धितोपत्र बोर्ड अध्यक्ष छनोटमा ‘सर्जिकल स्ट्राइक’, सर्टलिस्टमा परेका ३ जना किन उपस्थित भएनन् ?

सुनिल कुँवर
२०८१ असार २ गते १६:०६ | Jun 16, 2024
धितोपत्र बोर्ड अध्यक्ष छनोटमा ‘सर्जिकल स्ट्राइक’, सर्टलिस्टमा परेका ३ जना किन उपस्थित भएनन् ?


काठमाडौं। आफूले चाहेको व्यक्ति नआउने भएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष छनोटमा एक व्यावसायिक समूहले सर्जिकल स्ट्राइक गर्दै अन्तर्वार्ता नै निष्प्रभावी बनाइदिएको छ।

Tata
GBIME
NLIC

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिने प्रतिस्पर्धामा रहेको व्यावसायिक घरानाको ‘कर्पोरेट वार’ अध्यक्ष छनोट प्रक्रियामै देखिएको छ। अध्यक्ष छनोट समितिले आइतबार राखेको अन्तर्वार्ता र प्रिजेन्टेसनमा सर्टलिस्ट भएका तीन जना अनुपस्थित भए। अन्तर्वार्तामा सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै सहभागी भएपछि समितिले अर्को अन्तर्वार्ताको समय तय गर्दैछ।

धितोपत्र सम्बन्धी दफा ४ को उपदफा ३ मा भनिएको छ- ‘समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्नुपर्ने उल्लेख छ।’ ऐनको यही व्यवस्थाका कारण समितिले केहीबेरमै नयाँ अन्तर्वार्ताको समय तय गर्नेछ।

‘सर्टलिस्टमा रहेका एकजनाले आफू बाहिर रहेको भन्दै समय सार्न पत्र पठाउनुभएको छ। त्यही आधारमा हामीले नयाँ अन्तर्वार्ताको समय तय गर्दैछौं,’ समितिका एक सदस्यले बिजमाण्डूसँग भने।

स्रोतका अनुसार प्रमुख सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीको दबाबसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेबोन अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अघि बढाउन अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका थिए। ओलीको दबाबपछि बिहीबार अर्थमन्त्री पुनलाई बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले तत्कालै प्रक्रिया अघि बढाउन भने। प्रधानमन्त्रीले नामै तोकेर तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिए।

स्रोतका अनुसार अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ, मुक्ति नाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गर्न भनेका थिए। प्रचण्डले आइतबारसम्म तीन जनाको नाम सिफारिस गरेर मन्त्रिपरिषद्‍मा पठाउन पुनलाई भनेका थिए। उनले सिफारिस हुने तीन जनामध्ये सन्तोषनारायणलाई अध्यक्ष नियुक्त गर्ने पनि बताएका थिए। त्यसपछि अर्थमन्त्री पुनले सोमबारसम्म नाम पठाउने जवाफ दिएका थिए।

किन गएनन् तीन जना ?

सेबोन अध्यक्षका लागि सर्टलिस्टमा रहेकामध्ये नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिबी चापागाईं र सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारी अन्तर्वार्तामा उपस्थित भएनन्। उनीहरु तीनै जना माओवादी समर्थित हुन्। अन्तर्वार्तामा तीन जना सहभागी नहुनुमा कर्पोरेट वार नै रहेको एक व्यवसायीले बताए।

‘नयाँ स्टक ठूलो इगोको लडाईं भएको छ। नयाँ स्टकका लागि सेबोन अध्यक्षको पद महत्वपूर्ण रहन्छ,’ उनले भने, ‘शीर्ष नेता नै यसमा सहभागी भएपछि यसको महत्व कति रहेछ भन्ने स्पस्ट हुन्छ। आइतबारको अन्तर्वार्तामा तीन जना सहभागी नहुनु त्यसैको असर हो।’

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिन दुई व्यावसायिक घराना दौडमा छन्।

इन्फिनिटी होल्डिङका अध्यक्ष दीपक भट्टसहित केही ठूला व्यावसायिक घराना र गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित अरु ठूला व्यवसायिक घरानाबीच लाइसेन्स लिनका लागि प्रतिस्पर्धा छ। इन्फिनिटी होल्डिङका तर्फबाट सन्तोषनारायण अध्यक्ष बन्ने देखिएपछि महतोसहितको व्यावसायिक घरानाले सर्जिकल स्ट्राइक गर्दै अरु तीन जनालाई रोकेको हो।

अनुपस्थित रहेका तीनै जना अन्तर्वार्तामा सहभागी हुनसक्ने अवस्था थियो। तीन जनामध्ये चापागाईं र अधिकारी काठमाडौंमै भएर अनुपस्थित भएका हुन्। कार्की भने सुर्खेतमा छन्।

कार्की सेयर सचेतनाका लागि भन्दै नेप्सेका कर्मचारी लिएर बाग्लुङ हुँदै विभिन्न जिल्ला पुगेका थिए। सेयर सचेतनाका लागि गएका अरु कर्मचारी फर्किए पनि कार्की उतै बसे। स्रोतका अनुसार सेबोन अध्यक्ष बनाउन बालुवाटारदेखि बालकोटसम्म भइरहेको दौडधुपको सबै जानकारी उनले लिएका थिए।

उनले तीन जनाको नाम पठाउन अर्थमन्त्री पुनलाई दबाब परेको सूचना पाइसकेका थिए। त्यसैले कार्की सेयर सचेतना कार्यक्रमको बहानामा सुर्खेतमा रोकिएर जानाजान अन्तर्वार्तामा अनुपस्थिति भएका हुन्। ‘कुनै व्यवसायिक घरानाको मान्छे अध्यक्ष बनाउने कर्मकाण्डी अन्तर्वार्तामा किन सहभागी हुने?,’ कार्कीले आफू निकटलाई भनेका छन्।

चापागाईं पनि सेबोन अध्यक्ष छनोट प्रक्रियामा असन्तुष्ट थिए। उनीभन्दा असन्तुष्ट केही व्यवसायिक घराना थिए। अर्का प्रतिस्पर्धी अधिकारीलाई समेत त्यही व्यावसायिक घरानाले अन्तर्वार्तामा जानबाट रोकेको हो। अन्तर्वार्ता अवधिभर तीनै जनाले मोबाइल स्वीच अफ गरेका थिए।