नीतिगत सुधारको प्रशंसा तर कार्यान्वयनमा प्रश्न, विदेशी लगानीकर्ताले खोजे स्थिरताको ग्यारेन्टी

सहयोग रञ्जित
२०८१ बैशाख १६ गते २०:५५ | Apr 28, 2024
नीतिगत सुधारको प्रशंसा तर कार्यान्वयनमा प्रश्न, विदेशी लगानीकर्ताले खोजे स्थिरताको ग्यारेन्टी

काठमाडौं । तेस्रो लगानी सम्मेलनमा नेपाली पक्षले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आह्वान गरे। राजनीतिक रूपमा जस्तो वातावरण भए पनि आर्थिक विकासका लागि आफूहरू एकै ठाउँमा उभिने आश्वासन दिए।

Tata
GBIME
Nepal Life

सोल्टी होटलमा सुरु भएको लगानी सम्मेलनको पहिलो दिन विभिन्न दातृ निकाय र छिमेकी देशका उद्यमीहरूले नेपालले लगानी भित्र्याउन गरेको कानुन संशोधन गरेर नीतिगत सुधारको प्रयास गरेकोमा प्रशंसा गरे। तर, सरकारले त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनीहरूको जोड थियो।

भारतीय चेम्बर अफ कमर्सका महानिर्देशक राजीव सिंहले भारत नेपालको ठूलो व्यापार साझेदार भएको भन्दै नेपालमा लगानी गर्न भारत प्रतिबद्ध रहेको बताए। पछिल्लो एक वर्षमा ऊर्जा, खाद्यान्न, आयुर्वेद लगायत करिब १४० वटा कम्पनीसँग नेपालमा साझेदारी गरिसकेको उनले बताए।

‘नीतिगत सुधारको प्रयासले हामीलाई उत्साहित बनाएको छ। सरकारले त्यसलाई लागू गर्न कमिटमेन्ट गर्छ भन्नेमा हामी आशावादी छौं,’ उनले भने।

सिंहले नेपालमा विदेशी लगानीकर्ताले भूमिको स्वामित्व नपाउने भन्दै त्यसतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए।

‘लगानीका लागि भूमि सबैभन्दा महत्त्वपूर्ण कुरा हो। नेपालमा विदेशी लगानीकर्ताले भूमि स्वामित्व पाउँदैनन्। अहिले यहाँका साझेदार कम्पनीहरूले समाधान खोजिरहेका छन्। तर यसबारेमा अझै राम्रो समाधान खोज्नुपर्छ,’ उनले भने।

सरकारले जग्गाको सिलिङ तोक्यो भने सजिलो हुने उनको मत थियो। सिलिङ अन ल्याण्ड कति लिनुपर्छ भनेर सरकारले सोचिरहेको होला।

प्रकाशशरण महतले राजनीति जस्तो भए पनि आर्थिक विकासका लागि सबै एकै ठाउँमा उभिने बताउँदा त्यसले विश्वमा राम्रो सन्देश जाने उनले बताए।  उनले सेवामूलक क्षेत्रमा नेपालमा लगानी आवश्यक रहेको औंलाए।

‘नेपालमा धेरै लगानी आउँदैछ। तर नेपालीहरूले गर्न सक्ने काम बाहिरबाट आर्उटसोर्स गर्न हुँदैन। जनशक्तिको विकास मा धेरै लगानी गर्न पर्छ।’

उनले लगानीका लागि नेपालमा स्थिरताको आवश्यकता रहेको र सरकारले त्यो पनि ग्यारेन्टी गर्नुपर्ने बताए।

सिंहले जस्तै बेलायतको एसिया–प्रशान्त मामिला राज्यमन्त्री आन्मुरी ट्रुभेलियनले पनि नेपालले स्थिरताको प्रत्याभूति दिनुपर्ने बताए।

नेपालमा विदेशी लगानीको थुप्रै अवसर रहेको भन्दै उनले भने, ‘दिगो स्थिरता। ट्रान्सपेरेन्ट एन्ड प्रेडिक्टेबल ट्याक्स सिस्टम सिस्टम चाहिन्छ।’

उनको जोड नेपालको प्रविधि क्षेत्रको विकासमा थियो। साथै, नवीकरणीय ऊर्जा र पूर्वाधार निर्माण पनि पनि एफडीआई भित्र्याउन सक्ने सम्भावना रहेको उनले बताए।

नेपालमा धेरै बेलायती कम्पनी स्थापित भइसकेको भन्दै उनले नेपाल बेलायतीहरूको घुम्ने ‘विसलिस्ट’ मा रहेको बताए। भने,  ‘इट इज प्लेस टु इभेष्ट। नेपाल व्यापार गर्न साँच्चै राम्रो गन्तव्य हो भनेर उनीहरूले प्रमाणित गरेका छन्,’ उनले भने।

उनले थप भने, ‘यहाँ बेलायतको लगानीका लागि धेरै अवसर छन्। शिक्षा र फिन्टेक प्रमुख दुई क्षेत्र हुन्।  यसमा हामी धेरै साझेदारी गर्न सक्छौं।’

आर्थिक विकासका लागि एफडीआई निकै महत्त्वपूर्ण रहेको उनको मत थियो। नेपालसँग जलविद्युत् र आइटी क्षेत्रमा धेरै अवसर रहेको भन्दै उनले यहाँ धेरै गर्न सकिने र त्यसका लागि प्रयास गर्नुपर्ने बताएर।

‘ऊर्जा, शिक्षा, स्वास्थ्य, विमानस्थल यी सबैमा लगानी गर्न सकिन्छ। २-३ मिलियन पाउण्डको प्रोजेक्टमा लगानी गर्न सकिन्छ,’ उनले भने।

यस्तै, विश्व बैंकका नेपाल निर्देशन फारिस हदाद जेर्भोसले नेपाल विकासको पथमा रहेकोले धेरै अवसर रहेको बताए।

उनले आन्तरिक र बाह्रय निजी क्षेत्रको लगानी आर्थिक विकासका प्रमुख आधार भएको भन्दै उनले लगानी भित्र्याउन सरकारले कानुन संशोधन गरेको सकारात्मक सन्देश जाने बताए।

‘नेपालमा निजी क्षेत्रले ८० प्रतिशत जीडपीमा योगदान गर्छ। त्यसैले निजी क्षेत्रको लगानी महत्त्वपूर्ण रहेको छ,’ उनले भने, ‘नेपालमा निजी क्षेत्रलाई महत्त्व दिएर सरकारले काम गरिरहेको छ। कानुनी सुधार गर्दैछन्। संशोधन गरेको निकै महत्त्वपूर्ण कुरा हो। लगानी भित्र्याउन यो चाहिने नै थियो।’

उनले पछिल्लो समय नेपालमा जलविद्युतमा धेरै विदेशी लगानी भित्रिएको भन्दै नेपालमा थप लगानी भित्रिएको हेर्न विश्व बैंकले चाहेको बताए।

‘नेपालले यो गर्न सक्छ। पर्यटन, कृषि र आइटी महत्त्वपूर्ण क्षेत्र हुन्। मह, औषधि, आयुर्वेद आदि छन्। तिनीहरूको ब्रान्डिङ गरेर फाइदा उठाउनुपर्छ,’ उनले भने। लिनुपर्छ।

नेपालमा प्रविधि क्षेत्रले ५०० मिलियन राजस्व उठाउने र ७ हजार रोजगारी दिने भन्दै आइटी क्षेत्रमा सम्भावना रहेको बताए।

उनले सम्भावना पूरा गर्न लगानी भित्र्याउन ‘पब्लिक प्राइभेट पार्नरसिप’मा सरकारले जोड दिनुपर्ने बताए। साथै, व्यापारका लागि राम्रो वातावरण, र चुनौतीहरूबारे खुला संवाद हुनुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रममा संयुक्त राष्ट्रका नेपाल प्रतिनिधि हान्ना सिंगर हमदीले ३ वटा ‘पी’ (पिपल, प्लानेट र पार्टनरसिप फर पिस एन्ड प्रसपोरिटी’मा नेपाले जोड दिनुपर्ने बताइन्।

नेपालमा ४१ प्रतिशत युवा जनशक्ति भएको भन्दै त्यसलाई अवसरको रूपमा नेपालले प्रयोग गर्नुपर्नेमा उनको जोड थियो। त्यसका लागि महिला, अल्पसंख्यकको क्षेत्रमा सँगै स्वास्थ्य, शिक्षा प्रविधि र डिजिटल ट्रान्सफरमेसनमा लगानी आवश्यक रहेको उनले बताइन्।

नेपाल प्राकृतिक स्रोतले भरिपूर्ण भएकोले वातावरणको संरक्षण गर्दै लगानी गर्नुपर्नेमा उनको जोड थियो। उनले नेपालको विकासमा ‘ग्रिन इकोनोमी’ को महत्त्वपूर्ण योगदान रहने बताइन्। निजी क्षेत्रसँगको सहकार्यमा सार्वजनिक क्षेत्रको विकासका लागि धेरै काम गर्ने ठाउँहरू रहेको उनले बताइन्।

लगानी सम्मेलनमा आइएफसीका नेपाल कन्ट्री म्यानेजर मार्टिन हल्टम्यानले सन् १९७५ देखि नै नेपालमा लगानी गरिरहेका बताए। कार्यक्रम भइरहेको सोल्टी होटल नेपालमा आफूहरूको पहिलो प्रोजेक्ट भएको स्मरण गर्दै उनले रियल इस्टेट क्षेत्र, हस्पिटालिटी, पूर्वाधार र ऊर्जा क्षेत्रमा नेपालमा काम गरिरहेको बताए।

‘नेपालमा एफडीआई ल्याउने राम्रो इतिहास छ। त्यसले रोजगारी पनि सिर्जना गरेको छ। महिला उद्यमी पनि बढेका छन्,’ उनले भने।

लगानीका लागि नेपालमा नीतिगत सुधार भएकोमा उनले खुसी व्यक्त गरे।

‘अहिलेको सरकारले निजी क्षेत्रलाई माथि ल्याउन धेरै काम गरेको छ। त्यसो निकै राम्रो हो,’ उनले भने, ‘यहाँ धेरै अवसर छ। पुरानो र नयाँ उद्योगको अवसर छ यहाँ। १ बिलियन डलर लगानी गर्ने हाम्रो योजना छ।’  

उनले नेपाल सरकारसँग निजी क्षेत्रलाई फाइदा पुग्ने गरी ‘रिफर्म एजेन्डा’मा काम गर्नुपर्ने सुझाव दिए।

‘स्थानीय लगानीकर्तालाई कसरी रोक्ने भन्ने अवस्थामा बाहिरबाट लगानी ल्याउन भरोसा विकास गर्नुपर्छ,’ उनले भने।

नेपालका निजी क्षेत्रलाई भने उनले नलजाउन आग्रह गरे। ‘हामी यहाँ काम गर्न आएका छौं आउनुस् छलफल गरौं। र नेपालको भविष्य बनाउन लागौं,’उनले भने।

कार्यक्रममा आइएमएफ नेपाल प्रमुख टिडलान किन्डाले आर्थिक विकासका लागि नेपालले ‘माइक्रो इकोनोमिक्स’मा जोड दिनुपर्ने बताए। लगानी भित्र्याउन सार्वजनिक मध्यम ऋणको अवस्थाबारे पनि सरकारले ध्यान दिनुपर्ने उनले बताए।

सरकारले गरेको नीतिगत संशोधन धेरै महत्त्वपूर्ण भएको उनको भनाइ थियो। ‘डोमेस्टिक रेभेन्यू मोबिलाइजेसन’ मा नेपाल सरकारले काम गर्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा चीनको सिचुवान प्रान्तका उपाध्यक्ष रेन सिवेङले मन्तव्य राखेका थिए। उनले नेपालमा लगानीको धेरै अवसर रहेको भन्दै चीन त्यसमा साथ दिन तयार रहेको बताए।

‘सिचुवानबाट धेरै लगानी भएको छ। सिचुवन इन्भेस्टमेन्ट ग्रुप कम्पनी १.२ बिलियन युएसडी मर्स्याङदी जलविद्युत आयोजनामा लगानी गर्न तयार छ,’ उने भने।

चीन र नेपाल हिमाल र नदीले जोडिएको भन्दै दुई राष्ट्र बलियो साझेदार रहेको उनको मत थियो। ऊर्जासँगै पूर्वाधार र अन्य क्षेत्रमा सहकार्यका लागि तयार रहेको उनले बताए।