एमसीसी परियोजना कार्यान्वयनमा गएको ८ महिनापछि बल्ल लाग्यो पहिलो ठेक्का

बिजमाण्डू
२०८१ बैशाख २७ गते १६:२९ | May 9, 2024
एमसीसी परियोजना कार्यान्वयनमा गएको ८ महिनापछि बल्ल लाग्यो पहिलो ठेक्का
४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणको ठेक्का सम्झौता गरिंदै

काठमाडौं। एमसीसी परियोजना अन्तर्गत ४०० केभी नयाँ बुटवल सबस्टेसन निर्माणको ठेक्का लगाइएको छ। परियोजना कार्यान्वयनको चरणमा गएको ८ महिनापछि सबस्टेसन निर्माणको ठेक्का लगाइएको हो।

Tata
GBIME
Nepal Life

एमसीए नेपालले सुस्तापश्चिममा सबस्टेसन निर्माणको ठेक्का भारतीय कम्पनी लिङ्कसन इण्डिया प्रालिलाई दिएको छ। उक्त कम्पनीसँग बिहिबार ठेक्का सम्झौतामा हस्ताक्षर गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन लगायतको उपस्थितिमा ठेक्का सम्झौता गरिएको हो। सम्झौता अनुसार सबस्टेशन ३९ महिनाभित्र बनाउने भनिएको छ।

अमेरिकी राजदूत थम्पसनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि सहकार्य गर्न अमेमरिका प्रतिबद्ध रहेको बताए। उनले ४०० केभी नयाँ बुटवल सबस्टेसनले नेपालको विद्युत् प्रसारण क्षमतामा सुधार ल्याउने विश्वास व्यक्त गरे।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले ४०० केभी सबस्टेसन प्राधिकरणको प्राथमिकतामा रहेको संरचना भएको भन्दै सीमापार ऊर्जा व्यापार उकास्न नयाँ बुटवल सबस्टेसनबाट सहयोग पुग्ने बताए।

एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी परियोजनाअन्तर्गत प्रसारण लाइन र सबस्टेसन निर्माणसम्बन्धी काम तीव्रतापूर्वक अगाडि बढाइरहेको बताए।

परियोजना अन्तर्गत नुवाकोटको रातमाटे र तनहुँको दमौलीमा पनि एक/एकवटा सबस्टेशन निर्माण गर्नुपर्नेछ। तर त्यसका लागि अझै निर्माण कम्पनी छनोट गरिएको छैन। खड्काले ती २ सबस्टेसन निर्माणसम्बन्धी सम्झौताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

आबवश्यक तयारीविनै गत भदौ २३ गते एमसीसी परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको घोषणा गरिएको थियो। कार्यान्वयन सुरु भएको मितिबाट ५ वर्षमा ३१५ किलोमिटर ४०० केभी प्रसारण लाइन र तीन वटा सबस्टेसन निर्माणका साथै पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने ७१ किलोमिटर सडक आधुनिक प्रविधि प्रयोग गरेर मर्मत गर्नुपर्नेछ।

अन्यथा अमेरिकी सरकारले ५० करोड डलर अनुदान फिर्ता लैजानेछ। ५० करोड अमेरिकी डलर अनुदानको परियोजनामा नेपालले थप १९.७ करोड डलर लगानी गर्नेछ।