लगानी सम्मेलन : स्वदेश तथा विदेशबाट एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

बिजमाण्डू
२०८१ बैशाख १५ गते १५:५१ | Apr 27, 2024
लगानी सम्मेलन : स्वदेश तथा विदेशबाट एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं। आइतबारदेखि सुरु हुन लागेको २ दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर १ हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ।

Tata
GBIME
Nepal Life

लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि २ हजार ४ सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो। विभिन्‍न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन्। सम्मेलनमा नेपालका ३ सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ।

त्यसैगरी, चीनका २ सय ६५, भारतका १ सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन्। दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९-९ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ। पाकिस्तानबाट ८, सिङ्गापुरबाट ६, कतार र घानाबाट ५/५, साउदी अरब, फ्रान्स र बहराइनबाट ४/४ जनाको सहभागिता रहने जनाइएको छ।

त्यसैगरी, स्विजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका ३/३ जना सम्मलेनका लागि नेपाल आउँदैछन्। फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट २/२ जना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ।

त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहने छ। आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको बोर्डले जनाएको छ।

आइतबारदेखि काठमाडौंमा आयोजना हुने उक्त सम्मेलनका लागि १ सय ५० आयोजना सोकेसमा राखिँदैछन् भने सम्मेलनस्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिनेछन्। सम्मेलनका क्रममा विभिन्‍न १९ परियोजनाका लागि आशयपत्र आह्‍वान गर्न लागिएको छ।

आशयपत्र आह्‍वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कुल १ सय ५० परियोजना प्रस्तुत हुनेछन्। पहिलो दिन उद्घाटन सत्र र २ वटा मुख्य सत्र रहेका छन्। त्यस्तै, दोस्रो दिन ११ समानान्तर सत्र संचालन हुनेछन्। रासस