दा बढी उडान गर्दै आएका छन्। एयर चाइना, चाइना साउदर्न, चाइना इस्टर्न र सिचुआन एयरले उडान बन्द गरे चिनियाँ पर्यटकको आगमन प्रभावित हुनेछ। नेपालमा यो वर्ष ५ महिनामा चीनबाट ५४ हजार ४१ पर्यटक आएको तथ्यांक छ।

त्यसो त हवाई टिकटमा भ्याटको हवटल व्यवसायीदेखि ट्राभल एजेन्सीसम्मले विरोध गर्दै आइरहेका छन्। हुन पनिभ्याटका कारण अनधिकृत कारोबार बढेको छ।

नेपालबाट समुद्रपारका मुलुक जाने यात्रुले ट्रान्जिट प्वाइन्टसम्मको मात्र टिकट काटिरहेका छन्। यात्रुले बाह्य मुलुकबाट टिकट काट्दा एकातिर पुँजी पदायन र अनधिकृत कारोबार बढेको छ भने अर्कातिर ट्राभल एजेन्सीको व्यवसायमा धक्का लाग्दा सरकारले राजस्व समेत गुमाइरहेको छ।