सत्ता गठबन्धन परिवर्तनसँगै असन्तुष्ट भारतले चिया निकासीमा निरन्तर अवरोध गर्ने संकेत

अनन्तराज न्यौपाने
२०८१ बैशाख १९ गते १५:३१ | May 1, 2024
सत्ता गठबन्धन परिवर्तनसँगै असन्तुष्ट भारतले चिया निकासीमा निरन्तर अवरोध गर्ने संकेत

विराटनगर। नेपालमा सत्ता गठबन्धन परिवर्तनसँगै असन्तुष्ट बनेको भारतले चिया निकासीमा निरन्तर अवरोध गर्ने संकेत गरेको छ।

Tata
GBIME
Nepal Life

केही दिनअघि मौखिक आदेशका भरमा चिया निकासीमा अवरोध हटाएको भारतले अब भने प्रयोगशालाबाट परीक्षण गरेको कागजात पेस गर्नुपर्ने सर्त दोहोर्‍याएको छ। यही सर्तका कारण चिया निकासीमा निरन्तर अवरोध हुने देखिएको हो।

भारतले यसअघि नेपाल-भारतबीचको विद्युत व्यापार सम्झौता नवीकरणमा पनि झमेला गरेको थियो।

भारतको केन्द्र सरकार अन्तर्गत रहेको आरएमसी, एफएसएसएआई (फुड सेफ्टी एन्ड स्टान्डर्ड अथोरिटी अफ इन्डिया) र टी बोर्डको संयुक्त बैठकले नेपालको चिया शतप्रतिशत परीक्षण भएमा मात्रै निकासी गर्न दिने निर्णय गरेको छ।

भारतीय अधिकारीले झापा र इलामका चिया निर्यातकर्तालाई बुधबार बोलाएर आगामी मंगलबारसम्म चिया नपठाउन भनेका छन्।

यसअघि पानीटंकी भन्सारले गुणस्तर परीक्षण गराउनु पर्ने भन्दै नेपालबाट निर्यात गरिएको १७ ट्रक चिया वैशाख ६ गते रोकेको थियो।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपालका लागि भारतीय राजदूत शंकर शर्मा, कोलकातास्थित महावाणिज्यदूत ईश्वरराज पौडेल, एफएनसीसीआई लगायतले भारतीय निकायमा पहल गरेपछि रोकिएका १७ ट्रक वैशाख ११ मा छुटेका थिए।

त्यतिखेर भन्सार नाकामा रोकिएका ट्रक भारतीय भन्सारका अधिकारीले लिखित नभई एक पटकका लागि भन्दै मौखिक आदेश दिएर छोडाएका थिए।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार १७ ट्रक चिया छुटेपछि नेपालका व्यवसायीले वैशाख १६ मा १२ ट्रक चिया फेरि भारततर्फ पठाए।

उक्त चिया पानीटंकी भन्सारका अधिकारीले माथिबाट लिखित परिपत्र आएको भन्दै फेरि रोके। यसपछि संघको पहलमा मंगलबार साँझ ती ट्रक छुटे।

अध्यक्ष पराजुलीले भने, ‘यसअघि नेपालबाट भारत निर्यात गरिने चियाको ५ देखि २० प्रतिशत मात्र नमुना परीक्षण गरिन्थ्यो। तर भारतका आरएमसी, एफएसएसएआई र टी बोर्डको संयुक्त बैठकले शतप्रतिशत परीक्षण भएको हुनुपर्ने निर्णय गरेर भारतीय भन्सारमा जानकारी गराएपछि नेपाली चियाको निर्यातमा संकट उत्पन्न भएको छ।’

संघका पूर्वअध्यक्ष सुरेश मित्तलले माथिल्लो निकायबाट पानीटंकी भन्सारमा नेपालको चियाका लागि साबिककै व्यवस्था कायम गर्नु भन्ने बेहोराको परिपत्र नआएसम्म निर्यातमा संकट हुने बताए।

‘भारतीय भन्सारका अधिकारीहरू नेपालको चियाप्रति सकारात्मक छन्’, मित्तलले भने, ‘तर उनीहरू लिखित परिपत्र पर्खिरहेका छन्। किनकि यसअघि शतप्रतिशत परीक्षण गराउनू भन्ने आदेश लिखित रूपमै आएको थियो। त्यसैले उनीहरू ७ दिनसम्म अर्को लिखित परिपत्र आउला भन्ने आशामा छन्। यही कारणले उनीहरूले पानीटंकी भन्सार कार्यालयमा लिखित पत्र नआई नेपाली चियाका ट्रक नपठाउनू भनेका हुन्।’

चिया टिप्दै किसान

नेपालबाट भारततर्फ निर्यात गरिने चियाको शतप्रतिशत नमुना परीक्षण सम्भव नहुने व्यवसायीहरुको भनाइ छ। नमुना परीक्षण गराउन ५६० किलोमिटर दक्षिणको कोलकातास्थित प्रयोगशालामा लैजानुपर्छ। प्रयोगशालाले नमुना प्राप्त भएको १० दिनमा मात्र परीक्षणको प्रतिवेदन दिन्छ। सबै प्रक्रिया पुर्‍याएर प्रतिवेदन भन्सार कार्यालयमा बुझाउन १५ दिन लाग्छ।

‘यसरी दुई हप्तासम्म चियाका ट्रक सडकमै राख्दा चोरिने, भिज्ने समस्या हुन्छ। यसबाहेक ट्रकको डिटेन्सन शुल्क पनि धेरै हुन्छ। त्यसैले शतप्रतिशत परीक्षण गराउनु पर्‍यो भने निर्यात नगरे पनि हुन्छ,’ मित्तलले भने।

हिमालयन अर्थोडक्स टी एसोसिएसनका पूर्वअध्यक्ष उदय चापागाइँका अनुसार सन् २०१९ मा नेपालको केन्द्रीय खाद्य अनुसन्धान प्रयोगशाला र भारतको समकक्षी कार्यालयबीच नेपालमा अन्तर्राष्ट्रियस्तरको खाद्य प्रयोगशाला निर्माण गर्ने र उक्त प्रयोगशालाको प्रतिवेदनलाई भारतीय पक्षले मान्यता दिने सहमति भएको थियो।

तर प्रयोगशाला बनाउन अहिलेसम्म सुरु नै गरिएको छैन। ‘नेपालमा निर्णय र सहमति मात्र हुन्छ। तिनलाई कार्यान्वयनमा कहिल्यै ल्याइँदैन। नेपालमा यस्तो प्रयोगशाला बनाउने हो भने यहाँका व्यवसायीले भोग्दै आएको परीक्षणको झन्झट नै समाप्त हुन्छ,’ उद्योगी चापागाइँले भने।

नेपालबाट बर्सेनि ३ अर्ब रुपैयाँको चिया भारततर्फ निर्यात हुँदै आएको छ। भारतको अवरोधले नेपाली किसान र व्यवसायी प्रभावित हुनेछन्।