दुई सातादेखि ग्राउण्डेड क्याप्टेन लामालाई जरिवाना तिराएर निलम्बन फुकुवा गर्ने क्यानको तयारी

बिजमाण्डू
२०८१ असार ३ गते १२:४८ | Jun 17, 2024
दुई सातादेखि ग्राउण्डेड क्याप्टेन लामालाई जरिवाना तिराएर निलम्बन फुकुवा गर्ने क्यानको तयारी

काठमाडौं। दुई सातादेखि ग्राउण्डेड नेपाल वायु सेवा निगम (एनएसी)का वरिष्ठ क्याप्टेन विजय लामालाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जरिवाना तिराएर निलम्बन फुकुवा गर्ने तयारी गरेको छ।

Tata
GBIME

क्यानले कानुन अनुसार क्याप्टेन लामालाई २५ हजार रुपैयाँसम्म जरिवाना तिराउने तयारी गरिरहेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

‘नागरिक उड्डयन प्राधिकरण ऐन अन्तर्गत विमानस्थलमा निषेध गरिएको क्षेत्रमा तस्विर कैद गर्न नपाइने व्यवस्था छ,’ सूचना अधिकारी भुलले भने, ‘कसैले प्राधिकरणको नियमविपरीत र पूर्वस्वीकृति विना यस्तो काम गरेको अवस्थामा २५ हजार जरिवाना गर्ने व्यवस्था छ। कानुनी व्यवस्था अनुसार केही दिनमै जरिवानाको निर्णय हुन्छ।’

क्याप्टेन लामाले विमानस्थलको निषेधित परिसरमा तस्विर कैद गरेको उजुरीलाई लिएर क्यानले दुई साता अगाडि उनलाई ग्राउण्डेड गरेको थियो। उनी एयरबस-३३० ‘वाइडबडी’ जहाजका वरिष्ठ पाइलट हुन्।