सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय साथ खोज्दै सञ्चार मन्त्री, ‘नेपालमा लगानीको वातावरण अनुकूल छ’

बिजमाण्डू
२०८० चैत्र १६ गते १४:५९ | Mar 29, 2024
सूचना प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय साथ खोज्दै सञ्चार मन्त्री, ‘नेपालमा लगानीको वातावरण अनुकूल छ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा सूचना प्रविधि क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन्।

Tata
GBIME
Nepal Life

नेपाल-इटाली चेम्बर अफ कमर्शको दशौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले नेपालमा सूचना प्रविधि उद्योगमा लगानी गर्न अनुकूल वातावरण रहेको बताएकी हुन्।

‘हामीले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रुपमा स्वीकार गर्दै यसमा लगानी खुला गरेका छौं,’ उनले भनिन्, ‘नागरिक र राज्यका डेटा सुरक्षालगायत राष्ट्रिय सार्वभौमिकतासँग जोडिएका क्षेत्रमा बाहेक सूचना प्रविधिका अन्य क्षेत्रमा वैदेशिक लगानीको वातावरण सिर्जना गर्न हामीले लगानीमैत्री नीति अघि बढाएका छौं।’

लगानीको वातावरण बनाउन सरकारले सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानीको सीमा हटाएको,  दर्ता र नवीकरणजस्ता आवश्यक प्रक्रिया अनलाइनबाटै गर्ने व्यवस्था गरिएको उनले बताइन्। अन्य देशको तुलनामा नेपालमा न्यून लागतमा आईटी कम्पनीहरू सञ्चालन गर्न सकिने र दक्ष जनशक्तिको उपलब्धता पनि पर्याप्त रहेको उनको भनाई थियो।

‘सरकारी तवरबाट संख्या एकिन गर्न बाँकी नै रहेको भए पनि अहिले झण्डै एक लाख जति आइटी जनशक्तिले देशभित्रै बसेर सिप र सेवा विभिन्न मुलुकमा निर्यात गररहेको अवस्था छ,’ उनले भनिन्, ‘लगानीमैत्री नीति र कानुन तथा  दक्ष जनशक्ति उपलब्धता आदिले आइटी उद्योगका लागि अनुकूल वातावरण भएकाले पनि म सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न विशेष आग्रह गर्न चाहन्छु।’

बैशाखमा हुने लगानी सम्मेलनको तयारीमा सरकार रहेको भन्दै उनले इटालीका लगानीकर्ताहरुलाई आकर्षित गर्ने कार्यक्रम बनाउन नेपाल-इटाली चेम्बर अफ कमर्शलाई आग्रहसमेत गरेकी छिन्। लगानी सम्मेलनलाई मध्यनजर गर्दै दर्जन बढी कानुनहरु तत्काल संशोधन गर्ने तयारी भइरहेको उनले बताइन्।