प्रहरीमा हाजिर नहुनेको संख्या बढ्दो, जवानदेखि डिआइजीसम्मले किन दिइरहेका छन् राजीनामा ?

सविन ढकाल
२०८१ बैशाख २७ गते ०८:३२ | May 9, 2024
प्रहरीमा हाजिर नहुनेको संख्या बढ्दो, जवानदेखि डिआइजीसम्मले किन दिइरहेका छन् राजीनामा ?

काठमाडौं । नेपाल प्रहरीमा गैर हाजिरी र राजीनामा दिने प्रहरीको संख्या बढ्दै गएको छ। गैर हाजिरमा बस्ने तल्लो तहका कर्मचारी बढी छन्। राजीनामा दिनेमा डिआइजीदेखि जवानसम्म छन्।

Tata
GBIME
Nepal Life

लामो समय विदामा बसेर नफर्किएका वा हाजिर नभएका प्रहरीलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक सूचना निकाल्ने गर्छ। सूचनामा सात दिनभित्र हाजिर भएको र सन्तोषजन गैर हाजिरीको कारण खुलाएको खण्डमा सफाईको मौका समेत दिने उल्लेख छ। तर, यतिसम्म पनि नआए उनीहरुको जागिर नै गुम्छ।

पछिल्लो तीन वर्षको अवधिमा ५३१ जना प्रहरी गैर हाजिरी भएका छन्। यसरी गैर हाजिर हुनेमा प्रहरी वरिष्ठ नायव निरीक्षक भन्दा माथि छैनन्। दुई जना वरिष्ठ नायव निरीक्षक सम्पर्क बिहिन भएको देखिएको छ। सबै भन्दा धेरै प्रहरी जवान गैर हाजिर भएको देखिएको छ। ३६३ जना प्रहरी जवान गैर हाजिरी हुँदा ३९ जना प्रहरी हवल्दार रहेका छन्।

त्यस्तै, हाजिर नहुनेमा ४१ जना कार्यालय सहयोगी समेत रहेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी भीम ढकालले जानकारी दिए।

१२ जना प्रहरी नायव निरीक्षक, २१ जना प्रहरी सहायक निरीक्षक, ५२ जना प्रहरी सहायक हवल्दार यो सूचीमा रहेका छन् प्रहरी जवान प्रहरी संगठनमा प्रवेश गर्ने पहिलो खुट्किलो हो। त्यसो त शैक्षिक योग्यता अनुसार प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षकबाट पनि प्रवेश गर्न मिल्छ। पहिलो स्टेज जवानबाट नै गैर हाजिरी हुनुमा संगठनमा भविष्य नदेखेपछि गैर हाजिर गरेर अर्को विकल्प रोज्ने गरेको देखिएको छ।

‘उनीहरुले राम्रो अवसर प्रहरीमा नै देख्छन्। त्यसैले छोडेर कतै जाने र जानकारी नै नदिने गरेको हुनसक्छ,’ पूर्वएआइजी बसन्त कुमार लामाले भने।

तर लामो समय काम गरेका प्रहरी भने संगठनबाट पेन्सन र अन्य सुविधा पाउने भएकाले गैर हाजिरी भने हुने गरेका छैनन्।

राजिनामा दिनेमा डिआइजीसम्म

चालु आर्थिक वर्षको वैशाख महिनासम्म ६ सय जना भन्दाबढी प्रहरीले राजीनामा दिइसकेका छन्। गएको चार आर्थिक वर्ष र चालु आर्थिक वर्षको ९ महिनामा ४ हजार ५७० जना प्रहरीले राजीनामा बुझाएका छन्।

यो अवधिमा सबैभन्दा धेरै प्रहरी हवल्दारले राजीनामा दिएको देखिएको छ। १ हजार ९६९ जना प्रहरी हवल्दारले राजीनामा दिएका छन्। त्यस्तै, माथिल्लो तहमा पुगेका दुई जना डिआइजीले राजीनामा दिएका छन्। उनीहरुको राजीनामाको कारण भने तल्लोतहका कर्मचरीको भन्दा फरक रहेको छ। बढुवामा असन्तुष्टी र राजनितिक चलखेल संगठनमा भएको भन्दै उनीहरुले राजीनामा बुझाएका हुन्।

यो अवधिमा कार्यालय सहयोगी २२० जना, प्रहरी जवान ६६७ जना, प्रहरी वरिष्ठ हवल्दार १९९ जना, प्रहरी सहायक निरीक्षक ९१५ जना, प्रहरी नायव निरीक्षक ३०२ जना लगायतले राजीनामा दिएका छन्। यसरी प्रत्येक वर्षको राजीनामा दिनेको तथ्यांक हेर्दा सबैभन्दा धेरै प्रहरी हवल्दारले राजीनामा दिएका छन्।

अन्य क्षेत्रकम राम्रो अवसर र संगठनमा पेन्सिन समेत पाकेकाले उनीहरुले राजीनामा दिने गरेको पूर्व एआइजी बसन्त कुमार लामा बताउँछन्।

‘संगठनमा पेन्सन पनि पाकेको हुन्छ। अहिले वैदेशिक रोगजारीमा प्रहरीलाई चाँडो लिन्छ र हेरक कुराले अवसर राम्रो भएकाले उनीहरु छोडेर जाने गर्दछन्,’ एआइजी लामाले भने।

आर्थिक वर्ष २०७९/८० मा भने राजीनामा बुझाउनेको संख्या फेरि बढेको पाइएको छ। सो वर्ष ६३२ जनाले राजीनामा बुझाएको तथ्यांकले देखाउँछ। राजीनामा दिनेमा १०८ जना प्रहरी जवान रहेका छन्। यस्तै, आर्थिक वर्ष २०७८/७९ मा ४९८ जना प्रहरीले राजीनामा बुझाएको देखिएको छ। जसमा सबैभन्दा धेरै प्रहरी जवान रहेका छन्। त्यस्तै दुईजना एसएसपीले पनि सो वर्ष राजीनामा बुझाएका थिए।

आर्थिक वर्ष २०७७/७८ मा ७०३ जना प्रहरीले राजीनामा बुझाएको तथ्यांकले देखाउँछ। जसमा ३७ जना प्रहरी कार्यालय सहयोगी, ७७ जना प्रहरी जवान, ३९६ जना प्रहरी हवल्दार, १४१ जना प्रहरी सहायक निरीक्षक, ४१ जना प्रहरी नायव निरीक्षक र ९ जना प्रहरी निरीक्षक रहेका थिए। त्यस्तै दुईजना प्रहरी नायव उपरीक्षकले पनि राजीनामा दिएका थिए।

आर्थिक वर्ष २०७६/७७ मा २ हजार ७७ जना प्रहरीले जागिर छोडे। जसमा सबैभन्दा धेरै प्रहरी हवल्दार नै रहेका थिए। १ हजार ३२७ जना प्रहरी हवल्दारले राजीनामा दिएको प्रहरीको तथ्यांकले देखाएको छ।