अमेरिकी डलरको मूल्यले एक सातामै तोड्यो रेकर्ड, एक डलरको १३४.१५ रुपैयाँ पुग्यो

बिजमाण्डू
२०८१ असार ७ गते ०६:२५ | Jun 21, 2024
अमेरिकी डलरको मूल्यले एक सातामै तोड्यो रेकर्ड, एक डलरको १३४.१५ रुपैयाँ पुग्यो
Photo : China Daily

काठमाडौं। अमेरिकी डलरको भाउ एक सातापछि आज फेरि उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको बिक्री दर १३४.१५ रुपैयाँ पुगेको छ।

Tata
GBIME

यसअघि गत साता एक अमेरिकी डलरको मूल्य १३४.०१ रुपैयाँ पुगेको थियो। आज एक अमेरिकी डलरको खरिद दर भने १३३.५५ रुपैयाँ छ।

भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो स्तरमा झरेको हो। नेपाली रुपैयाँ र भारतीय मुद्राबीच स्थिर विनिमय दर छ।

नेपाली १६० रुपैयाँ बराबर भारु १०० रुपैयाँ छ। यही कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि सस्तिन्छ। एक डलर बराबर ८३.६0 भारतीय रुपैयाँ तय भएको छ।

डलर बढ्दा के हुन्छ?

डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। नेपाल राष्ट्र बैंकको जेठसम्मको तथ्यांकअनुसार नेपालमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ।

डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। तर वस्तुको निर्यात सीमित भएकाले नेपालले विनिमय दरबाट हुने लाभ भने उठाउन गाह्रो छ।

वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।

नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्‍न पर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको आयात भएको छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।

बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। अहिले पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाउन सुरु गरिसकेको छ।

डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्यवृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ।

भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।

विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ। उत्पादित वस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ।

डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत बढी पैसा तिर्नुपर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।