लक्ष्यको आधा मात्र बढ्दै अर्थतन्त्रको आकार, प्रति व्यक्ति आम्दानी १,४५६ डलर

सुनिल कुँवर
२०८१ बैशाख १८ गते १६:४४ | Apr 30, 2024
लक्ष्यको आधा मात्र बढ्दै अर्थतन्त्रको आकार, प्रति व्यक्ति आम्दानी १,४५६ डलर

काठमाडौं। चालु आर्थिक वर्ष अर्थतन्त्रको वृद्धि साढे ३ प्रतिशत हाराहारी मात्र हुने भएको छ। सरकारले बजेटमा साढे ६ प्रतिशत वृद्धिको लक्ष्य राखे पनि साढे तीन प्रतिशतभन्दा बढी नउक्लिने देखिएको हो।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, अर्थतन्त्र उपभोक्ता मूल्यको आधारमा ३.८७ र आधारभूत मूल्यमा ३.५४ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। अर्थतन्त्रको आकार ५७ खर्ब ४० अर्ब ८० करोड रुपैयाँ छ।

तथ्यांक कार्यालयका प्रमुख अर्जुन पोखरेलले ६ देखि ८ महिनाका तथ्यांकलाई आधार लिएर चालु वर्षको प्रक्षेपण गरिएको बताए।

दुई वर्षयता अर्थतन्त्र निकै कमजोर देखिएको छ। निर्माणसँगै उत्पादनमूलक क्षेत्र कमजोर हुँदा समग्र अर्थतन्त्र मन्दीको अवस्थामा छ। उपभोग घटेका कारण आर्थिक गतिविधि सुस्त भएर गएको हो।

सरकारले पनि पुँजीगत खर्च गर्न नसकेको र निजी लगानी पनि प्रोत्साहित हुन नसकेका कारण समग्र अर्थतन्त्र फैलिन नपाएको हो।

उद्योग र निर्माण क्षेत्रको आर्थिक वृद्धि ऋणात्मक देखिएको छ। कृषि क्षेत्रको वृद्धि दर सवा दुई प्रतिशत हाराहारी मात्र छ।

प्रति व्यक्ति आय १ हजार ४५६ अमेरिकी डलर पुगेको छ। अघिल्लो वर्ष १ हजार ३९९ डलर थियो।