काठमाडौं । शुक्रबारबाट यो वर्षको पहिलो आँप मेला ‘म्याङ्गो फेस्ट’ आयोजना हुने भएको छ। किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ मेला हुन लागेको हो।
पानीपोखरीस्थित वालनट विस्ट्रोमा आयोजना हुन लागेको मेलामा सर्लाही, सप्तरी र सिराहाका ५० किसानबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका १५ प्रजातिका आँप प्रदर्शनीमा राखिनेछ।
तीन दिने मेलामा काठमाडौं अर्गानिक्स, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा समेत आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरु प्रदर्शनी एवं बिक्रीवितरण गरिने जनाइएको छ।
मेलामा विभिन्न कम्पनीका १० वटा स्टलहरु रहनेछन्। ग्राहकले अचार, आँपको पाउडर, डिहाइड्रेड म्याङ्गो, जाम लगायतका सामाग्री खरिद गर्न सक्नेछन्। आयोजकका अनुसार मेलामा माल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकतिया, दसहरी लगायत खरिद गर्न सकिनेछ।
स्वदेशी आँपको प्रचलन बढाएर नेपाली किसानलाई प्रोत्साहन गर्नु र उपभोक्ताहरुलाई विषादीरहित स्वस्थ आँपको पहुँच पुर्याउनु मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।