एफएनसीसीआई बन्दसत्र : राष्ट्र बैंक र बैंकप्रति नरम, ब्याज तिर्न नसक्ने भन्दै हात उठाए

बिजमाण्डू
२०८० चैत्र २९ गते १५:०० | Apr 11, 2024
एफएनसीसीआई बन्दसत्र : राष्ट्र बैंक र बैंकप्रति नरम, ब्याज तिर्न नसक्ने भन्दै हात उठाए

काठमाडौं। मुलुकको अर्थतन्त्र शिथिल बन्दा बैंकको ब्याज र किस्ता पनि तिर्न नसक्ने अवस्थामा पुगेको उद्योगी व्यवसायीले बताएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल उद्योग वाणिज्य महासंघको बन्दसत्रमा धेरै उद्योगी व्यवसायीले ५० लाखदेखि एक करोड रुपैयाँसम्म ऋण लिनेहरु समस्यामा रहेको गुनासो गरे।

उनीहरुले ब्याज र किस्ता तिर्ने समय तीन महिना पछि सार्न महासंघले पहलकदमी लिन समेत माग गरेका छन्। ‘हामी साधारणसभा रहँदा पनि बैंकबाट तारन्तार फोन आइरहेको छ। पैसा तिर्न आउनुपर्‍यो भन्ने दबाब छ,’ बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भने, ‘देशभरका ५० लाख रुपैयाँदेखि एक करोडसम्म ऋण लिने व्यवसायीहरुले ब्याज पनि तिर्नसक्ने अवस्थामा छैनन्। धेरैले आफूले कमाएको सम्पत्ति सकिने अवस्था छ। यसलाई महासंघले गम्भीर रुपमा लिएर समाधानका लागि पहलकदमी गर्न आवश्यक छ।’

उनले उद्योगी व्यवसायीले ब्याज तिर्न समेत नसकेको अवस्थामा साँवा तिर्न नसक्ने स्पस्ट पार्दै राष्ट्र बैंकसँग बलियो लबिङ आवश्यक रहेको बताए। ‘अहिलेको जर्जर आर्थिक अवस्थालाई हेरेर भएपनि केही लचिलो नीति राष्ट्र बैंकबाट पनि आओस् भन्ने चाहना हाम्रो हो,’ उनले भने।

बिहीबार विहान ११ बजेदेखि सुरु भएको बन्दसत्रमा जिल्ला उद्योग वाणिज्य संघका अरु प्रतिनिधिले समेत उद्योग व्यापार मन्दीको मारमा परेको जिकिर गर्दै ब्याज र किस्ता तिर्ने समय तीन महिना पछि सार्न लबिङ हुनुपर्नेमा जोड दिएका थिए। ‘उद्योग व्यवसाय समाप्त हुँदा बैंकहरु पनि संकटमा पर्छन्। दुवैलाई जोगाउन पनि केही लचिलो नीति लिन आवश्यक छ,’ एक उद्योगीले भने।

विगतमा राष्ट्र बैंकका गभर्नर र बैंकप्रति आक्रामक हुने उद्योगी व्यवसायी महासंघको बन्दसत्रमा नरम भएर बोलेका थिए। उनीहरुले राष्ट्र बैंक र बैंकको कुनै पनि आलोचना गरेनन्। केही उद्योगीले विगतको नक्कली भ्याट बिलको समस्याले अहिलेसम्म सताइरहेको गुनासो गरेका थिए।

‘केही वर्ष अगाडिको नक्कली भ्याट बिलको समस्याले अहिलेसम्म हामीलाई पिरोलिरहेको छ। आन्तरिक राजस्व कार्यालयले हामीलाई दु:ख दिइरहेको छ,’ एक जिल्ला उद्योगीले भने, ‘कसले नक्कली बिल काट्यो तर त्यसको पीडा हामीले पाइरहेका छौं।’

आन्तरिक राजस्व विभागले नक्कली भ्याट बिलको दोस्रो चरणको अनुसन्धान अगाडि बढाएको छ। नक्कली बिल प्रयोग गरेर कर छली भएकोबारे विगतको अनुसन्धानका आधारमा १ हजार ९ सय ८६ करदाताको अनुसन्धान विभागले अघि बढाएको छ। विभागले झण्डै १० अर्बको ठगी भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएर छानबिन अघि बढाएको थियो।

विभागले यही अनुसन्धान अगाडि बढाएका विषयमा उद्योगीले गुनासो गरेका हुन्। यो बाहेक केही उद्योगीले नापतौल कार्यालयबाट भइरहेको ज्यादतीको समेत गुनासो गरेका थिए। साना तथा मझौला उद्योगीहरुलाई अनावश्यक रुपमा समस्या सिर्जना गर्ने काम भइरहेको उनीहरुले बताएका थिए। बन्दसत्र चलिरहेको छ। अहिलेसम्म महासंघको नेतृत्वको काम कारवाहीप्रति कुनै आलोचना भएको छैन।