सिमेन्ट र इँटाको उत्पादन घट्दा बढ्यो कोइला आयातः व्यवसायीको जिकिर, ‘भारतीय कोइला बढी खपत’

अनन्तराज न्यौपाने
२०८० चैत्र १८ गते २२:१९ | Mar 31, 2024
सिमेन्ट र इँटाको उत्पादन घट्दा बढ्यो कोइला आयातः व्यवसायीको जिकिर, ‘भारतीय कोइला बढी खपत’

विराटनगर। सिमेन्ट र इँटा व्यवसायीले उत्पादन घटेको भनिरहेका बेला दुवै उत्पादनको मुख्य इन्धन कोइलाको आयातमा भने वृद्धि भएको पाइएको छ।

Tata
GBIME
Nepal Life

गत आर्थिक वर्षको फागुन मसान्तका तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कोइलाको आयातमा वृद्धि भएको भन्सार विभागले जनाएको छ।

विभागको तथ्यांक अनुसार गत वर्षको फागुन मसान्तको तुलनामा चालु वर्षमा दुई लाख ७३ हजार २९३ टनले बढी कोइला आयात भएको छ।

जसअनुसार चालु आर्थिक वर्षको ८ महिनामा १६ अर्ब ३६ करोड १६ लाख मूल्यको ९ लाख ६२ हजार ७९८ टन कोइलाको आयात गरिएको छ। गत वर्षको सोही अवधिमा १६ अर्ब ९४ करोड ३५ लाख मूल्यको ६ लाख ८९ हजार ५०५ टन आयात गरिएको थियो। यसरी चालु आर्थिक वर्षमा आयात बढेको देखिएको हो ।

पछिल्ला ४ वर्षमा सबैभन्दा बढी आयात आर्थिक वर्ष २०७७/०७८ मा भएको छ। यो वर्ष ८ महिनामा १७ अर्ब ८१ करोड ३३ लाख मूल्यको १३ लाख ६१ हजार ३८२ टन कोइलाको आयात भएको थियो।

आर्थिक वर्ष २०७८/०७९ को ८ महिनामा भने अघिल्लो आवका तुलनामा १ लाख ३ हजार ७३० टनले आयात घटेको थियो। जसअनुसार २०७८ फागुनसम्म १२ लाख ५७ हजार ६५२ टन आयात भएको देखिन्छ।

यसपछि २०७९/०८० को फागुन मसान्तमा आइपुग्दा अघिल्लो आवको सोही अवधिका तुलनामा ४५ प्रतिशतभन्दा बढीले आयात घटेको थियो।

उत्पादन आधा घटाउनुपरेको उद्योगीको भनाइलाई २०७८/०७९ र २०७९/०८० को कोइला आयातले पुष्टि गरेको छ। चालु आर्थिक वर्षमा यसको आयातमा बढे पनि २०७९/०८० को आयातलाई भेट्न सकेको छैन।

किन बढ्यो चालु आवमा

कोइलाको आयात वृद्धिबारे सिमेन्ट र इँटा दुवै क्षेत्रका उद्योगीले ठोस जवाफ दिन सकेका छैनन्।

मोरङको एसिसी इँटा उद्योगका सञ्चालक रमेश भगतले इँटाको उत्पादनमा ७० प्रतिशतले ह्रास आएको उल्लेख गर्दै सोही अनुसार इँटा उद्योगले खपत गर्ने कोइलाको परिमाण पनि घटेको दाबी गरे।

‘हामीले त इँटाको उत्पादन घटेसँगै कोइलाको खरिद पनि घटाएका छौँ’, उद्योगी भगतले भने, ‘बजारमा माग नै नभएपछि उत्पादन गरिरहनुको कुनै अर्थ भएन। गत आर्थिक वर्षदेखि नै यही अवस्था छ।’

भगतले यस वर्षदेखि सिमेन्टको निर्यातमा उल्लेखनीय वृद्धि भएको हुँदा ती उद्योगले कोइलाको खपत बढी गरेको जिकिर गरे।

भन्सार विभागको तथ्यांकमा पनि चालु आवको फागुनसम्म सिमेन्टको निर्यात अघिल्लो आर्थिक वर्षभन्दा बढी भएको भेटिन्छ।

जसअनुसार २०८० फागुनसम्ममा १९ लाख ४ हजार २२८ टन सिमेन्टको निर्यात भइसकेको छ। अघिल्लो आर्थिक वर्षको ८ महिनामा १ लाख ७७ हजार २०२ टनको मात्र निर्यात भएको थियो।

तर सिमेन्ट उद्योगी भने सिमेन्टको निर्यात भएर कोइलाको आयातमा वृद्धि भएको मान्न तयार छैनन्।

अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले भने, ‘जुन परिमाणमा निर्यात भएको छ, त्योभन्दा बढी परिमाणमा आन्तरिक बिक्री घटेको छ। त्यसमा पनि सबै उद्योगको मिलाएर १९ लाख टनको निर्यात खासै उल्लेखनीय परिमाणको कारोबार होइन।’

उद्यमी मुरारकाका अनुसार यस वर्ष सिमेन्ट उद्योगीले महँगो मूल्यका कारण दक्षिण अफ्रिकाको कोइला मगाएका छैनन्।

सबै उद्योगले भारतीय कोइलाकै प्रयोग गरिरहेका छन्। दक्षिण अफ्रिकाको कोइलाका तुलनामा भारतीय कोइला २० देखि २५ प्रतिशतले बढी प्रयोग गर्नुपर्छ किनकि दक्षिण अफ्रिकाको तुलनामा भारतीय कोइलाको क्यालोरी कमजोर हुन्छ।

मुरारकाले दक्षिण अफ्रिकाको कोइला १ सय टन लाग्ने ठाउँमा भारतीय कोइला १२५ टन लाग्ने बताए।

उनले भने, ‘दक्षिण अफ्रिकाको कोइलामा ६ हजारदेखि ६ हजार ५०० सम्म क्यालोरी हुन्छ तर भारतीय कोइलामा ५५ सयदेखि ५६ सय मात्र। त्यसैले उद्योगले दक्षिण अफ्रिकाको तुलनामा भारतीय कोइला बढी परिमाणमा खरिद गर्नुपर्छ। यही कारणले आयातमा वृद्धि देखिएको हुनुपर्छ, उत्पादनमा वृद्धि भएर होइन।’