नबिल बैंकको वीरगंज शाखाबाट १ करोड बढी चोरी, ‘१०० का नोट बोरामा हालेर लगे’

बिजमाण्डू
२०८१ बैशाख १८ गते १७:०३ | Apr 30, 2024
नबिल बैंकको वीरगंज शाखाबाट १ करोड बढी चोरी, ‘१०० का नोट बोरामा हालेर लगे’
फाइल फोटो

काठमाडौं । वीरगंजको बाइसपास रोडमा रहेको नबिल बैंकको शाखामा चोरी भएको छ। सोमबार बिहान करिब ४ बजेतिर ५\६ जनाको समूहमा आएका अपरिचित व्यक्तिले १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गरेका हुन्।

Tata
GBIME
Nepal Life

चोरी भएको समयमा सेक्युरिटी गार्ड त्यहाँ थिएनन्। मंगलबार बिहान साढे ८ बजे मात्र चोरीको घटना बाहिर आएको थियो।

‘उनीहरुले चोरी गरेपछि गेटमा ताल्चा पनि अर्कै लगाएको देखियो। सेक्युरिटी गार्डले पछि हेर्दा चोरी भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी विक्रम थापाले भने।

चोरी गर्ने समुहले बैंकको टिनको बाकसमा भएको रकम मात्र चोरी गरेका छन्। सो बाकसमा २०, ५० र १०० का नोटहरु राखिएको थियो।

बैंकको भोल्टमा भने ५०० र १००० का नोट राखिएका थिए। ग्यास कटर ल्याएर उनीहरूले टिनको बक्साबाट रकम झिकेको खुलेको छ।

सबैभन्दा धेरै १०० रुपैयाँको नोट चोरी भएको छ। १०० रुपैयाँको सबै नोट गरि कूल १ करोड ३२ लाख रुपैयाँ चोरी भएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै, ५० का १०० वटा नोट चोरी भएको छ भने २० रुपैयाँका १३ हजारवटा नोट चोरी भएको छ।

चोरी गरिएको नोट बोरामा राखेर लगिएको अनुसन्धानमा खुलेको छ।

‘ ४/ ५ वटा बोरामा राखेर लगेको देखिएको छ। हामी थप अनुसन्धान गरिरहेका छौं,’ डिएसपी थापाले भने।