राजस्थानको लगातार दोस्रो जित, दिल्ली दोस्रो खेलमा पनि पराजित

बिजमाण्डू
२०८० चैत्र १६ गते ०७:५२ | Mar 29, 2024
राजस्थानको लगातार दोस्रो जित, दिल्ली दोस्रो खेलमा पनि पराजित
तस्बिर: आईपीएल

इण्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले लगातार दोस्रो जित हात पारेको छ। जयपुरस्थित स्वामी मानसिंह स्टेडियममा गए राति सम्पन्न खेलमा राजस्थानले दिल्ली क्यापिटल्सलाई १२ रनले हराएको हो।

Tata
GBIME
Nepal Life

टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो। राजस्थानका लागि रियान परागले आक्रामक इनिङ्स खेल्दै ४५ बलमा अविजित ८४ रन बनाउँदा रविचन्द्रन अश्विनले २९, ध्रुव जुरेलले २० तथा सिमरल हेटमायरले अविजित १४ रन बनाए।

बलिङतर्फ दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोर्किया, अक्षर पटेल र कुलदीप यादवले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्ली पनि ५ विकेट नै गुमाएर १७३ रनमा समेटियो। दिल्लीका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाउँदा त्रिस्टन स्टुब्सले अविजित ४४ रन बनाए। त्यस्तै कप्तान ऋषभ पन्तले २८, मिचेल मार्सले २३ तथा अक्षर पटेलले अविजित १५ रन बनाए।

दिल्लीलाई लक्ष्यमा पुग्न रोक्न राजस्थानका नान्द्रे बर्गर र युजवेन्द्र चहलले समान २ विकेट लिँदा आभेस खानले १ विकेट लिए।

जारी सिजन राजस्थानको यो लगातार दोस्रो जित हो। आफ्नो पहिलो खेलमा राजस्थानले लखनउ सुपर जायन्टलाई हराएको थियो। अर्कोतर्फ दिल्लीको भने यो लगातार दोस्रो हार हो। अघिल्लो खेलमा दिल्ली पञ्जाब किंग्ससँग पराजित भएको थियो।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोर भिड्दैछन्। खेल पौने ८ बजे एम चिन्नस्वामी स्टेडियम बेङ्ग्लुरुमा हुनेछ।