अर्थमन्त्री पुनले विश्व बैंकका नेपाल निर्देशकसँग भने- महतले अघि बढाएका राम्रा काम रोक्दिन

बिजमाण्डू
२०८० चैत्र १६ गते १८:०५ | Mar 29, 2024
अर्थमन्त्री पुनले विश्व बैंकका नेपाल निर्देशकसँग भने- महतले अघि बढाएका राम्रा काम रोक्दिन
अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फेरिस हदाद जर्भोस

काठमाण्डौं। अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अघि बढाएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन्।

Tata
GBIME
Nepal Life

मन्त्री पुनले आफूलाई भेट्न शुक्रबार मन्त्रालयमा उपस्थित भएका विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका देशीय निर्देशक फेरिस हदाद जर्भोससँग मन्त्री फेरिंदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताए।

महतले संसद्‍मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताको स्वामित्व लिएर आफूले त्यो सन्देश दिइसकेको पुनले बताए।

‘मन्त्री फेरिंदैमा नीतिमा धेरै परिवर्तन हुँदैन। राज्यको नीतिमा स्थायित्व चाहिन्छ’, पुनलाई उद्यृत गर्दै उनको सचिवालयले भनेको छ, ‘कतिपय कोणबाट मलाई सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो तर, मैले हेरफेर गर्न उपयुक्त ठानिन।’

आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता संसद्‍मा महतले प्रस्तुत गरेपछि सत्ता समीकरण फेरिएको थियो। मन्त्री पुनले सिद्धान्त र प्राथमिकता संघीय संसद्का दुवै सदनले जस्ताको तस्तै पारित भएको बताए।

उनले आगामी वैशाख १६ र १७ गतेका लागि तय लगानी सम्मेलन र असारमा काठमाडौंमा हुने विश्व बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को बैठक तोकिएकै समयमा हुनेमा निश्चिन्त हुन आग्रह गरे।

मन्त्री पुनले पूर्वनिर्धारित तालिकाअनुसार नै ती कार्यक्रम हुने सन्देश विश्व बैंकको मुख्यालयमा पुर्‍याउन पनि जर्भोससँग आग्रह गरे।

उनले एमसीसी परियोजनाको काम पाँच वर्षभित्रै सक्ने प्रतिबद्धता जनाएका छन्। तर कार्यान्वयन चरण सुरु भएको ६ महिना वित्ता एमसीए नेपालले कुनै काम अघि बढाउन सकेको छैन।

पुनले नेपालको आन्तरिक स्रोतले मात्र विकासमा फड्को मार्न नसकिने भन्दै सहुलियतपूर्ण कर्जामा जोड दिने बताए। जर्भोसले नेपालको विकासमा सहयोगले निरन्तरता पाउने जवाफ दिए। उनले माथिल्लो अरुण अर्धजलासययुक्त जलविद्युत आयोजना र दूधकोशी जलासययुक्त आयोजनामा छिट्टै वित्तीय व्यवस्थापन टुंग्याउने गरी काम अघि बढाउनुपर्नेमा जोड दिए।