एनएसी अध्यक्ष अधिकारीको स्पष्‍टीकरण अध्ययनमा क्यान, शुक्रबारसम्म कारबाही टुंगो लगाउने

बिजमाण्डू
२०८० चैत्र २८ गते १६:२२ | Apr 10, 2024
एनएसी अध्यक्ष अधिकारीको स्पष्‍टीकरण अध्ययनमा क्यान, शुक्रबारसम्म कारबाही टुंगो लगाउने

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बुझाएको स्पष्टीकरणको अध्ययनका लागि कर्मचारी नै खटाएको छ।

Tata
GBIME
Nepal Life

क्यानका महानिर्देशक प्रदिप अधिकारीले सम्बन्धित विभागका कर्मचारीलाई निगम अध्यक्ष अधिकारीले बुझाएको स्पष्टीकरण अध्ययन गर्न लगाएका छन्।

‘निगमका कार्यकारी अध्यक्षले पेस गरेको जवाफ महानिदर्शेकज्यूको निर्देशन अअनुसार सम्बन्धित विभागका साथीहरुले अध्ययन गरिरहनुभएको छ,’ क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘सम्बन्धित विभागबाट प्रतिवेदन आउन बाँकी छ। त्यसलगत्तै कारबाहीको निर्णय गर्ने तयारी छ।’

निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई हवाई सुरक्षामा निरन्तर खेलाँची गरेको भन्दै एकाउन्टेबल म्यानेजरबाट हटाउने अन्तिम तयारी अनुसार क्यानले दुई साता अगाडि स्पष्टीकरण सोधेको थियो।

क्यानले सोधेको २७ बुँदे प्रश्नमा अध्यक्ष अधिकारीले चैत २० गते फाइलको ढड्डा नै संलग्न गरी जवाफ पठाएका थिए। फाइलको ढड्डाका कारण महानिरदेशक अधिकारीले अध्ययनमा समबन्धित विभागका कर्मचारी खटाएका हुन्।

क्यानका महानिर्देशक अधिकारी एनएसीका अध्यक्ष अधिकारीबाट हवाई सुरक्षामा सुधार नहुने निष्कर्षमा पुगिसकेका छन्। त्यसैले उनी एनएसी अध्यक्ष अधिकारीलाई एकाउन्टेबल म्यानेजरबाट हटाउने तयारीमा छन्।

पटक पटक सचेत गराउँदा पनि हवाई सुरक्षामा सुधार नगरेको बरु उल्टै खेलाँची गर्दै आएकाले उनलाई पदमा राखिरहँदा नेपाललाई युरोपियन युनियनको सुरक्षा सूचीबाट बाहिर ल्याउन नसकिने महानिर्देशक अधिकारीको निष्कर्ष छ।

तैपनि स्पष्टीकरण अध्ययनको काम नसकिएकाले उनले कुनै निर्णय गरेका छैनन्। शुक्रबारसम्म कारबाही टुंगो लगाउने तयारी रहेको सूचना अधिकारी भूलले जानकारी दिए।