माथिल्लो अरुण र दूधकोशी आयोजना चाँडो अघि बढाउन अर्थमन्त्री पुनले गरे आग्रह

बिजमाण्डू
२०८० चैत्र २९ गते १६:३८ | Apr 11, 2024
माथिल्लो अरुण र दूधकोशी आयोजना चाँडो अघि बढाउन अर्थमन्त्री पुनले गरे आग्रह
अर्थमन्त्री वर्षमान पुनले माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजना निर्माणलाई लिएर बिहिबार राखेको छलफल

काठमाडौं। सरकार, विश्व बैंक र एसियाली विकास बैंकबीच माथिल्लो अरुण र दूधकोशी जलविद्युत आयोजना निर्माणको काम चाँडै अगाडि बढाउने सहमति भएको छ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने निर्देशक फारिस हजाद जर्भोस र एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नाउड काउचियोसबीच बिहीबार भएको छलफलमा दुवै आयोजनाको वित्तीय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको हो।

अर्थ मन्त्रालयमा भएको छलफलमा राजस्व सचिव डा. रामप्रसाद घिमिरे, ऊर्जासचिव सुशीलचन्द्र तिवारी र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी थिए। जर्भोसले भने भर्चुअलरुपमा सहभागिता जनाएका थिए।

छलफलमा आयोजनाको वित्तीय व्यवस्थापन र आयोजना कार्यान्वयनको क्षमता अभिवृद्धिबारे विस्तृतमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ। छलफलमा दुवै आयोजनाको पूर्वतयारीका लागि सम्पन्न गरिएका कामबारे प्रस्तुति समेत गरिएको थियो।

अर्थमन्त्री पुनले माथिल्लो अरुण र दूधकोशी आयोजना निर्माणपछि नेपालको ऊर्जा क्षेत्रमा नयाँ अध्याय थपिने बताए। उनले आयोजना निर्माणको काममा ढिलाई गर्न नहुनेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै त्यसका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाए।

उनले भारतमा १० हजार मेगावाट विद्युत निर्यातसम्बन्धी सम्झौता भएको पृष्ठभूमिमा ऊर्जामा थप लगानी चाहिएको भन्दै लगानी वृद्धि गर्न विश्व बैंक र एसियाली विकास बैंकलाई आग्रह गरे।

वर्षमान पुन

संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट आगामी जुनभित्र वित्तीय व्यवस्थापन गर्ने भनिएको छ।

यो आयोजनाको सुपरिवेक्षणका लागि २ महिनाअघि नै परामर्शदाता छनोट गरिएको छ। जर्मनीको ट्राक्टेवल इन्जिनियरिङ, स्पेनको ट्राक्टेवल इन्जिनियरिङ र भारतको वापकोस लिमिटेडको संयुक्त उपक्रम इन एसोसिएसन विथ टोटल म्यानेजमेन्ट सर्भिसेस (टीएमएस) र नेपालको जेड कन्सल्टलाई छनोट गरिएको हो।

माथिल्लो अरुण आयोजनाको परामर्शदातासँग सम्झौता गरिंदै। फाइल तस्वीर

यस्तै खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा निर्माण हुने ६३५ मेगावाटको जलासययुक्त दूधकोशी जलविद्युत आयोजनाको एसियाली विकास बैंकको नेतृत्वमा वित्तीय व्यवस्थापन गर्ने भनिएको छ।

अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक/वित्तीय संस्थाबाट गरी ७० प्रतिशत ऋण तथा ३० प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने तयारी छ।

माथिल्लो अरुण आयोजनाको प्रवर्धक नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी माथिल्लो अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडले सन् २०२६ को सुरुबाट आयोजना निर्माण थालिने बताएको छ। आयोजना निर्माण गर्न पाँच वर्ष लाग्ने अनुमान छ।

माथिल्लो अरुणको पूर्वतयारीस्वरुप २ किलोमिटर सुरुङ मार्ग र २१ किलोमिटर पहुँच मार्ग निर्माणको काम अघि बढेको छ। जग्गा प्राप्ति र मुआब्जा वितरण करिब सकिएको छ।

माथिल्लो अरुण आयोजनास्थल

विद्युतको उच्च माग हुने हिउँदको ६ महिना दैनिक ६ घण्टा पूर्ण क्षमतामा सञ्चालन गरिने माथिल्लो अरुण नेपालकै गेमचेन्जर आयोजना हो। आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ।

दूधकोशी जलविद्युत आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ। आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इञ्जिनियरिङ डिजाइन, वातवारणीय प्रभाव अध्ययन मूल्याङ्कनलायत काम यसअघि नै सकिएका छन्। पहुँच मार्ग निर्माण र मुआब्जा वितरणको काम अन्तिम चरणमा छ।