रिद्धि सिद्धिको विज्ञापनले सुनचाँदी व्यवसायी तरंगित, तस्करीको सुन बेच्न खोजेको महासंघको आरोप

बिजमाण्डू
२०८१ असार २ गते १७:१२ | Jun 16, 2024
रिद्धि सिद्धिको विज्ञापनले सुनचाँदी व्यवसायी तरंगित,  तस्करीको सुन बेच्न खोजेको महासंघको आरोप

काठमाडौं। सुनका गहना बनाउँदा ज्याला र जर्तीमा भारी छुट दिने एक व्यावसायिक फर्मको विज्ञापनले सुनचाँदी व्यवसायीहरु तरंगित हुन पुगेका छन्।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले विज्ञापनलाई राज्य, उपभोक्ता, व्यवसायी र कालीगढबीच विश्वासको संकट पैदा गराउने प्रयास भनेका छन्।

तीन संस्थाले आइतबार प्रेस विज्ञप्ति जारी गरी जर्तीबापत १० प्रतिशत शोधभर्नाको नियम रहेको भन्दै जर्ती नलिई गरगहना बिक्री गर्ने विज्ञापनलाई भ्रमपूर्ण र सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने कदम भनेका छन्।

विज्ञप्तिमा उल्लेख गरिए अनुसार नेपाल राष्ट्र बैंकको सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ मा सुनका गहना निर्यातमा जर्तीबापत ग्राहकले १० प्रतिशत थप शोधभर्ना दिने नियम छ।

तीनवटा महासंघले विज्ञापन गर्ने व्यवसायीमाथि तस्करीको कमसल सुन कारोबारका लागि जर्ती नलिने विज्ञापन गरेको आरोप लगाएका छन्।

‘घुमाउरो पाराले गुणस्तरमा सम्झौता गर्ने, बैंकिङ प्रणाली बाहेकको अनौपचारिक रुपमा भित्रिएको कमसल सुन प्रयोग गर्ने र कालीगढको ज्यालामा संकुचन गरी अपारदर्शी र विधिविपरीत नाफा लिने प्रवृत्ति हावी हुन सक्ने भएकोले यस्ता अवान्छित क्रियाकलाप रोक्न तथा विज्ञापन फिर्ता लिन महासंघ सम्बन्धित व्यवसायीलाई सचेत गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

रिद्धि सिद्धि ज्वेलर्सले गरेको विज्ञापन

विज्ञप्तिमा विज्ञापन गर्ने व्यावसायिक फर्मको नाम उल्लेख गरिएको छैन। ‘सुनको मूल्य अत्याधिक बढेकोले गहनामा जर्ती नलाग्ने साथै ज्यालामा भारी छुट’को विज्ञापन रिद्धि सिद्धि ज्वेलर्सले गरेको हो।