
काठमाडौं। बजार हिस्सा वृद्धिमा आक्रामक रुपमा लागेको यती एयरलाइन्सले मुलुकमै पहिलोपटक एटीआर ७२-६०० सिरिजको जहाज भित्र्याउने तरखर गरेको छ।
नयाँ साझेदारका रुपमा एसियन लाइफ इन्स्योरेन्सलाई भित्र्याएपछि एयरलाइन्स जहाज संख्या विस्तारमा लागेको हो। कम्पनीले यतिखेर जहाज भित्र्याउनका लागि छलफलमा छ।
यती समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले कम्पनीमा नयाँ साझेदार भित्रिएसँगै यती एयरलाइन्स आफ्नो बजार हिस्सा विस्तारमा जुटेको बताए। उनले एटीआर ७२-६०० सिरिजका ३ थान जहाज ल्याउनका लागि मूल्य, व्यावसायिक फाइदा लगायत विषयमा अध्ययन भइरहेको जानकारी दिए।
‘अहिले नेपालमा एटीआर ७२-५०० सिरिजको जहाजले उडान गरिरहेको छ। विश्वबजारमा ७२ -६०० पनि उपलब्ध हुन थालिसकेको छ,’ समूहका अध्यक्ष शेर्पाले बिजमाण्डूसँग भने, ‘७२-५०० को तुलनामा अर्को मोडल यात्रुको सुविधाका दृष्टिले थप आरामदायी छ। ककपिट अत्याधुनिक छ। हामी अहिले अध्ययनमा छौं।’
उनका अनुसार हाल प्रयोगमा रहेको एटीआर ७२-५०० को बजार मूल्य ८० करोड रुपैयाँ छ। ७२-६०० सिरिजको जहाजलाई भने एक अर्ब रुपैयाँभन्दा बढी पर्छ। कम्पनीले ८-९ वर्ष प्रयोगमा आइसकेको जहाज खरिद गर्ने योजना बनाएको उनले जानकारी दिए।

‘ब्राण्ड न्यू जहाज ल्याउनका लागि जहाज उत्पादक कम्पनीमै अर्डर गर्नुपर्ने हुन्छ। यसो गर्दा ढिलाइ हुने भएपछि हामीले प्रयोग भइसकेको जहाज ल्याउन लागेका हौं,’ अध्यक्ष शेर्पाले भने। तत्काल ब्राण्ड न्यू जहाज ल्याउन धेरै समय लाग्छ।
एटीआर ७२-६०० सिरिजको जहाज प्रविधिका हिसाबले बढी सुरक्षित मानिन्छ। त्यही कारण यती एयरलाइन्सले यो जहाज भित्र्याउन लागेको हो। यो जहाज भित्र्याएपछि यात्रुको विश्वास आर्जन हुने कम्पनीको विश्वास छ। २०७९ माघ १ गते पोखरामा एटीआर ७२-५०० सिरिजको जहाज दुर्घटनामा ७२ जनाको मृत्यु भएपछि यती एयरलाइन्सले यात्रुको विश्वास आर्जनका लागि बढी सुरक्षित जहाज भित्र्याउनुपर्ने दबाब महसुस गरेको थियो।
एटीआर ७२-६०० सिरिजको जहाज भित्र्याउने निश्चित भएलगत्तै पाइलट, प्राविधिक लगायत जनशक्तिलाई तालिमका लागि पठाउने एयरलाइन्सको तयारी छ। त्यसो त पछिल्लो समय कम्पनीले आफ्नो उडान सेवा थप प्रभावकारी बनाउनका लागि पाइलटलाई तालिम लिन उत्पादक कम्पनी एटीआरको मुख्यालयमै पठाउन थालेको छ।
यात्रुको सुबिस्तालाई मध्यनजर गर्दै कम्पनीले जहाजमा इनफ्लाइट सर्भिस दिँदैछ। हाल जहाजभित्र पानी, चकलेट लगायत सेवा दिँदै आएको कम्पनीले छिट्टै यात्रुका लागि जुस, पिनट्स पनि बाँड्ने योजना बनाएको छ।
यती एयरलाइन्सले हाल एटीआर ७२-५०० सिरिजका ७ वटा जहाजमार्फत नियमित उडान गर्दै आएको छ। आन्तरिक उडानमा उसको बजार हिस्सा २५ प्रतिशत छ। बजार हिस्सा बढाउनका लागि कम्पनीले जहाज थप्न लागेको हो। उसले अहिले मुलुकका सुगम गन्तव्यहरुमा दैनिक करिब ३ हजार यात्रुलाई सेवा दिँदै आएको छ।

जहाज संख्या १० पुर्याएपछि धनगढी, सुर्खेत र राजविराजमा उडान गर्ने तयारी रहेको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए।
‘पहिला एउटा सेक्टरमा दुई वटा फ्लाइट राखिन्थ्यो। अब यात्रुको माग अनुसार एउटै सेक्टरमा धेरै फ्लाइट राख्नैपर्ने अवस्था छ,’ उनले भने, ‘यो भयो भने प्रतिस्पर्धात्मक सेवा दिन सकिने देखिन्छ।’
आठ महिनाअघि कम्पनीको ४९ प्रतिशत स्वामित्व एसियन लाइफ इन्स्योरेन्सले लिएको थियो। एसियन लाइफ इन्स्योरेन्सको प्रवेशपछि कम्पनीले एटीआर-७२ सिरिजका २ वटा जहाज थपिसकेको छ।
हाल यतीका साथै बुद्ध एयरले एटीआर जहाजमार्फत व्यावसायिक उडान गर्दै आएको छ। बुद्ध एयरसँग एटीआर-७२ जहाज १४ वटा छन्। उसको बजार हिस्सा करिब ६० प्रतिशत छ।

यस्तो छ एटीआर ७२-६००
सन् २००७ मा उत्पादन सुरु भएको यो सिरिजको जहाजमा ७८ सिट क्षमता छ। एटीआरका अनुसार, क्षेत्रीय उडान प्रयोजन रहेको यो जहाजमा सञ्चालन खर्च अरु जेटको तुलनामा वार्षिक ४५ प्रतिशत कम हुन्छ।
यात्रु र व्यवसायीमैत्री अवधारणामा तयार गरिएको यो जहाजले छोटो र कालोपत्र नगरिएको धावनमार्गमा पनि सहजै उडान-अवतरण गर्न सक्छ। यस्तै अत्यधिक उचाइ लिन सक्ने जहाजमा एक पटकमा ४४ देखि ७८ यात्रुले यात्रा गर्न सक्छन्।