टाटाको पन्च इभी दुई साताभित्र नेपाल भित्र्याउने तयारी, कति पर्छ मूल्य ?

बिजमाण्डू
२०८१ असार ६ गते १२:४५ | Jun 20, 2024
टाटाको पन्च इभी दुई साताभित्र नेपाल भित्र्याउने तयारी,  कति पर्छ मूल्य ?

काठमाडौं। टाटा मोटर्सको पन्च इभी दुई साताभित्र नेपाल ल्याइने भएको छ। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च इभी नेपाल ल्याउने भएको हो।

Tata
GBIME

सिप्रदी ट्रेडिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राजनबाबु श्रेष्ठले पन्च इभी ल्याउन तयारी अगाडि बढाइसकेको जानकारी दिए।

‘हामीले पन्च इभी ल्याउने तयारी थालेका छौं,’ उनले भने, ‘उत्पादक कम्पनीले पनि पन्च इभी नेपाली बजारमा पठाउन तयारी गरिरहेको छ। अहिले हामी उत्पादक कम्पनीसँग मूल्यको विषयमा छलफलमा छौं।’

कम्पनीले सुरुमा पन्च इभीको टप भेरियन्ट नेपाल ल्याउनेछ।

पन्च इभी निर्यात गर्न टाटा मोटर्सले सुरक्षा सुनिश्चित गर्ने एनक्याप टेस्टको नतिजा कुरेर बसेको थियो। केही दिनअघि आएको नतिजा अनुसार पन्च इभीले ५ स्टार सेफ्टी रेटिङ पाएको छ। त्यसैले टाटा मोटर्सले नेपालमा पन्च इभी निर्यात गर्ने तयारी थालेको हो। 

कम्पनीले गत माघमा उक्त गाडी लन्च गरेको थियो। भारतमा यसको सुरुवाती मूल्य भारु १० लाख ९९ हजारदेखि टप भेरियन्टको १४ लाख ४९ हजार रुपैयाँ छ। यो गाडीको मूल्य नेपालमा ३६ लाखदेखि ४० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ। उत्पादक कम्पनीले केही सहुलियत दिएमा मूल्य सस्तो पर्न सक्नेछ।

यो गाडीमा एलइडी लाइट बार, हेडल्याम्प सेटअप र नयाँ एलोय ह्वील्स डिजाइन छन्। यो गाडी कम्पनीले न्यू जेनेरेसन-२ आर्किटेक्चरमा निर्माण गरेको छ। जसलाई ‘एक्टिभ’ भनिएको छ।

यसमा भएको २५ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले एक पटकको फुल चार्जमा ३१५ किलोमिटर र ३५ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले ४२१ किलोमिटर रेन्ज प्रदान गर्न सक्छ।

कम्पनीले यसमा चार्जिङ सुविधा ३.३ किलोवाट वाल बक्स चार्जर र ७.२ किलोवाट एसी फास्ट चार्जर प्रदान गरेको छ। साथै पन्च इभीले डिसी फास्ट चार्जिङ पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ। यसमा ५० किलोवाटको फास्ट चार्जरले १० देखि ८० प्रतिशत चार्ज गर्न ५६ मिनेट लाग्छ।

यसमा इन्फोटेन्मेन्टका लागि १०.२५ इन्चको स्क्रिन उपलब्ध छ। साथै डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले पनि छ। रिजेन लेबल कन्ट्रोल गर्न यसको स्टेरिङमा प्याडल सुविधा छ।

३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मनिटर, भेन्टिलेटेड सिट, वायरलेस फोन चार्जर, सनरुफ, क्याबिन एयर प्युरिफायर यो गाडीका अरु फिचर हुन्।