लगानी सम्मेलनमा दलको प्रतिबद्धता, भने- विचारधारा फरक भए पनि एकताबद्ध भएर काम गर्छौं

बिजमाण्डू
२०८१ बैशाख १६ गते १६:२४ | Apr 28, 2024
लगानी सम्मेलनमा दलको प्रतिबद्धता, भने- विचारधारा फरक भए पनि एकताबद्ध भएर काम गर्छौं

काठमाडौं। पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत र डा. युवराज खतिवडाले लगानीका लागि नेपाल राम्रो गन्त्व्य भएको बताएका छन्। उनीहरुको भनाइमा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले र पूर्वअर्थसचिव रामेश्वर खनालले पनि साथ दिएका छन्।

Tata
GBIME
Nepal Life

लगानी सम्मेलनको पहिलो दिन आइतबार उनीहरु सबैले सरकारी नीतिमा स्थिरता रहेको, भारत र चीनजस्ता ठूला देश छिमेकी भएकाले बजारको समस्या नरहेको, उद्योग संचालनमा श्रमिकको समस्या नरहेको, मुनाफा आर्जन गरेर लान पाउने कानुनी व्यवस्था रहेको लगायत कारण देर्खाउँदै विदेशीहरुलाई नेपालमा ठूलो मात्रामा लगानी ल्याउन आग्रह समेत गरे।

पूर्वअर्थमन्त्री डा. महतले पार्टीहरुबीच राजनीतिक विचारधारा फरक भए पनि सम्बन्ध राम्रो रहेको भन्दै लगानीकर्ताले अन्योलमा रहनुपर्ने अवस्था नरहेको बताए।

‘विचारधारा फरक भए पनि हामी एकतावद्ध भएर काम गर्छौं। सरकारमा भए पनि नभए पनि हाम्रो एउटै धारणा हुन्छ। नीति र कानुनमा स्थिरता छ,’ उनले भने, ‘लगानीमैत्री वातावरणका लागि कानुनमा सुधार गरिएको छ। लगानीका लागि यहाँ धेरै अवसर छन्। त्यसैले अवसर सदुपयोग गर्न आग्रह गर्छौं।’

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत

उनले लगानीका क्षेत्र समेत औंल्याए। जलविद्युतलाई महतले लगानीको मुख्य क्षेत्र भनेका छन्। ‘बजारको समस्या छैन। भारतले १० हजार मेगावाट लिने गरी दीर्घकालीन सम्झौता गरेको छ भने बंगलादेश पनि नेपालबाट विद्युत लान इच्छुक छ,’ उनले भने।

भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत लाने गरी गत पुस १९ गते दीर्घकालीन विद्युत व्यापार सम्झौता गरेको थियो। यस्तै बंगलादेशले पनि नेपालबाट विद्युत लान चाहेको छ।

महतले पर्यटन, कृषि र सूचना प्रविधि पनि लगानीकर्ताका लागि राम्रो क्षेत्र भएको बताए। ‘फरक फरक तापक्रमको भूगोल छ। सांस्कृतिक पक्षमा पनि उस्तै विविधता छ,’ उनले पर्यटनमा लगानी गरेर मुनाफा कमाउन सकिने भन्दै कृषिमा नेपाल अर्गानिक उत्पादनको हब हुन सक्ने बताए।

वक्ताको कुरा सुन्दै लगानीकर्ता

‘नेपाल अर्गानिक उत्पादनका लागि हब हो। कृषिमा लगानी गर्न चाहनेका लागि नेपालमा स्वागत छ। यो उत्कृष्ट गन्तव्य हो,’ उनले भने, ‘सूचना प्रविधि पनि लगानीको क्षेत्र हो। कोभिडपछिको निर्यातले यसको पुष्टि गरेको छ।’

सूचना प्रविधि क्षेत्रले गत वर्ष ६७ अर्बको सेवा निर्यात गरेको तथ्यांक छ। ‘हामीकहाँ सबैभन्दा तिब्ररुपमा विकास भएको क्षेत्र सूचना प्रविधि हो। यो क्षेत्रलाई प्रोत्साहन गर्न ५० प्रतिशत कर छुट गरिएको छ,’ उनले भने।

महतले धेरैजसो उत्पादनका लागि नेपाल नै बजार भएकाले लगानीकर्ताले अलमल गर्नुनपर्ने भन्दै नेपालमा व्यक्तिगत रुपमा सानो लगानीभन्दा पनि व्यावसायिक रुपमा ठूलो लगानीको खाँचो रहेको औंल्याए।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा. खतिवडाले रुल अफ ल र स्वतन्त्र न्यायपालिका भएको प्रजातान्त्रिक मुलुक हुनुले नै लगानीको गन्तव्य भएको प्रष्ट हुने बताए।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा

‘राजनीतिक व्यवस्थाले लगानीकर्कतालाई वातावरण दिन्छ। कानुनी सुधार पनि सरकारको प्राथमिकतामा छ। लगानीकर्ताको सुझाव अनुसार सुधार हुन्छ,’ उनले भने, ‘औद्योगिक सम्बन्धमा धेरै सुधार आएको छ। अहिले कुनै डिस्प्युट छैन। वैज्ञानिक कर प्रणाली छ। कुनै समस्या भए समाधान गर्ने संयन्त्र छ।’

उनले सडक, विमानस्थल र सूचना प्रविधिको सञ्जाल पाँच वर्षअघिको तुलनामा निकै विकास भएको भन्दै लगानीकर्ताले नेपालमा व्यवसाय गर्न हिच्किचाउनुपर्ने कुनै कारण नरहेको बताए।

अर्थशास्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भारत र चीन छिमेकी हुनु लगानीकर्ताका लागि राम्रो अवसर भएको बताए।

सम्मेलनमा बोल्दै डा. स्वर्णिम वाग्ले

‘लगानीकर्ताका लागि यहाँ थ्रि डी छ। डेमोग्राफीको ठूलो लाभ हुन्छ। भारत र चीनसँगको दूरी पनि लगानीकर्ताका लागि अवसर हो। डि कार्बनाइजेसनका दृष्टिले पनि लगानीका लागि नेपाल राम्रो गन्तव्य हो,’ उनले भने।

वाग्लेले नेपाललाई पायोनियर खालका लगानीकर्ता चाहिएको बताए।

कार्यक्रममा पूर्वअर्थसचिव खनालले राजनीतिक स्थिरता नभएपनि आर्थिक मुद्दामा प्रमुख राजनीतिक दलको एउटै आवाज रहेको बताए।

पूर्वअर्थ सचिव रामेश्वर खनाल

‘आर्थिक गतिविधिमा निजी क्षेत्रलाई संलग्न बनाउने र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने मामिलामा दलहरु सहमत छन्। भारत र चीनजस्ता विशाल बजार भएका छिमेकी छन्,’ उनले नेपाल लगानीका लाग राम्रो गन्तव्य किन हो भन्ने कारण प्रष्ट पार्दै भने, ‘उद्योग व्यवसायमा ७ वर्षदेखि श्रमिक हड्तालको कुनै समस्या छैन। दक्ष श्रमिकको उपलब्धता छ। प्राकृतिक स्रोतको विविधता छ। अवसरहरु परीक्षण गर्नुहोस्।’