पोलिसी सरेन्डर बढेपछि इन्स्योरेन्स कम्पनीको नयाँ रणनीति, बीमितलाई के फाइदा ?

सुनिल कुँवर
२०८१ असार ७ गते ०६:३१ | Jun 21, 2024
पोलिसी सरेन्डर बढेपछि इन्स्योरेन्स कम्पनीको नयाँ रणनीति, बीमितलाई के फाइदा ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले व्यापार बढाउनका लागि नयाँ रणनीति अपनाउन थालेका छन्। कम्पनीहरुले सरेन्डरको चरणमा पुगेका बीमा पोलिसीलाई निरन्तरता दिन बीमितलाई छुट दिएर प्रोत्साहन गरिरहेका हुन्।

Tata
GBIME
NLIC

जीवन बीमा कम्पनीहरुका लागि उच्चदरमा पोलिसी सरेन्डर बढ्नु व्यावसायिक चुनौती मानिन्छ। बीमितले प्रिमियम तिर्न बन्द गरेका पोलिसीलाई पुन: सक्रिय गराउन कम्पनीहरुले पोलिसी बिलम्ब शुल्कमा छुट दिइरहेका छन्।

बीमितले समयमै प्रिमियम नतिरे पोलिसीलाई निरन्तरता दिन ब्याज तिर्नुपर्ने हुन्छ। कम्पनीहरुले त्यही प्रिमियममा लाग्ने शुल्क अहिले शतप्रतिशतसम्म छुट दिइरहेका छन्।

कोभिड १९ पछि अर्थतन्त्र सुस्त हुँदा पोलिसी सरेन्डर उच्चदरले बढेको थियो। बीमकहरुका अनुसार यो क्रम अहिले पनि कायमै छ।

चालु आर्थिक वर्षको सुरुदेखि नयाँ व्यापार खासै बढाउन नसकेका बीमा कम्पनी अन्तिम त्रैमासमा जसरी पनि बढाउने रणनीतिमा केन्द्रित छन्। सोही कारण अधिकांश जीवन बीमा कम्पनीहरुले प्याकेज नै ल्याएर पोलिसी सरेन्डर हुनबाट जोगाउन खोजिरहेका हुन्।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे बीमितलाई अनुशासनमा राख्न बिलम्ब शुल्क लिने गरिएको भए पनि पोलिसी निरन्तरताका लागि कम्पनीहरुले छुट दिइरहेको बताउँछन्।

‘बीमितलाई अनुशासनमा राख्न समयमै प्रिमियम नबुझाए जरिवाना लिने गरिएको हो,’ उनले भने, ‘यस्तो शुल्कमा कम्पनीले छुट दिने पोलिसीको निरन्तरताकै लागि हो। पोलिसी बन्द हुनुभन्दा निरन्तर चल्यो भने कम्पनी र बीमित दुवैलाई नै फाइदा हुन्छ।’

आइएमई लाइफले व्यतित बीमा लेख सक्रिय गराउनका लागि शतप्रतिशतसम्म ब्याज मिनाहाको स्किम ल्याएको छ। यो योजना असार २५ सम्म लागू हुने कम्पनीले जनाएको छ।

सानिमा रिलायन्स र रिलायबल लाइफले व्यतित बीमा लेखमा शतप्रतिशत ब्याज छुट दिने पुर्नजागरणको स्किम गत जेठ महिनामै ल्याइसकेका छन्।

सिटिजन लाइफले नवीकरण बीमा शुल्क तोकिएको समयमा भुक्तानी नभएर व्यतित भएका बीमा लेखहरु जेठ १ देखि असार १६ सम्म पुनर्जागरण गरेमा बिलम्ब शुल्कमा ५० देखि १०० प्रतिशतसम्म छुट दिने जनाएको छ।

कम्पनीका अनुसार बीमितले बीमा लेखहरु पुनर्जागरण मितिदेखि २ वर्षभित्र समर्पण गरेमा यस्तो छुट सुविधाको रकम कट्टा हुनेछ।

एसियन लाइफले व्यतित बीमा लेख पुनर्जागरण गरेमा असार मसान्तसम्म ५० प्रतिशतसम्म ब्याज छुट दिने योजना ल्याएको छ। हिमालयन लाइफले २५ देखि शतप्रतिशतसम्म ब्याज छुट दिने जनाएको छ। कम्पनीको यो स्किम असार २३ सम्म कायम रहने छ।

सूर्य ज्योति लाइफले व्यतित बीमालेखको बिलम्ब शुल्कमा असार २१ गतेसम्म ३५ प्रतिशत छुट दिने योजना ल्याएको छ।

नेपाल लाइफले ३० प्रतिशतसम्म ब्याज छुट दिएर व्यतित बीमा लेखहरु पुन: सक्रिय गराउने योजना ल्याएको छ। कम्पनीले ३ वर्षसम्म व्यतित भएका बीमा लेखमा ३० प्रतिशत, ३ वर्ष भन्दामाथि ५ वर्षसम्म २५ र ५ वर्षभन्दा माथि व्यतित भएका बीमा लेखहरुमा २० प्रतिशतसम्म ब्याज छुट दिने योजना बिहीबार सकिएको छ।

बिलम्ब शुल्क छुट बीमा अवधिभर एक पटक मात्रै हुने कम्पनीहरुले जनाएका छन्। कम्पनीहरुले बिलम्ब शुल्कमा छुट सुविधा बीमा पोलिसी निरन्तर गर्ने प्रयोजनका लागि दिएका हुन्।

हिमालयन लाइफ इन्स्योरेन्सका सीइओ मनोजलाल कर्ण पोलिसी सरेन्डर बढेका कारण बीमा पोलिसी सक्रिय बनाउन कम्पनीहरुले छुटको प्याकेज ल्याएको बताउँछन्।

‘बीमा पोलिसी सरेन्डर बढेको छ। कम्पनी मर्जरमा गएपछि कतिपयले पोलिसी निरन्तरता दिएका छैनन्,’ उनले भने, ‘त्यही कारण पोलिसीको निरन्तरताका लागि छुट दिइएको हो। मुख्य भनेको यसले बीमितलाई प्रिमियममा ब्याज नलागेपछि फाइदा भयो।’

नेपाल बीमा प्राधिकरणका अनुसार चालु वर्ष वैशाखसम्म ८७  हजार २०१ पोलिसी सरेन्डर भएको छ। यो पोहोर १० महिनाको तुलनामा ५.५० प्रतिशत धेरै हो। गत वर्ष वैशाखसम्म ८२ हजार ६४८ पोलिसी सरेन्डर गरिएका थिए।