हुन्डाईको एसेम्ब्लिङ प्लान्ट नवलपरासीमा, वार्षिक ४ हजार ‘मेड इन नेपाल’ गाडी उत्पादन

बिजमाण्डू
२०८१ बैशाख २८ गते ११:०५ | May 10, 2024
हुन्डाईको एसेम्ब्लिङ प्लान्ट नवलपरासीमा, वार्षिक ४ हजार ‘मेड इन नेपाल’ गाडी उत्पादन

काठमाडौं। कोरियाली कार निर्माता कम्पनी हुन्डाईको गाडी नेपालमै उत्पादन गर्न सुरु गरिएको छ। हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपले हुन्डाई एसेम्ब्लिङ प्लान्ट आजबाट संचालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

नवलपरासीमा रहेको उक्त प्लान्टको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्‍घाटन गरेका छन्। लक्ष्मी मोटर कर्पोरेसन पनि यही समूहअन्तर्गतकै कम्पनी हो। कर्पोरेसनले नवलपरासीमा प्लान्ट स्थापना गरी हुन्डाई भेन्यू उत्पादन गरेर बिक्रीमा राखेको छ।

एक दशकअघि नै हुलास मोटर्सले नेपालमा मुस्ताङ म्याक्स गाडी उत्पादन गरेको थियो। तर, प्रदूषण मापदण्डका कारण उक्त प्लान्ट बन्द हुन पुगेको थियो।

त्यसयता दुईपांग्रेका आधा दर्जन एसेम्ब्लिङ प्लान्ट संचालनमा आएका छन्। तर, चारपांग्रेमा भने अहिले हुन्डाईले मात्रै एसेम्बल सुरु गरेको हो। यो गाडी ‘मेड इन नेपाल’ हुनेछ।

सवारी एसेम्बल गर्न चाहनेका लागि सरकारले विभिन्न प्रकारका कर सहुलियत दिँदै आएको छ। कारको एसेम्बलमा समेत सरकारले बजेटमार्फत नै सहुलियत दिएको छ। कार एसेम्बल गर्दा कम्प्लिटली नक्ड डाउ (सीकेडी) भन्सारमा २५ प्रतिशत, अन्तःशुल्कमा ५० प्रतिशत र आयकर लगायतमा समेत छुट सुविधा छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार नवलपरासीमा लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ।
तस्बिर : प्रदीपराज वन्त/रासस

सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुट सुविधा दिएपछि लक्ष्मी समूहले हुन्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी पार्ट्स आयात गरेर गाडी एसेम्बल गरेको हो।

केही समय अगाडि कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनलाई समेत भेटेर नेपालले दोहोरो कर अन्त्य गर्न र लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका थिए।

कम्पनीले नेपालमै गाडी उत्पादनको काम थालेर वार्षिक हजारौं गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ। तर, त्यसका लागि केही कानुनी र प्रक्रियागत जटिलता देखिएको भन्दै त्यसको समाधान गरिदिन राजदुत थेयङले पुनसँग आग्रह गरेका थिए।

यस्तो छ एसेम्ब्लिङ प्लान्ट

नवलपरासी रामग्राम नगरपालिका-६ मा १० विगाहा जग्गाभित्र एसेम्ब्लिङ प्लान्ट तयार भएको हो। गाडी एसेम्बल गर्न आवश्यक सबै उपकरण जडान गरिएको छ।

समूह अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाका अनुसार प्लान्टका लागि आवश्यक डेढ अर्ब रुपैयाँ भन्दा बढीका उपकरण जडान गरिसकिएको छ। कम्पनीले ४ वर्ष अगाडि नै प्लान्ट निर्माणका लागि ५ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको थियो।

एसेम्ब्लिङ प्लान्ट संचालनमा ल्याएपछि लगभग २०० जनाले रोजगारी पाउने थपलियाले बताए। प्लान्टबाट वार्षिक ८ हजार सवारीसाधन एसेम्बल गर्ने योजना छ। तर अहिले साढे ४ हजार युनिट उत्पादन हुन्छ।

प्लान्टमा उपकरणदेखि अन्य प्रविधि जडानको विषयमा कोरियाली प्राविधिकहरुले निगरानी गरेका थिए।

‘सामान ढुवानी र प्याकेजिङको बारेमा पनि उनीहरुले चेक गरेका थिए। सामान क्षति भए/नभएको हेरेका थिए,’ उनले भने, ‘यसरी सामान ल्याउँदा कुनै पनि पार्ट्सहरु ड्यामेज भएको पाइएन। गाडी एसेम्ब्ल गर्दा कोरियाली प्राविधिक नै आएर सबै प्रोटोकलमा काम गरेका छन्।’