हिरो जुम – एक स्टाइलिस र सस्तो स्कुटरका रूपमा नेपाली बजारमा भित्रिएको छ। भारतको प्रमुख दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी हिरो मोटोकर्पले स्कुटरको नयाँ मोडल जुम गत वर्ष नै भारतीय बजारमा लन्च गरेको थियो। तर, नेपालमा आउन एक वर्षको समय लाग्यो।
यसको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ एनजीएम र हिरो मोटोकर्पबीच विवाद भयो। जसका कारण हिरोले नयाँ आधिकारिक बिक्रेता छनोट गर्नै एक वर्षको समय लागेको थियो। अहिले नेपालका लागि हिरोको नयाँ आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्स छ। जसले हिरोका स्कुटरमा यो नयाँ मोडल बजारमा ल्याएको हो। आज हामी यही स्कुटर टेस्ट राइड गर्दैछौं।
कपन गुम्बा तिर स्कुटर राइड गरिरहँदा स्टाइलिस लुकका कारण युवाहरु यसप्रति आकर्षित भइरहेका थिए। कम्पनीले यसको डिजाइन गर्दा सानातिना कुराहरुमा पनि ध्यान दिएको छ। त्यसैले फर्स्ट लुकमै यो स्कुटर बजारमा चलेका अन्यउ मोडलहरु भन्दा केही फरक देखिन्छ।
साइड प्रोफाइलबाट स्कुटरमा हिरोको इलेक्ट्रिक स्कुटर ‘भिडा’को हल्का झलक देख्न सकिन्छ। यस्तै एनटर्क वा डिओ जस्तो पनि झल्को आउँछ।
कपन माथिको झण्डा पार्कमा जुमलाई केही क्षण विश्राम दिँदा यसको ‘स्पोर्टी लुक’ मज्जाले खुलेको आभाष भयो। डुअल टोन एप्रोनमा डिजाइन गरिएको स्कुटर सहरी यात्राका लागि राम्रो मोड अफ ट्रान्सपोर्ट हुने देखियो।
स्कुटरको एप्रोनको तलतिर फूल एलइडी हेडलाइट जडान गरिएको छ। हेडलाइटमा एकीकृत एलइडी डेटाइम रनिङ लाइट पनि छ। यसले स्कुटरलाई अगाडिबाट धेरै स्टाइलिस लुक प्रदान गरेको छ। स्कुटरको ह्यान्डल पट्टिको दुवै छेउमा टर्न इन्डिकेटरहरू जडान गरिएको छ।
इन्जिन पर्फर्मेन्स एभरेज लाग्यो..
टेस्ट ड्राइभका क्रममा स्कुटरको इन्जिन पफ्रमेन्स भने ‘एभरेज’ रहेको महसुस भयो। जुमको ११० सीसी सिंगल सिलिन्डर इन्जिनले ८.०५ बीएचपी र ८.७ न्यूटन मिटर टर्क दिन्छ। यसले कम पर्फर्मेन्स दिएको महसुस भयो। इन्जिनको पावर डेलिभरी लगभग ३० किलोमिटर प्रतिघन्टासम्म सामान्य देखिन्छ, तर यो स्पीड मार्क पार गरेपछि इन्जिनले ८० किलोमिटर प्रति घन्टाको गतिसम्म राम्रो पावर दिने रहेछ। प्राय सबै स्कुटरहरुको प्याटर्न यस्तै नै हुन्छ।
यसको स्मुथ एक्सीलेरेसन र राम्रो ह्यान्डलिङ ब्यालेन्स भएकाले यसलाई सहरको ट्राफिक नेभिगेसनमा सहज बनायो। तर यो स्कुटरमा एउटा प्रमुख समस्या लाग्यो, ‘भाइब्रेसन’को। चाबी लगाएर स्कुटर स्टार्ट गर्ने बित्तिकै इन्जिनबाट हल्का आवाज आउँछ।
यसको इन्जिन अन्य प्रतिस्पर्धी स्कुटरहरू जस्तै ‘स्मुथ’ छैन। स्कुटरको सिंगल सिलिन्डर इन्जिनले थोरै ‘भाइब्रेसन’ दिन्छ तर यसले राइडमा कुनै समस्या ल्याएन, ‘इरिटेसन’ महसुस चाहिँ भयो। कम्पनीले यसलाई ‘ट्युन डाउन’ गर्न वा भविष्यमा यसलाई पूर्ण रूपमा हटाउँदा राम्रो हुन्छ।
कर्नरिङ लाइट नयाँ
जुममा एच-आकारको एलइडी डीआरएलसहित प्रोजेक्टर हेडल्याम्पहरू छन्। यसको अगाडिको लाइट एच आकारमा राखिएको छ जसले हिरोलाई रिप्रिजेन्ट गर्छ। हेडलाइट र टेललाइट दुवैमा यही एच डिजाइन दिइएको छ।
जुमको मुख्य आकर्षण भनेकै ‘कर्नरिङ लाइट’ रहेको टेस्ट ड्राइभका क्रममा महसुस भयो। यो फिचर यही सेग्मेन्टको अन्य कुनै पनि स्कुटरमा उपलब्ध छैन। स्कुटर चलिरहेको बेला कर्नरिङ लाइटले काम गर्छ र स्कुटर कुनै पनि दिशामा ६ डिग्रीसम्म मोडिँदा लाइट सेन्सरको माध्यमबाट बल्छ। यसले अँध्यारोमा स्कुटर घुमाउँदा कर्नरमा उज्यालो प्रदान गर्छ र साइड लुक्समा राम्रो भिजिबिलिटी प्रदान गर्न मद्दत गर्छ।
कर्नरिङ गर्दा कतिपय अवस्थामा हेडलाइटको उज्यालोले मात्रै पहाडी क्षेत्रको सडकम पुग्दैन। यो स्कुटरले भने मोडैमोड भएको सडकमा पनि राम्रो उज्यालो प्रदान गर्छ।
स्कुटरको ह्वीलबेस १३०० एमएमका साथै यसमा १२ इन्चको डायमण्ड कट एलोय ह्वीलहरू छन्। जसले गर्दा काठमाडौंको कालोपत्र सडकबाट उकालो तिर अफरोड लाग्दै गर्दा टायरको पर्फर्मेन्स राम्रो लाग्यो।
जुम ११० सीसी एयर-कुल्ड इन्जिनमा चल्छ। यसको कर्ब वजन १०९ केजी छ, त्यसैले पावर टु वेट रेसियो ब्यालेन्स गरिएको छ। जसले गर्दा उकालो मोडमा पनि स्कुटरलाई राम्रोसँग ‘ह्यान्डल’ गर्न सकियो। यो १० सेकेन्डभित्र ६० किलोमिटर प्रतिघण्टाको गतिमा तुलनात्मक रूपमा सजिलै पुग्छ र ८० किलोमिटर प्रतिघण्टाको टप स्पीड पार गर्न धेरै समय लाग्दैन।
राइडका क्रममा ठाउँ ठाउँमा स्पिड ब्रेकरहरु पनि थिए। तर, ती ब्रेकर पार गर्दा जुममा सस्पेसन र १५५ एमएमको राम्रो ग्राउन्ड क्लियरेन्सले असहज महसुस भएन।
ब्रेकिङ पर्फर्मेन्स उत्कृष्ट
कपनसम्म पग्दा ट्राफिक कन्जेसनका कारण ठाउँ ठाउँमा स्कुटर रोक्नु त सामान्य नै भयो। यसबीच अपर्झट् ब्रेक लगाउन पर्दा भने यो स्कुटरमा ब्यालेन्स गर्न सकिन्छ। तीव्र गतिमा रहँदा पनि स्कुटर झयाप्प रोक्न कुनै समस्या भएको जस्तो लागेन। यसमा अगाडिको पाङ्ग्रामा १९० एमएम डिस्क छ भने पछाडि १३० एमएम ड्रम ब्रेक छ जसले गर्दा ब्रेकिङ पर्फर्मेन्स उत्कृष्ट लाग्यो।
हिरोले आफ्नो इन्टिग्रेटेड ब्रेकिङ सिस्टमका कारण स्कुटर चिप्लनबाट बच्ने दाबी गर्छ। यसलाई कम्बाइन ब्रेकिङ सिस्टम पनि भनिन्छ, जसले ब्रेक लगाउँदा स्कुटरका दुवै टायरमा ६० इजटु ४० को रेसियोमा ब्यालेन्स हुन्छ। यस्तै, आई-३ स्मार्ट प्रविधिका कारण यो स्कुटरले अन्य स्कुटरको तुलनामा माइलेज औसतमा धेरै दिने कम्पनीको दाबी छ। लगभग एक दिन राइड गर्दा प्रतिलिटर ५० किलोमिटरभन्दा बढी माइलेज यो स्कुटरले दियो, जुन स्कुटरका हिसाबले माइलेज गज्जब भन्नुपर्छ।
यसमा ५.२ लिटर क्षमता भएको इन्धन ट्यांकीले स्कुटरलाई राम्रो दूरी कभर गर्न सक्ने वातावरण बनाउँछ।
कम्पनीले यसमा फुल डिजिटल स्क्रिन प्रदान गरेको जसले स्पिड लिमिट कायम राख्न राइडरलाई ‘नोटिसेबल हुन्छ। यसका साथै यसमा पालैपालो नेभिगेसन र स्मार्टफोन कम्युनिकेसन अलर्टहरु पनि छ।
अहिले स्कुटर सहरी यात्रासँगै नजिकै ह्याङवाट गर्न पनि प्रयोग हुन्छ। काठमाडौं नजिकैका डाँडामा साथीभाइसँग घुम्न हिँड्न स्कुटरमै मज्जाले समान राख्न सकिन्छ। स्कुटरको अगाडि पट्टी रहेका दुईवटा कम्पार्टमेन्टले छोटो यात्राका लागि चाहिने आवश्यक सामान राख्न यसले सुविधा दिएको छ। यस्तै, यसमा यूएसबी पोर्ट पनि राखिएको छ जसबाट यात्राको क्रममा आफ्नो फोन चार्ज गर्न सकिन्छ।
जुम स्कुटरको सिट ‘कफर्टेबल’ छ, जसले गर्दा यात्रा आरामदायी बन्छ।
यो स्कुटरमा साइड स्ट्यान्ड इन्जिन कट-अफ प्रविधि प्रयोग भएको छ। जसले गर्दा साइड स्ट्यान्ड नलगाइ स्टार्ट गर्न सकिँदैन। यसलाई चाइल्ड सेफ्टीका रुपमा पनि हेरिएको छ।
चाबीलाई प्राथमिकता, सिटमुनि पेट्रोल नोजल !
स्कुटरमा बुट स्पेस पनि छ, जसमा सानो हेल्मेट राख्ने ठाउँ छ। बुट स्पेसमा सानो लाइट छ, जसले अँध्यारोमा पनि बुट खोलेर सामान राख्न सजिलो बनाउँछ। जुम ११० को बुट स्पेस खोल्न कुनै बटन छैन, यसका लागि चाबी नै प्रयोग गर्नुपर्छ। यद्यपि, आजकल धेरै स्कुटरहरूमा बुट खोल्न बटनको सुविधा दिने गरिएको पाइन्छ। यसमा पनि बटम भइदिएको भए केही सहज हुन्थ्यो।
खुट्टा राख्नका लागि पिलियनलाई पनि फुटबोर्डमा राम्रो स्पेस दिइएको छ। तर, समान्यभन्दा बढी उचाइ भएका राइडरहरुका लागि भने ह्यान्डलबार धेरै नजिक हुन आउँछ जसले गर्दा यु-टर्न लिँदा घुँडा ठोक्किन सक्छ।
हाल बजारमा आएका नयाँ स्कुटरहरुमा पेट्रोल भर्न राइडर ओर्लिरहनु पर्दैन। तर, यो स्कुटरमा इन्धन भने परम्परागत तरिकाले नै भर्न पर्छ। सिटभित्र पेट्रोल भर्ने नोजल राखिएको कारण पेट्रोल भर्न चालक ओर्लिनैपर्छ।
स्कुटरमा रहेका स्वीचहरूको प्लास्टिकको गुणस्तर भने ड्राइभ गर्दै गर्दा कमजोर भएको जस्तो महसुस भयो। बटनहरू चलाउन त्यति ‘फ्लेक्जिबल’ लागेन। धेरैजसो बडीवर्कको पेन्ट र प्लास्टिकको गुणस्तर कमजोर नै छन्। फिनिसिङ टचहरु पनि ‘फाइन’ छैनन्। सार्प एजेजहरु र साइलेन्सर भएका ठाउँमा वाइल्डिङहरु राम्रोसँग नभएको नोटिसेबल छन्।
धेरै उत्कृष्ट पक्ष र केही कमजोरी सहित हिरो जुम एक राम्रो डिजाइन गरिएको स्कुटर हो भन्दा फरक भने पर्दैन। फिचर लोडेड यो स्कुटर सहरी यात्राका लागि राम्रै मान्न पर्छ। साढे दुई लाखभन्दा माथि मूल्य पर्ने यो स्कुटरमा लगानी खेर भने जाँदैन।