नेपाल लगानीका लागि आकर्षक गन्तव्य: अर्थमन्त्री पुन, सम्मेलन कोसे ढुंगा साबित हुनेमा विश्वास

बिजमाण्डू
२०८१ बैशाख १६ गते १०:४७ | Apr 28, 2024
नेपाल लगानीका लागि आकर्षक गन्तव्य: अर्थमन्त्री पुन, सम्मेलन कोसे ढुंगा साबित हुनेमा विश्वास

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको  आकर्षक गन्तव्य भएको बताएका छन्। लगानी बोर्डका उपाध्यक्षसमेत रहेका पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्‍घाटन सत्रमा नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताएका हुन्।

Tata
GBIME
Nepal Life

सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवर्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरुबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको बताए।

पुनले सम्मेलनमा लगानीकर्ता र सरोकारवालाबीच धेरै सम्झौता र समझदारी हुने विश्वास व्यक्त गर्दै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुनेमा आश्वस्त रहेको पनि बताए।

उद्योग र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहकार्यका लागि सम्मेलनले ‘नेटवर्किङ’ बढाउने भन्दै उनले भने, ‘नेपालका आर्थिक सूचकहरू स्थिर र सकारात्मक बन्दै गएको छ। नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषि आधारित उद्योगका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धी हासिल गरेको छ।’

उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानीमा जोड दिएको उनले बताए।

‘व्यवसायिक वातावरण सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौं,’ पुनले भने, ‘नीतिगत र व्यवसाय सुरु गर्दा लाग्ने प्रक्रियागत झण्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिएको छ । आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ।’

नेपालले औद्योगिक विकास, पूर्वाधार विकास, रोजगारी सिर्जना, निर्यात प्रवर्धनका साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरणका लागि उत्प्रेरकका रूपमा विदेशी लगानीलाई स्वागत गर्ने नीति अख्तियार गरेको उनले जानकारी दिएका थिए।

‘सरकार निजी क्षेत्रसँग निजी प्रत्यक्ष लगानीका साथै सार्वजनिक-निजी साझेदारीमार्फत सहकार्य गर्न प्रतिबद्ध छ,’ उनले भने।

नेपालको प्रचुर लगानीको सम्भावनालाई उजागर गर्न र दिगो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्मेलन कोसे ढुंगा साबित हुने उनको विश्वास छ।