निर्यात र आन्तरिक उपभोग प्रभावित बन्दा भटमास तेलको कच्चा पदार्थ आयात ५८%ले घट्यो

अनन्तराज न्यौपाने
२०८१ बैशाख १ गते ०६:३६ | Apr 13, 2024
निर्यात र आन्तरिक उपभोग प्रभावित बन्दा भटमास तेलको कच्चा पदार्थ आयात ५८%ले घट्यो

विराटनगर। भारतमा निर्यात र स्वदेशमा उपभोग बढ्न नसक्दा भटमास र पामतेलको कच्चा पदार्थको आयातमा ठूलो ह्रास आएको छ। तर सूर्यमुखीको कच्चा तेलको आयातमा भने वृद्धि भएको छ।

Tata
GBIME
Nepal Life

भन्सार विभागको तथ्यांकले गत वर्षका तुलनामा चालु आर्थिक वर्षमा पामोलिन र भटमासको कच्चा तेलको आयात घटेको देखिएको हो। सूर्यमुखीको तेलको निर्यात थोरै र स्वदेशी खपत धेरै भएकाले आयातमा ह्रास नदेखिएको हो।

तथ्यांकअनुसार गत आर्थिक वर्षको फागुन मसान्तका तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भटमासको कच्चा तेलको आयात ५८.८२ प्रतिशतले घटेको छ। गत आवको फागुनसम्ममा २७ अर्ब ६७ करोड ६४ लाखको १ लाख ३० हजार ३१२ किलोलिटर भटमासको तेलको आयात गरिएकोमा चालु आवको सोही अवधिमा ९ अर्ब २८ करोड ३१ मूल्यको ५३ हजार ६५३ किलोलिटर मात्र आयात भएको छ।

चालु आर्थिक वर्षमा गत आर्थिक वर्षका तुलनामा भटमासको कच्चा तेलमा आयातको परिमाण सँगसँगै मूल्यमा पनि ह्रास आएको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्यांकले भटमासको कच्चा तेल प्रति लिटर १५५ रुपैयाँ ६१ पैसामा आएको देखिन्छ। जबकि गत आर्थिक वर्षको सोही अवधिमा प्रति लिटर २१२ रुपैयाँ ३८ पैसामा आएको पाइन्छ।

यसरी भटमासको कच्चा तेल गत आवका तुलनामा चालु आर्थिक वर्षमा प्रति लिटर ५६ रुपैयाँ ७७ पैसा सस्तोमा आयात भएको छ। भटमासको तेलपछि पामतेलको आयात र मूल्य दुबैमा ह्रास देखिन्छ। गत आर्थिक वर्षका तुलनामा चालु आवमा पामतेलको आयात ४५.८३ प्रतिशतले घटेको छ।

जसअनुसार चालु आवको फागुनसम्ममा ९ अर्ब २८ करोड ३१ लाखको ५३ हजार ६५३ किलोलिटर कच्चा पाम तेल आयात गरिएको छ। जबकि गत आवको सोही अवधिमा २० अर्ब ११ करोड ३१ लाख मूल्यको १ लाख २९ हजार १२० किलोलिटर आयात गरिएको थियो।

गत आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा कच्चा पामतेलको मूल्यमा पनि गिरावट आएको छ। चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा प्रति लिटर १२६ रुपैयाँ ५ पैसाका दरले कच्चा पामतेलको आयात भएको छ। जबकि गत आवको सोही अवधिमा १५५ रुपैयाँ ७७ पैसाका दरले आयात गरिएको थियो।

गत आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा सूर्यमुखीको कच्चा तेलको आयात परिमाणका हिसाबमा ३८.३३ प्रतिशतले वृद्धि भएको छ। तथ्यांकअनुसार गत आर्थिक वर्षको फागुन सम्ममा १० अर्ब ९८ करोड ३५ लाख मूल्यको ५४ हजार ६२९ किलोलिटर सूर्यमुखीको कच्चा तेल आउँदा चालु आवको सोही अवधिमा ११ अर्ब ९१ करोड ३३ लाख मूल्यको ८८ हजार ५९५ किलोलिटर आयात गरिएको छ।

अन्तर्राष्ट्रिय मन्दीसँगै सूर्यमुखीको मूल्यमा पनि ह्रास आएको छ। तथ्यांकअनुसार गत आर्थिक वर्षको फागुन सम्ममा सूर्यमुखीको कच्चा तेल लिटरको २०१ रुपैयाँ ५ पैसाका दरमा आउँदा चालु आवको सोही अवधिमा १३४ रुपैयाँ ४६ पैसाले आएको छ। मोरङ उद्योग–व्यापार संघका कार्यकारी सदस्य एवम् पशुपति खाद्यतेल उद्योगका सञ्चालक अमित शारडाले दुई वर्षयता भारततर्फ निर्यात हुन नसक्ता खाद्यतेलको कारोबारमा ह्रास आएको बताए।

उद्यमी शारडाका अनुसार रुस-युक्रेन युद्धका कारण २ वर्षपहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएर टनको २ हजारदेखि २२ सय डलर पुगेको थियो । अहिले १ हजार ३० देखि १ हजार ५० सम्म छ। मन्दीका कारण अहिले अन्तर्राष्ट्रिय बजारमा खाद्यतेलको मूल्यमा ठूलो ह्रास आएको हो ।

पाम तेलको मूल्य किन धेरै घटेन ?

अन्तर्राष्ट्रिय बजारमा सूर्यमुखी, भटमास र पाम गरी तीन प्रकारकै मुख्य खाद्यतेलको मूल्यमा ह्रास आउँदा तुलनात्मक रूपमा पाम तेलको मूल्यमा भने थोरै ह्रास देखिएको छ।

पाम तेलका मुख्य निर्यातकर्ता इन्डोनेसिया र मलेसियामा पाम नट (खजुरदाना)को उत्पादन यस वर्ष कम भएको छ। त्यसैले भटमास र सूर्यमुखीका तुलनामा पामतेलको मूल्य धेरैले नघटेको व्यवसायीको भनाइ छ। दुवै देशले कच्चा पामोलिनको निर्यातमा कोटासमेत तोकेका कारण अन्य देशका आयातकर्ताले चाहेजति मगाउन सकेका छैनन्।

भन्सार विभागले उपलब्ध गराएको तथ्यांकको विश्लेषण गर्दा चालु आर्थिक वर्षको फागुन सम्ममा भटमासको कच्चा तेलभन्दा कच्चा पामतेल प्रति लिटर २९ रुपैयाँ ५६ पैसा कममा आयात भएको छ। साथै सोही अवधिमा सूर्यमुखीको कच्चा तेलभन्दा कच्चा पामतेल लिटरको ८ रुपैयाँ ४१ पैसा कममा आयात भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा भने भटमासको कच्चा तेलभन्दा कच्चा पामतेल प्रति लिटर ५६ रुपैयाँ ६१ पैसा सस्तोमा आयात गरिएको थियो। त्यस्तै सोही अवधिमा सूर्यमुखीको कच्चा तेलभन्दा कच्चा पाम तेल ४८ रुपैयाँ २८ पैसा सस्तोमा आयात भएको देखिन्छ।